सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ४६ सांसदले गत साता गाँजालाई वैधानिक बनाउन सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । नेपालमा अवैधानिक मानिने गाँजाको विषयमा सांसदमा नै पहिलो पटक सार्वजनिक महत्वको विषय पेश भएको हो ।
प्रतिनिधिसभामा यो सार्वजनिक महत्वको विषय पेश गर्दा नेकपाका सांसद विरोध खतिवडाले सन् १९७० को दशकमा गाँजालाई लागु औषधको सूचीमा राखेका अमेरिका, क्यानडा तथा युरोपेली मुलुकमा अहिले गाँजालाई वैधानिकता दिन थालिएको उल्लेख गरेका थिए । उनले पनि नेपालमा गाँजा खुलाउन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।
त्यसो त मकवानपुरबाट निर्वाचित भएर आएलगत्तै गाँजालाई वैधानिकता बनाउनु पर्ने माग गर्दै विरोधले संसदमा बारम्बार आवाज उठाएका छन् । संसदमा उनको आवाज र बाहिर आम मानिसको आवाजमा समानता छ, अधिकांशले गाँजालाई वैधानिक बनाउनु पर्ने माग गरिरहेका छन् ।
आखिर गाँजामा त्यस्तो खास के छ ?
‘नेपाल र नेपाली जनताको, पिछडिएका जनजाति र आदिवासी किसानको उन्नती छ,’ केही दिनअघि टेलिफोनमा कुराकानी गर्दै खतिवडाले भने, ‘अनि यो गाँजाका कारण हामीले विदेशी मुद्रा आर्जन गर्न सक्छौँ ।’
यसमा उनको एउटै तर्क छ– अहिले विश्वमा अर्थतन्त्रमा बलिया मानिएका देशहरुमा औषधीका रुपमा गाँजालाई उपयोग गर्न थालिएको छ, हामीले गाँजालाई नेपालबाट ती देशहरुमा बेच्न सक्छौँ ।
‘विकसित देशहरुले गाँजामा सम्भावना देखिसके,’ खतिवडाले भने, ‘हामी चाहिँ मकै र कोदोमा नै आश्रित भइरहेका छौँ ।’
के यसको अर्थ अब मकै खेती गर्न छोडेर गाँजा रोप्ने हो ? यो प्रश्नमा विरोध खतिवडा घुमाउरो पारामा जवाफमा दिन्छन् । ‘उसै पनि अहिले गाँजामा कहाँ प्रतिबन्ध छ र ? नेपालको एउटा ठाउँ देखाइदिनुहोस्, जहाँ गाँजा पाइँदैन,’ विरोधले भने, ‘अनि अहिले गाँजामा प्रतिबन्ध लगाएर कसले के बाजी मारेको छ र ?’
विरोध त अहिलेको प्रतिबन्ध उल्टै नेता तथा प्रहरीलाई पैसा कमाउने बाटो मात्र भएको देख्छन् ।
अनि उनी भन्छन्, ‘फेरि गाँजा वैधानिक बनाउने भनेको ठेलामा मकै पोलेर बेचेजस्तो गाँजा बेच्ने भन्ने होइन ।’
अहिले गाँजालाई वैधानिक बनाउने भन्ने आफ्नो प्रस्तावमा पनि गाँजा जताततै पाइनुपर्छ भन्ने नभएको उनको तर्क छ । ‘हामीले ठेलामा, तरकारी, मकै, भटमास बेजे जसरी जसलाई जति चाहियो त्यति किन्न पाइने बनाऔँ भनेका होइनौँ,’ उनले भने, ‘अमेरिका, बेलायतजस्ता देशमा गाँजा वैधानिक छ, के त्यहाँ जनताहरु आफ्नो बारे, देशबारे सोच्दैनन् ? के त्यहाँ सबका सब बिग्रिएर हिँडिरहेका छन् ?’
