गच्छदार समर्थनमा काङ्ग्रेस सडकमा उत्रिनु कति ठिक ?
फाइल तस्वीर ।

काठमाडौं— केही समययता प्रमुख प्रतिपक्ष कांग्रेसलाई आरोप लागिरहेको थियो– कांग्रेसले न सरकालाई ठिक बाटोमा ल्याउनका लागि सदनमा होस् या बाहिर नै किन नहोस्, कुनै ठोस पहलकदमी चालेको छैन । उल्टै संसदमा प्रतिपक्षको भूमिकामा कांग्रेसको अवस्थाबारे प्रश्नहरु उठ्न थालेका थिए ।

तर, पछिल्लो समय ललिता निवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार अनुसन्धान आयोगले २२ माघमा मुद्दा दायर गरेपछि कांग्रेसका नेताहरु सरकारविरुद्ध खनिन थालेका छन्, निकै कडा शब्द प्रयोग गरेर विभिन्न सम्बोधनहरु गरिरहेका छन् । 

केही दिनअघि यही सन्दर्भमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कडा अभिव्यक्ति दिए । सामाजिक सन्जालमा लेख्दै उनले लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाई कतै पूरा हुने त होइन भन्दै संशय व्यक्त गरेका थिए । 

सामाजिक सन्जालमा नै कांग्रेस नेता तथा सांसद गगन थापाको एउटा भिडियो क्लिप पनि भाइरल भएको छ । भिडियोमा उनले कार्यकर्तालाई सम्बोधन गर्दै जुनसुकै गल्ती गरे पनि विष्णु विष्णु भन्दै त्यसको माफी माग्दा सबै सजाय माफ हुने आशयको अभिव्यक्ति दिएका छन् । 

नेपाली कांग्रेसका नेताहरुले अख्तियार सरकारको मतियार भएको आरोप लगाउन थालेका छन् । संघीय संसदमात्र होइन, विस्तारै कांग्रेसले प्रदेश संसदका हिउँदे अधिवेशनहरुलाई पनि प्रभावित पार्न थालेका छन् । 

कांग्रेसले आफ्ना नेतामाथि कारवाही गर्न खोज्नु तर सत्तारुढ दलका नेतामाथि अनुसन्धान नै नगरि उन्मुक्ति दिनुलाई प्रश्न उठाएको छ । 



आइतबार नै नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेवि संघले सुनसरीमा राँके जुलुस निकालेको छ । काठमाडौंमा पनि नेपाली कांग्रेस समर्थित भातृ संगठनहरुले आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको थियो, सभापति देउवा निवासमा नै कानुन व्यवसायीहरुसँग छलफलसमेत गरेको थियो । पछिल्ला दिन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि यस विषयमा बारम्बार आफ्ना सामाजिक सन्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् ।



र, यो सबमा कांग्रेसको एउटै आरोप छ– अख्तियार अनुसन्धान आयोग सरकारको प्रभावमा परेको छ । 

कतिसमम भने कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवाले अख्तियार अनुसन्धान आयोग ओली आयोग बनेको समेत आरोप लगाए ।

कांग्रेसले यस विषयमा छलफल गर्न र आगामि रणनीति बनाउन केन्द्रीय कमिटीको बैठकसमेत बोलाएको छ । यसबारे गम्भीर छलफल बैठकमा हुने भनिएको छ ।

तर, सँगसँगै प्रश्न उठेको छ– पार्टी उपसभापति गच्छदारको पक्षमा यसरी कांग्रेस तात्नु ठिक हो त ? 

