साँखुबाट ४०० वर्ष पुरानो ज्योतिर्लिंगेश्वर महादेवको मूर्ति चोरी

काठमाडौं– शंखरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिर्लिंगेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो ।  

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २.५ फिटको चारमुखी ज्योतिर्लिंगेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो । 

पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए । मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए । 

उनी भन्छन्, ‘अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहाल्याैँ ।’ उनका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशंका रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन । 

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिर्लिंगेश्वर महादेव ६४ लिंगेश्वरमध्ये ३४औँ लिंगेश्वरका नाममा चिनिन्छ । यस ठाउँमा माधवनारायण ९ज्योतिर्लिंगेश्वर महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्छन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।





  • प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार १५:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया