काठमाडौं– भारतीय राजदूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७१औँ गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।
नेपालस्थित भारतीय दूतावासमा भएको एक कार्यक्रमकाबीच दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बससमेत सहयोग गरेको छ । दूतावासले वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ ।
दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।
कार्यवाहक राजदूत डा. अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए । उनले सातवटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थालाई पुस्तकसमेत प्रदान गरे ।
भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता समेत गरेको छ । इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनलगायत विभिन्न राजनीतिक दलका नेता सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।