पार्टीले अब कस्तो रणनीति बनाउने भन्ने प्रष्ट नभइसकेकाले यस विषयमा कांग्रेसका नेताहरु खुलेर कुरा गर्न तयार छैनन् । तर, उनीहरु अख्तियारले नेपाली कांग्रेसका नेतालाई फसाउन खोजेको प्रष्ट भएकाले यसको विरोध नगरे भोलि झन् ठूला समस्या आउनसक्ने बताउँछन् । 

‘जुन मन्त्रिपरिषद्बाट निर्णय भएका विषयमा कांग्रेसका तत्कालीन मन्त्री गच्छदारलाई फसाइएको छ, त्यो मन्त्रिपरिषद् सन्चालन गरेका प्रधानमन्त्री तथा मुख्य सचिव त्यसमा किन परेनन्,’ एक कांग्रेस नेताले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने, ‘यसले अख्तियार सरकारको निर्देशनमा रहेको र सरकारको गुलामी गर्न खोजेको प्रष्ट बनाउँछ । त्यसैले गच्छदारको समर्थन भन्दा पनि यो अख्तियारको कामको विषयमा गरिएको खबरदारीका रुपमा बुझ्नु पर्छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार साँझ माइक्रो ब्लगिङ साइट ट्विटरमा दुई अनुत्तरित प्रश्न भन्दै लेखेका छन्– 

मुद्दा कसैलाई चलाउनै हुन्न, हाम्रो अभिप्राय होईन  तर... 

१. ञनितिगत निर्णयझ हो, अत प्रमलाई गाँस्न मिल्दैन भने मन्त्रीलाई मिल्छ कसरी रु नितिगत होइन भने प्रमलाई उन्मुक्ति किन ? 
२. अपहरणकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला कि मुद्दा ?  गम्भीर प्रश्नप्रति गम्भीर प्रतिक्रिया हुन्छ नै ! 

शर्माको यो ट्विटलाई ८५ जनाभन्दा बढीले रिट्विट गरेका छन् । 

शर्माको यो ट्विटबाट पनि बुझिन्छ, कांग्रेसले गच्छदारको पक्षमा मात्र आन्दोलनमा उत्रिएको भन्दा पनि एउटै मुद्दामा संलग्न कसैलाई उन्मुक्ति दिने त कसैलाई मुछ्ने काम अख्तियारले गरेकोमा विरोध जनाउन खोजेको हो । 

कांग्रेसका एक केन्द्रीय सदस्य पनि यही कुरामा सहमत छन् । ‘यस्तो हुँदै गयो भने भोलि एउटा निहुँ बनाएर कुनै मुद्दामा नेकपाका नेताहरु फेरि फन्दामा पर्ने र कांग्रेसका नेताले उन्मुक्ति पाउने हुनसक्छ, कांग्रेसले सरकार बनाएको समयमा,’ ती नेताले भने, ‘त्यसैले यस्तो कदमको विरोध गर्नेमात्र होइन, आवश्यक परेको खण्डमा गम्भीर आन्दोलन गर्नु पर्ने हुनसक्छ ।’

अधिकांश कांग्रेस नेताहरु गच्छदारलाई फसाइएको पक्षमा छन् । तर, उनीहरु यसबारे अदालतले निर्णय गर्नु पर्ने कुरामा पनि विश्वस्त भएका छन् । ‘अब अदालतमा पुगेको मुद्दामा अदालतको फैसला पनि आउनु पर्छ,’ ती नेताले भने, ‘तर, जब मुद्दा नै गलत नियतले लगाइएको छ, त्यो अदालतसम्म पुग्ने कि नपुग्ने भन्ने कुरा महत्वपूर्ण हो ।’

एकथरि कांग्रेस नेताहरु चाहिँ गच्छदारको स्वभावका कारण नै पनि उनी समस्यामा पर्न थालेको बताउँछन् । ‘उहाँको विषयमा यसअघि पनि विवादित कुराहरु आउने गरेका नै हुन्,’ एक नेताले भने, ‘हो, उहाँले गलत त पक्कै गर्नुभएको होला तर यसपाली उहाँलाई नराम्रो तरिकाले फसाउन खोजियो, यो ठिक होइन ।’

  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार २:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया