अमेरिकामाथि जित निकाल्दा कुशलको विश्व रेकर्ड, एउटै खेलमा १७ क्याच आउट

काठमाडौं– शनिबार नेपाली क्रिकेट फ्यानहरुका लागि एउटा सुनौलो दिन रह्यो । नेपाली क्रिकेटर कुशल मल्लले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि मात्र होइन, विश्वकै नयाँ रेकर्ड दर्ज गरेका छन् । उनले बनाएको रेकर्ड हो, सबैभन्दा कम उमेरमा डेब्यू गर्दा अर्धशतक प्रहार गरेका छन् ।

वामे सर्दै गरेको र ठूला सपना बनाइसकेको नेपाली क्रिकेट र यसका प्रशंसकलाई यो पक्कै खुसीको कुरा हो । घरेलु मैदान टियु क्रिकेट ग्राउन्डमा कुशलले ५१ बलमा ५० रन जोडे । यसका लागि उनले ३ छक्काको सहयोग लिए । 

कुशलको रेकर्ड मात्र होइन, शनिबार टियु ग्राउन्डमा भएको खेलमा नेपालले अमेरिकामाथि सहज जित पनि निकाल्यो । 

टस हारेर पहिले ब्याटिङ गर्न नेपालले निम्तो पाएको थियो । यसअघि यी दुवै देशले ओमानसँग पराजय व्यहोरेका थिए । त्यसैले पनि यो खेललाई विशेष प्राथमिकताका साथ हेरिएको थियो । 

नेपालका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल मैदानमा प्रवेश गरे । खकुरेलको यो लामो समयपछि राष्ट्रिय टिममा कमब्याक थियो । चोटका कारण झन्डै दुई वर्ष खकुरेल मैदानबाहिर रहे । तर, आज खकुरेलले आफ्नो कमब्याकलाई ‘इस्टाब्लिस’ गर्न सकेनन् । उनी ३ रन मात्र बनाएर पेभेलियन फर्किए । थेरोनको बलमा उनले प्रहार गरेको सट मोनाक पटेलले क्याच गरे । पहिलो विकेट गुमाउँदा नेपालले स्कोर बोर्डमा ६ रनमात्र जोडेको थियो । 

त्यसपछि मल्ललाई साथ दिन पारस खड्का क्रिजमा आए । कप्तान र पूर्वकप्तानको यो जोडी पनि खासै जम्न सकेन ।



सुवास जसरी आउट भए, आज नेपालका सबै ब्याट्सम्यान क्याच आउट नै भए ।

सुवास लगत्तै ज्ञानेन्द्र मल्ल पनि पेभेलियन फर्किए । उनले व्यक्तिगत २१ रनमात्र जोडे । सुवाससँग ६ रनको साझेदारी गरेका मल्लले पारससँग ४० रनको साझेदारी गरे । 



ज्ञानेन्द्र क्रिजबाट बाहिर निस्कँदा नेपालले १३.१ ओभरमा ४६ रन मात्र जोडेको थियो । दोस्रो विकेट पनि गुमाएपछि टियु ग्राउन्डमा भेला भएका नेपाली निराश हुन थाले । 

तर, क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीलाई हेरेर दर्शकले लामो सास फेरेका थिए । दर्शकको यो विश्वासलाई दीपेन्द्रले चाहिँ सही प्रमाणित गरिदिएनन् । उनी पनि क्याच आउट भए । तर, दीपेन्द्रले २ बल सामना गर्दा नेपालको स्कोर बोर्डमा एक रन पनि जोड्न सकेनन् । 

दीपेन्द्र आउट भएलगत्तै नेपालका पूर्वकप्तान पारस खड्का पनि आउट भए । उनले पनि आज आफ्नो स्कोर २० रन कटान सकेनन् । ५२ बल सामना गरेका पारसले जम्मा १९ रनको योगदान नेपाललाई दिए । 

पारस र दीपेन्द्र आउट भएपछि आएका मध्यक्रमका ब्याट्सम्यानले चाहिँ नेपाली स्कोरबोर्डको यात्रालाई अलिक छिटो अगाडि बढाए । त्यसो त पारस खड्का आउट भएलगत्तै आएका आरिफले पनि २ रनमा नै चित्त बुझाउनु पर्यो । 

आरिफ आउट भएपछि क्रिजमा बचेका कुशल मल्ल र विनोद भण्डारीले नेपालको स्कोर बोर्डलाई केही समयसम्म अगाडि बढाउन मद्दत गरे । कुशलले दिएको ५० रनको योगदान र विनोदले दिएको ५९ रनको सहयोगले नेपालको स्कोरबोर्ड तीन अंकमा पुग्यो ।

कुशल मल्ल ३५.२ ओभरमा आउट हुँदा नेपालले स्कोरबोर्डमा १३३ रन जोडेको थियो । यसलाई अगाडि बढाउन विनोदले निकै ठूलो योगदान दिए, उनी ४७.५ ओभरसम्म क्रिजमा रहे । बीचमा आएका करण केसी, सन्दीप लामिछाने, सुशन भारी र अविनाश बोहोराले २८ रन जोडे । 