अहिले अमेरिकाले ५० मध्ये ४२ राज्यमा गाँजा वैधानिक बनाइसकेको छ । ‘विस्तारै अरु राज्यमा पनि गाँजा वैधानिक बनाउँदै लैजान्छन् उनीहरु, यो लहर संसारभर छाएको छ,’ खतिवडाले भने, ‘अनि के हामी अरु सबै देशले वैधानिक बनाउन्, अनि हामी गरौँला भनेर कुर्ने ?’
एकथरिले तर्क गरेका छन्, गाँजाले गर्दा युवा पिढीँमा नराम्रो समस्या निम्तिन सक्छ । तर, विरोधको प्रश्न छ– के अहिले जुन देशमा गाँजा वैधानिक छ, त्यहाँ युवा छैनन् ?
विरोधले यसो भन्दा उनका लागि प्रश्न जन्मिन्छन्– तर, त्यहाँ त नेपालको जस्तो अशिक्षा र बेरोजगारी छैन नि ?
विरोधसँग यो प्रश्नको पनि ‘रेडिमेड’ जवाफ छ । त्यसैले त उनी यस विषयमा भनिहाल्छन्, ‘के गाँजामा प्रतिबन्ध लगाएकाले बेरोजगारी कम भएको छ र ?’
बरु विरोधले एउटा हिसाब निकालेका छन् । नेपालको दार्चुलादेखि इलामसम्म गाँजा खेती राम्रो हुने भएकाले त्यो क्षेत्रका ३० औं लाख जनताले वर्षेनी लाखौँ कमाउने र उनीहरुले अरु क्षेत्रमा गर्ने लगानीले बेरोजगारी पनि कम हुँदै जाने तर्क विरोधको छ ।
‘यी सब प्रश्नहरु हाम्रो अजिब मानसिकताका कारण निस्किएका हुन्,’ विरोधले भने, ‘हामीले जे कुरामा प्रतिबन्ध लगाउनु पर्छ, त्यो कुरामा प्रतिबन्ध लगाएका छैनौँ, गाँजा व्यापारमा किन प्रतिबन्ध लगाउनु पर्यो ?’ उनी त अहिले गाँजा जुन देशमा वैधानिक छ, र उनीहरुले जहाँ गएर गाँजा बेचिरहेका छन्, हामी नेपालीले पनि त्यही गर्न सकिने विश्वास राख्छन् ।
फेरि गाँजाले दुव्र्यसनी बढाउने कुरालाई पनि अस्वीकार गर्छन् विरोध । ‘गाँजा त बरु कुलतमा लागेकालाई छुटकारा दिने पहिलो चरण वा स्टेप हुनसक्छ,’ विरोधले भने, ‘रक्सी, चुरोट, चरेस, हिरोइन, कोकिन जस्ता हानिकारक चिजको लतमा परेकाहरुलाई निकाल्न गाँजा सहयोगी हुन्छ नि हैन र ?’
गाँजालाई वैधानिक बनाउनु पर्छ भनेर एकोहोरो लागिरहेका विरोधलाई यो पंक्तिकारले अन्तिममा प्रश्न राख्यो– तपाईं गाँजा खानुहुन्छ कि हुन्न ? गाँजाबारे एकोहोरो बोलिरहँदा परिवार वा साथीभाइले केही भनेका पो छन् कि ?
विरोध हाँसे । अनि व्यंग्य मिश्रित जवाफ दिए– त्यही गाँजा विहानदेखि बेलुकासम्म सेवन गरेर मान्छेले पत्याएर तनाव छ । ओहो यो त गाँजा खाने मान्छे रहेछ, राम्रो रहेछ भनेर जनताहरुले मलाई चुनाव जिताएर पठाएको हो नि ।
त्यसपछि फेरि उनी हाँसे ।
अनि परिवार, साथीभाइ र पछिल्लो समय मिडियाले पनि उनले उठाएको आवाजलाई साथ दिएको भन्दै धन्यवाद दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।