विवेकशील नेपाली दल प्लेकार्ड बोकेर माइतीघरमा उभिन किन छोड्यो ?
केहीअघिसम्म ससाना मुद्दामा पनि विवेकशीलका सदस्यहरु प्लेकार्ड बाेकेर चाेकचाेकमा उभिन्थे । फाइल तस्वीर ।

काठमाडौं– सरकारविरोधी अभियान होस् या अरु कुनै सामाजिक विषयका मुद्दा केही वर्षअघिसम्म विवेकशील नेपाली भन्दै एक झुन्ड युवाहरु चोकमा देखिन्थे, प्लेकार्ड बोकेर । 

तर, पछिल्लो केही समययता यस्ता युवाहरु हातमा प्लेकार्ड लिएर चोकमा उभिन छाडेका छन् । त्यसो त त्यति बेला विवेकशील नेपाली भनिएको अभियानबाट अहिले पार्टी जन्मिइसकेको छ, विवेकशील नेपाली दल । बीचमा यो पार्टी र साझा पार्टीले एकअर्कासँग एकीकरणको घोषणा पनि गरे तर यो एकीकरण लामो समय टिक्न सकेन ।

पछिल्लो समय मिलन पाण्डेको नेतृत्वमा पुगेको यो पार्टीका युवा पोस्टर र पम्प्लेट, प्लेकार्ड र नारा लिएर किन चोकचोकमा उभिँदैनन् ?

‘किनकि आज समय बदलिएको छ,’ विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापाले भने, ‘जतिबेला हामी चोकचोकमा प्लेकार्ड बोकेर उभिएका हुन्थ्यौँ, त्यति बेला ससाना कारणले पनि नेपाल बन्द आह्वान गरिएका हुन्थे ।’

उनी अब ब्यानर बोकेर सामान्य नागरिकहरु नै माइतीघरमा आउन थालेको मान्छन् । ‘अब नागरिकहरु नै ब्यानर बोकेर सडकमा आउन थाले, माइतीघरमा आउन थाले,’ थापाले भने, ‘अनि हामी एक स्टेप पछाडि हटेर नयाँ खाले अभियानमा लाग्नु पर्ने समय आएको छ ।’ यस्तो हुँदाहुँदै पनि सडकमा ब्यानर बोकेर आउन आफूहरुले कम गर्न नहुने उनको बुझाई छ । 

विवेकशील नेपालीले सबैभन्दा पहिले संविधानसभाको दोस्रो निर्वाचनअगाडि आफ्नो अभियान सुरु गरेको हो । ‘बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, पहिलो संविधानसभा विघटन भयो, दोस्रो हुने भयो,’ थापाले सम्झिए, ‘त्यति लामो समय सशस्त्र द्वन्द्व भएपछि देशमा आमूल परिवर्तन होला भन्ने धेरैको आशा थियो, तर युवाहरु निराश हुन पर्यो ।’ यही कारणले आफूहरुले विकल्प कुर्दै नबसेर आफैं बन्नु पर्ने अभियानका लागि विवेकशील जन्माएको र त्यो अभियान सुरु गरेको थापा बताउँछन् । 



संविधानसभाको दोस्रो निर्वाचनमा उज्ज्वल थापा, गोविन्दनारायणले पनि काठमाडौंबाट उम्मेदवारी दिए । ‘त्यो निर्वाचन हामीले जित्न सकेनौँ तर वैकल्पिक शक्ति चाहिन्छ भन्ने बुझ्यौँ । अनि हामीले विवेकशीलको नाममा अभियान सुरु गर्यौँ ।’

त्यही अभियानले प्लेकार्ड लिएर दैनिक जसो माइतीघरमा उभिने साइत जुर्याउन थाल्यो । 



तर, खासै धेरै समय नहुँदानहुँदै र समस्याहरुको चाङ बढ्दाबढ्दै पनि अहिले विवेकशील नेपालीका सदस्य प्लेकार्ड बोकेर सडकमा देखिएका छैनन् । एकथरि यसो हुनुमा विवेकशील दलको अस्तित्व सकिइसकेको पनि मान्छन् । यो मान्यता स्वीकार गर्दैनन् विवेकशीलका अध्यक्ष मिलन पाण्डे । 

‘हामीले इस्युअनुसार जनचेतनामुलक अभियान गरिरहेका छौँ,’ मिलनले भने, ‘हामी अब ओपन माइक कार्यक्रम गरेर यस्तो विषयमा बुझाउन खोजिरहेका छौँ ।’

‘हामीले कार्यशैली फेरेका हौँ,’ उनले भने । अनि उनले विवेकशील नेपालीका सदस्यलाई मोटिभेट गर्न पर्ने भएकाले अहिले आफू त्यही काममा लागिरहेको पनि बताए ।

पार्टीका नीति सचिव सन्जीव भट्टराई पनि सामाजिक अभियानलाई अब पार्टीले अझ सशक्त बनाएर लैजाने तयारी गरिरहेको बताउँछन् । केही समयअघि मात्र तराईमा ‘न्यानो माया’ अभियान चलाएर आएको सुनाउँदै भट्टराईले भने, ‘सडकमा प्लेकार्ड बोक्न र गाउँगाउँका मनिसको दैनिकीलाई सहज बनाउने अभियानमा त हामी सधैं हुन्छौँ नि ।’

  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार १६:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया