काठमाडौं– अब १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकका लागि विद्युत महसुल छुट हुने भएको छ । विद्युत प्राधिकरणले १० युनिटभन्दा कम खपत गर्ने ग्राहकका लागि महसुल नलिने बताएको छ ।
नेपालभर यस्ता ग्राहकको संख्या सात लाखभन्दा बढी रहेको तथ्यांक छ । १० युनिटभन्दा कम खपत गर्ने यस्ता ग्राहकले न्यूनतम मूल्य भने तिर्नुपर्छ ।
आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत नियमन आयोगलाई खपत बढाउन महसुल घटाउने प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
यसअघि न्यूनतम ३ रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल रहेकोमा प्राधिकरणले शून्यदेखि बढीमा ११ रुपैयाँ ५० पैसासम्म नयाँ महसुल प्रस्ताव गरेको छ ।
११ युनिटभन्दा बढी प्रयोग गर्नेलाई प्रयोगका आधारमा छुट्टाछुट्टै महसुल निर्धारण गरिनेछ। यसअघि ७ वर्गमा विभाजन गरेर महसुल लिँदै आएमा अब भने ६ वर्गमा विभाजन गरेर महसुल निर्धारण गर्ने सिफारिस गरिने प्राधिकरणले बताएको छ । तर, प्राधिकरणको सञ्चालक समितिको बैठकको निर्णयको आधारमा भने महसुल हेरफेर हुने छैन ।
प्राधिकरणले घरायसी उपभोक्ताले प्रयोग गर्ने महसुल घटाउन प्रस्ताव गर्ने भएको छ । प्राधिकरणले खपत आधारमा महसुल निर्धारण गर्ने प्रस्ताव गर्ने भएको हो ।खपत बढी गर्नेलाई कम शुल्क लाग्ने गरी नयाँ महसुल निर्धारण गर्न लागिएको प्राधिकरणले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।