अपेक्षाअनुसार आजको खेलमा नेपालले खासै राम्रो गर्न सकेन । नेपालको ब्याटिङ आज पनि तीन दिनअघि ओमानसँग भएको खेलजस्तै कमजोर सावित भयो । १९० रन बनाउँदा नेपालले सबै विकेट गुमाए । एक दिवसीयमा यो योगफल नेपालका लागि पनि अत्यन्त सानो योगफल हो । तर, पछिल्लो केही समययता नेपालको ब्याटिङ चल्न नसक्दा स्कोरबोर्डमा दुई सयभन्दा धेरै रन जुट्न सकेको छैन । नेपालले ओमानसँगको खेलमा पनि २ सय रनभन्दा कमको टार्गेट पाएको थियो । तर, त्यसलाई पनि पूरा गर्न सकेको थिएन । 

नेपालको इनिङ सकिएपछि ब्याटिङका लागि मैदानमा आएको अमेरिकामा यो योगफल भेट्न सहज हुने अनुमान गरिएको थियो । तर, जसरी अमेरिकी बलरहरु राम्रो चलेका थिए र उनीहरुको फिल्डिङ बलियो देखिएको थियो, नेपाली बलरहरु पनि आज राम्रो चलेका थिए । त्यसैले पनि अमेरिकाले सोचेअनुरुप रन बटुल्न सकेन । 

दोस्रो ओभरमा नेपालले पहिलो विकेट लिँदा अमेरिकाले ६ रनमात्र आफ्नो स्कोर बोर्डमा जोडेका थिए । नेपाली स्पिनर सन्दीप लामिछानेले यो विकेट लिँदा टियु ग्राउन्डमा निकै ठूलो आवाजमा समर्थकले हुटिङ गरे । 

लगत्तै अमेरिकाले तेस्रो ओभरमा अर्को विकेट गुमायो । २.४ ओभरमा यो विकेट गुमाएको अमेरिकाले दुई बलमा अर्को विकेट गुमायो । यी दुई विकेट नेपालका लागि करण केसीले लिएका थिए । आफ्ना महत्वपूर्ण ब्याट्सम्यानलाई सस्तैमा समेटेको अमेरिकाले ४ ओभरभित्र ४ विकेट गुमायो । योसँगै अमेरिकी खेलाडीको आत्मविश्वासमा कमी आएको हुनुपर्छ, तर मैदानमा भेला भएका नेपाली दर्शकलाई यसले थप खुसी दियो । 

४ विकेट गुमाउँदा अ‍ेमरिकाले स्कोरबोर्डमा १३ रनमात्र जोडेको थियो । 

अमेरिकाका लागि आजको खेलमा सबैभन्दा राम्रो इयान होल्यान्डले प्रदर्शन गरे । उनले १११ बलको सामना गरे । अनि आफ्नो देशका लागि ७५ रनको योगदान दिए । 

अमेरिकाका अरु कुनै पनि ब्याट्सम्यानले २० रन कटाउन सकेनन् । होल्यान्डले बाहेक अन्य दुईले मात्र दोहोरो अंकको योगफल योगदान गरे । 

होल्यान्डकै बलमा निकै सस्तोमा समेटिने छाँटकाँट देखिएको अमेरिकाले स्कोरबोर्डमा ४४.१ ओभरमा १५५ रन जोड्न सफल भयो । तर, यो नेपालले दिएको लक्ष्य भेटाउन पर्याप्त भएन । अमेरिका नेपालमाथि जित निकाल्नका लागि ३५ रनले कमजोर देखियो ।

शनिबार निकै बाक्लो दर्शकको उपस्थिति रहेको टियु ग्राउन्डमा केही रमाइला पक्ष पनि रहे । 

 

कान्छो उमेरमा अर्धशतक

नेपालका लागि अन्तर्राष्ट्रिय एक दिवसीयमा डेब्यु गरेका कुशल मल्ले आज ५१ बलको सामना गर्दै ५० रन जोडे । अलराउन्डर कुशलले खेलमा एक विकेट पनि लिएका थिए । 

१५ वर्ष ३ सय ४० दिनका कुशलका लागि आज जीवनकै सबैभन्दा महत्वपूर्ण दिनमध्येको एक भयो । किनकि डेब्यु खेलमा यो सफलता हासिल गर्नु र विश्व रेकर्डमा आफ्नो नाम दर्ज गर्नु चानचुने कुरा होइन । 

 

१७ क्याच आउट

आजको खेलमा अर्को रमाइलो पक्ष रह्यो, ब्याट्सम्यानको आउट शृङ्खला । पहिले क्रिजमा ब्याटिङ गनै पुगेको नेपालका सबै ब्याट्सम्यान क्याचआउट भए । सुवासबाट क्याच आउट हुन थालेका नेपाली ब्याट्सम्यान एकपछि अर्को क्याचआउट हुँदै गए । 

१० विकेट नै नेपालले क्याचका कारण गुमायो । 

अमेरिकी इनिङमा पनि यो सिलसिला कायम रह्यो । अमेरिकाको पहिलो विकेट पनि क्याच आउटमा नै गुमेको थियो । करण केसीको बलमा विनोद भण्डारीले क्याच गर्दा अमेरिकाका जेभिएर मार्शल पेभेलियन फर्किनु परेको थियो । त्यसपछि अन्य ६ विकेट पनि अमेरिकाले क्याचकै कारण गुमायो । एक विकेट बोल्ड र दुई विकेट एलबिडब्लूका कारण अमेरिकाले गुमायो ।

  • प्रकाशित मिति : माघ २५, २०७६ शनिबार १८:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया