कमनरकाे कथा
रक्सी ‘धोकेर’ पिट्ने श्रीमानलाई छोडेर छोराछोरी पाल्न मकै बेच्छिन् अमला

‘नानी, दुई वटा मकै किनिदेउ न, खाइदेउ न,’ भक्तपुरको मगरगाउँ चोकमा ठेलामा मकै बेचिरहेकी एक महिलाले यस्तो आग्रह गर्दा झट्ट रिस उठ्यो । अनि आफैं प्रश्न जन्मियो पनि, ‘एउटा किने भइहाल्छ नि, किन दुई वटा किन्नु ?’

‘भोलि विहानसम्मका लागि तरकारी किन्ने पैसा पुग्थ्यो भनेर,’ यति भनेर ती महिला रुन थालिन् । उनको आँसुले मलाई पनि नरमाइलो महसुस गरायो । 

अनि सुरु भयो, हाम्रो कुराकानी । 

कुराकानीको सुरुमा उनीसँग मैले सोधिनँ, उनको नाम । 

बरु उनैले भनिन्, ‘यहाँ मकै बेच्न थालेको तीन वर्ष भयो । छन त मेरो पनि सिन्धुपाल्चोकमा सम्पत्ति छ, तर त्यसलाई आफैंले उपयोग गर्न पाएको छैन ।’

अनि उनले भनिन्, ‘मेरो नाम हो, अमला गिरी ।’



 

000



अमलाले त्यसपछि सुनाउन थालिन्, आफ्नो विगत र आफ्नो काम । उनी सिन्धुपाल्चोकमा ठूलो सिरुबारीमा जन्मिएकी रहिछिन् । 

१८ वर्षसम्म घरमा नै रमाइलो गरेर हुर्किएकी अमलाको जीवनमा जब विवाह भयो, तब ठूलो परिवर्तन आयो । 

‘कुनचोकमा विवाह भयो,’ आँखामा आँसु भर्दै उनले भनिन्, ‘त्यसपछि मेरो पूरै जीवन परिवर्तन भयो । यस्तो होला भन्ने त कहिल्यै सोचेकी थिइनँ ।’

यसको जड थियो, उनका श्रीमान् । अनि उनको रक्सी पिउने बानी । ‘उहाँ अत्यधिक रक्सी पिउनुहुन्थ्यो,’ अमलाले भनिन्, ‘अनि घरमा आएर मलाई कुट्नु हुन्थ्यो ।’

यसको कारण अशिक्षा थियो भन्ने लाग्छ, अमलालाई । ‘मैले पढ्न पाएकी थिइनँ,’ ठेलामा पोल्दै गरेको मकैलाई पल्टाउँदै अमलाले भनिन्, ‘घरमा तीन वटा भैंसी थिए, एक हल गोरु थियो । दिनको १० भारी घाँस काट्न पथ्र्यो ।’

अनि थकाइले लखतरान परेकी अमलालाई साँझमा श्रीमानले हातपात गर्थे ।

त्यति बेला अमलाका सन्तान भइसकेका थिए । त्यसैले त उनी तत्काल घर छोडेर कतै जान सक्दिनथिन् । तोते बोलीमा अमलाले भनिन्, ‘एउटा पुरुषलाई मीठो बोली र चिटिक्क परेको महिला चाहिन्छ, मेरो त्यस्तो भएन, त्यसैले पनि मलाई घर छोड् भनेर श्रीमान्ले भनिरहन्थे ।’

केही वर्षमा नै अमलाको पेटमा तेस्रो सन्तान थियो । उनलाई घरमा श्रीमानले मात्र होइन, सासूससुराले पनि बेवास्ता गर्न थालेका थिए । अनि त्यस्तो अवस्थामा उनी अर्को बच्चा जन्माउन मन परिरहेको थिएन । उनले गर्भपतन गर्ने सोचिन् । औषधि पनि खाइन् । तर, उनले सोचेजस्तो भएन । 

‘मेरो त्यो कान्छो छोरा देख्दा अहिले पनि भक्कानिएर रुन मन लाग्छ,’ अमलाले भनिन्, ‘उसलाई त मैले जन्म नदिँदै मार्न खोजेको थिएँ ।’

त्यसपछि रुन थालिन् अमला । सुँक्कसुँक्क आवाज आउँदै गर्दा नै अमलाले भनिन्, ‘अहिले मेरो साहरा बनेको छ त्यो छोरो, त्यति बेला ऊ नजन्मिँदै मार्न खोजेकी थिएँ मैले ।’

यो छोरालाई घरमा जन्म दिइन्, अमलाले । तर, सुत्केरी भएकै रात उनका श्रीमानले उनलाई ‘भकुरे’ । उनले माइतीमा दुखेसो पोखिन् । तर, माइतीबाट पनि कर्मघर हो, गरेर खाउ भन्ने जवाफ पाइन् । 

यति भइसकेपछि ६ दिनको छोरो च्यापेर काठमाडौं पसिन् अमला । 

काठमाडौंमा के गर्ने भन्ने अमलालाई थाहा थिएन, तर उनी छोरासँगै दुई छोराछोरीलाई च्यापेर काठमाडौं पसिन् ।

 

000

त्यति बेला अमलाका एक आफन्त कालिमाटीमा बस्थे । उनी त्यहाँ नै पुगिन् । १० वर्षको जेठो छोरो, ९ वर्षकी छोरी र ६ दिनको छोरो बोकेर शरण माग्न पुगेकी थिइन्, अमला । 

अनि विस्तारै उनका सन्तानको व्यवस्थापन हुन थाल्यो । ९ वर्षकी छोरीलाई उनकै आफन्तले सिनामंगलमा रहेको एउटा घरमा काम लगाइदिए । जेठो छोरो ठमेलको एउटा होटलमा काम गर्ने भयो । अनि अमलाले पनि आफ्नो लागि काम खोज्न थालिन् । उनले पनि काम पाइन्, मगरगाउँमा एउटा गाई फार्ममा । अमलाले त्यहाँ काम गरेवापत् पैसा पाइनन्, बस्ने र खाने व्यवस्था चाहिँ कामले नै मिलाइदियो । 

‘त्यति बेला मलाई पैसा चाहिएको पनि थिएन, आफूलाई खान र बस्न पाए पुग्थ्यो,’ अमला फेरि रुन थालिन् । 

ती दिन अमला विहान ४ बजे उठेर गाई फार्ममा पुग्थिन्, गोवर फालिथ्न्, दूध दुहुने काम गर्थिन्, गाईलाई घाँस र दाना खुवाउँथिन् । ‘त्यति बेला सुत्केरी थिएँ, पोषण चाहिएको थियो तर पाएको थिइनँ,’ अमलाले भनिन्, ‘त्यही भएर होला अहिले शरीर निकै दुख्छ ।’

केही वर्ष यसरी नै बिताइन् अमलाले । छोरो हुर्कँदै गयो, मगरगाउँकै एउटा स्कुलमा भर्ना गरिदिइन् उनले । 

त्यसपछि पैसा व्यवस्थापन गर्ने चाप बढ्न थाल्यो, अमलालाई । आफूसँग राखेको छोरालाई पढ्नबाट वन्चित नगराउन उनले इँटा बोक्ने, बालुवा चाल्ने काम पनि गर्न थालिन् ।

तर, यो सबले उनलाई जीवन धान्न अब धौ धौ पर्न थालेको थियो । अर्कोतिर, उनले छोडेका छोराछोरीसँग खासै भेट हुन नै छाड्यो । 

२०७२ साल वैशाख । विनाशकारी भूकम्पले हजारौँ नेपालीको सपनालाई विचलित बनायो । अमलालाई पनि यसले झन् विक्षिप्त बनायो । आफूले काम गर्न छाडेका छोराछोरीको खोजीमा लाग्न थालिन् उनी । 

‘७ वर्षपछि मैले छोराछोरी भेटेँ,’ अमला फेरि सुँक्क सुँक्क गर्न थालिन्, ‘छोरीलाई निकै यातना दिएका रहेछन्, मसँग भेटेपछि रुन थालेकी छोरी रोएको रोए गर्न थाली ।’

भूकम्पमा छोराछोरीको ज्यान सुरक्षित रहेको कन्फर्म गरेर फर्किएकी अमलालाई अब निद्रा आउन छाड्यो । ‘आफ्ना सन्तानको त्यो हालत देख्दा म कसरी सुत्न सक्थेँ,’ अमलाले प्रश्न गरिन् । 

तर, कुनै उत्तरको अपेक्षा गरिएको प्रश्न थिएन यो, अनि उनी नै अगाडि बढिन् । 

त्यसको केही दिनमा अमलाले एउटा ठेलागाडामा व्यापार गर्ने योजना बनाइन् । इँटा बोकेको, बालुवा चालेको र अर्को एउटा घरमा लुगा धोइदिएको पैसा जोडजाड पारेर अमलाले ५० हजार जोगाएकी थिइन् । त्यही लिएर उनले आफ्नै व्यवसाय गर्ने योजना बनाइन् । 

अनि छोराछोरीसँग फेरि सल्लाह गर्न पुगिन् । छोराले पनि अमलालाई साथ दिने भए । 

‘अनि मैले ठेलामा मकै बेच्न थालेँ,’ अमलाले भनिन्, ‘जेठोलाई होटलमा काम छोड्न दिइनँ, हामी बस्न चाहिँ सँगै बस्न थाल्यौँ ।’

अरु सब पीडा भए पनि अमलाले छोराछोरीसँग सँगै बस्न त पाएकी छु भन्ने सोच्न थालिन् । अनि प्रत्येक दिन विहान चार बजे उठेर कालिमाटी पुग्न थालिन्, मकै किन्न । 

आजभोलि अमलाले कालिमाटीबाट दैनिक सय गोटा मकै ल्याउँछिन् । ‘दाउरा पनि किन्नु पर्छ, मकै पनि,’ अमलाले भनिन्, ‘सबै जोडजाड पार्ने हो भने एउटा मकैमा हाम्रो २० रुपैयाँ पर्छ ।’

दैनिक ६०–७० गोटासम्म मकै बेच्ने अमलाले एउटा मकैमा पाँच देखि १० रुपैयाँ नाफा कमाउँछिन् । 

‘बिक्री भएको दिन त ठिकै हो,’ अमलाले भनिन्, ‘३० वटा मकै पनि बिक्री भएन भने भोलि के खाने भन्ने समस्या हुन्छ ।’

तीन वर्षयता कहिलेकांही तरकारी किन्ने पैसा जुटाउन पनि सकेकी छैनन् अमलाले । तर, जे जति कमाएकी छिन्, त्यसमा चाहिँ खुसी छिन् । योबीचमा उनले जेठो छोरालाई वैदेशिक रोजगारीका लागि कतार पठाएकी छिन् ।

जेठो छोराले पनि अब अमलाका अरु दुई सन्तानको पढाई र अरु खर्चमा सहयोग गर्न थालेका छन् । त्यसैले अमला खुसी छिन्, विगतका पीडा बिर्सिएर । 

‘कम्तिमा रक्सी धोक्ने श्रीमानको हप्की र खप्की, कुटाइ खानु त परेको छैन,’ अमलाले भनिन् । 

  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १३:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया