गैंडालाई जिस्क्याउनु भिजिट नेपालको नारा हो ?

काठमाडौं– व्यवसायी तथा भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले केही दिनअघि गरेको एउटा ट्विट अहिले पनि चर्चामा छ । उनले २७ जनवरीमा चितवनबाट एउटा ट्विट गरेका छन्– गैंडालाई छुँदै गरेको छ । अनि त्यसको क्याप्सनमा भिजिट नेपालको ह्यासट्याग प्रयोग गरेका छन् । 

सुरजको यो कदमलाई धेरैले विरोध गरेका छन्, उनकै ट्विटरमा । 

दीपक ज्ञवाली नामका प्रयोगकर्तालाई सुरजले लेखेका पनि छन्– धन्यवाद, यो कुरा दिमागमा राखौँला । तर, अधिकांश प्रयोगकर्ताले विरोध गरिरहँदा पनि उनले ट्विटरबाट यो फोटो हटाएका छैनन् । बरु त्यसपछिका कमेन्टमा उनी चुपचाप बसेका छन् । 

गैंडालाई घरपालुवा जनावरजस्तो गर्न खोज्नु, त्यसलाई छुनु गलत हो भन्ने कुरा सुरजलाई महसुस त भएको छ, तर उनी स्वयंले फेरि अष्ट्रेलियन राजदूत पिटर बडको ट्विटलाई रिट्विट गरेका छन् । अष्ट्रेलियन राजदूत पिटर बडले पनि चितवनमा नै गैंडाको बच्चालाई चलाइरहेका छन् । अझ उनले त त्यो गैंडाको बच्चाको मुखैमा हात हालेको भिडियो पनि गर्वसाथ आफ्नो ट्विटरमा सेयर गरेका छन् । 

यसरी पर्यटकलाई लोभ्याउने नाममा जंगली जनावरलाई घरपालुवा जस्तो व्यवहार गर्नु, उनीहरुको नजिक जानु र उनीहरुलाई जिस्क्याउनु उचित हो त ? 

‘हुँदै होइन, त्यो त एकदमै गलत काम हो,’ पर्यावरण अभियन्ता सृष्टि सिंह भन्छिन्, ‘यस्तो गतिविधि हुन रोकिनु पर्छ ।’ हुन पनि भिजिट नेपाल अभियानकै राष्ट्रिय संयोजक, विदेशी कुटनीतिक नियोगका प्रमुखले यस्तो गर्दा आम मानिसमा जुन सन्देश जान्छ, त्यसले पक्कै राम्रो गर्दैन । 



‘उहाँहरुले छुनु भएको गैंडा अलिक लामो समय त्यहाँ मानिसहरुको संगतमा परेकाले परिचित भएर केही गरेन होला,’ सृष्टिले थपिन्, ‘तर, गैंडाले मानिसलाई जुनसुकै समयमा आक्रमण गर्न सक्छ, अनि पर्यटक बोलाउने भनेर यस्तो गर्न पनि हुँदैन ।’ त्यहाँ जंगली जनावरहरुबारे व्यवस्थापन गर्ने संस्था सचेत हुनु पर्ने र यस्ता कार्यलाई रोक्नु पर्ने सृष्टिको तर्क छ ।

सृष्टिलाई मात्र होइन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुभव सम्हालिसकेका गणेश शाह पनि यसलाई अत्यन्त गलत काम मान्छन् । ‘त्यसरी गैंडालाई मानिससँगको सम्पर्कमा ल्याउने हो भने वाइल्ड लाइफको के महत्व भयो र ?’ शाहको प्रश्न छ, ‘यस्तो कामलाई कसरी विवेकी काम मान्ने ?’



झन्, सुरज वैद्यजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले यस्तो गर्न नहुने उनको तर्क छ । ‘ल, नजानेर त्यो जंगली जनावरलाई छोइयो होला,’ उनले भने, ‘अनि त्यही फोटो प्रकाशन गर्ने, सामाजिक सन्जालमा हाल्ने काम त गर्नु हुँदैनथ्यो नि ।’

सुरज वैद्यले यो तस्वीर खिच्दा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का सिइओ अच्युत गुरागाईं पनि सँगै थिए । ‘हो, त्यो दिन म त्यही भ्रमण टोलीमा थिएँ, नाट्टाको प्रतिनिधित्व गरेर गएको थिएँ,’ उनले भने, ‘त्यो गैंडा चितवनका लागि गाई भैंसीजस्तै रहेछ, त्यसैले सुरजजीले त्यसलाई छुनु भएको हो ।’

त्यो छुनु गलत वा सही भन्ने कुरामा भन्दा पनि गुरागाईं यसलाई इस्यु नै बनाउन नहुने तर्कमा छन् । ‘पर्यटन प्रबद्र्धन गर्नका लागि उहाँहरुले यति धेरै दुःख गरिरहनु भएको छ,’ उनले भने, ‘त्यो एउटा गैंडालाई छुँदा के भयो त ?’

तर, पर्यावरणको विषयमा काम गरिरहेकी सृष्टि चाहिँ यसरी गैंडालाई जिस्क्याउने काम कुनै पनि अर्थमा सही नहुने मान्यता राख्छिन् । ‘कुनै पनि देशमा जंगली जनावरलाई रेस्क्यू गर्दाबाहेक मानिस वरपर ल्याइँदैन,’ उनले भनिन्, ‘झन्, सुरजजीले हातमा पन्जा नलगाई छुनुभएको छ, यसले गलत अर्थ जाने मात्र होइन, गैंडाबाट अनेक रोग मानिसमा सर्ने सम्भावना र जोखिम पनि त उत्तिकै हुन्छ ।’

  • प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार १३:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया