घर नै बेचेर सुरु गरेकाे व्यापारले बनायाे अर्बपति !

एजेन्सी– आजभोलि हरेकजसो सौन्दर्य प्रशाधनका सामग्री बेच्ने पसलमा महिलाहरुको निकै भीड लागेको हुन्छ । एउटै पसलमा सबै ब्रान्डका सामान हुने भएकाले कतिलाई मेकअप किन्नु झन्झटिलो काम पनि लाग्छ– कुन क्रिमले छालालाई सुट गर्छ भन्ने कतिलाई थाहा नै हुँदैन ।

जो होरगन पनि यही कारणले निकै सताइएकी थिइन् । फ्रेन्च कम्पनी लोरियलमा प्रोजेक्ट म्यानेजरका रुपमा काम गर्ने जो होरगनले यही झन्झटका कारण जागिर छोडिन्, आफ्नो घर बेचिन् र आफ्नै पसल सुरु गरिन् ।

मेक्का नामको पसल सुरु गरेर जो होरगनले अरबन डिके, नार्सजस्ता बहुचर्चित कम्पनीका मेकअप बेच्न थालिन् । उनले खोलेको पसलमा चाहिँ ग्राहकलाई सबै सामानबारे खुलस्त बताइन्थ्यो । यसले ग्राहकलाई सहज बनाउन थाल्यो ।

सन् १९९७ मा यो एउटा नयाँ कन्सेप्ट थियो । त्यसैले पनि यो कम्पनीका शाखा छोटो समयमा नै बढ्न थाले ।

अष्ट्रेलिया र न्युजिल्यान्डमा मात्र अहिले मेक्काका ८७ स्टोर छन् । र, यी स्टोरहरुबाट वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन्छ । सही समयमा सही निर्णय गरेकाले नै अहिले जो होरगन अष्ट्रेलियामा मेकअपबारे कुरा गर्दा सबैभन्दा पहिले लिइने नाम भएको छ ।

लन्डनमा बाल्यकाल बिताएकी जो होरगनले आमाले मेकअप गर्दा निकै चाख दिएर हेर्थिन् । त्यसपछि नै उनलाई यो क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । उनी १४ वर्षकी हुँदा उनको परिवारले लन्डन छोड्यो ।



अष्ट्रेलियाको पर्थमा बसाइसराइ गरेको परिवारमा जो होरगनले सुरुमा पढाइलाई नै प्राथमिकता दिइन् । अमेरिकाको बोस्टन विश्वविद्यालयमा कम्युनिकेसनमा मास्टर्स गरेपछि पहिलेकी अंग्रेजी साहित्यकी विद्यार्थी जो लन्डन पुगेर लोरियलमा काम गर्न थालेकी थिइन् । लोरियलको जागिर छोड्दा जो होरगन २९ वर्षकी थिइन् ।

त्यसपछि उनले मेक्का सुरु गरिन् । तर, बीचमा अनेक समस्या झेल्नु पर्यो । जो होरगनले हार मानिनन् । बरु समयअनुसार आफ्नो व्यवसायलाई अपडेट गर्दै गइन् । त्यसैले त अहिले पनि जो होरगनले अष्ट्रेलियाको मेकअप व्यवसायमा एकक्षत्र राज गरिरहेकी छिन् ।



  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार ६:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया