काठमाडाैं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोभेल कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई मात्रै निगरानीमा राखेको जनाएको छ ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एकजनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
विशेषगरी भाइरस संक्रमण भएको क्षेत्रबाट आएका मानिस र शंकास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ । यसअघि चारजनामा गरिएको परीक्षणमा माघ ९ गते एकजनामा संक्रमण भएको फेला परेको थियो ।
उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्चतहको बैठक बसेर छलफल थालिएको छ ।
उक्त बैठकले नेपालमा चीनको संक्रमित क्षेत्र उवान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा संक्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । जनमानसमा नकारात्मक सन्देश जानसक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ ।
बैठकमा संक्रमण फैलनसक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए । यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।