वुहानमा नेपाली विद्यार्थीः चुपचाप सरकार, चुपचाप नेकपा नेता, अहिलेसम्म टुङ्गो छैन, कहिले ल्याउने

काठमाडौं– चीनमा कोरोना भाइरसको कहर दिनप्रतिदिन बढ्दो छ । मृतकको संख्या बढिरहेको छ, संक्रमितको संख्या पनि बढिरहेको छ ।

वुहानलाई चीन सरकारले दुई साताअघि नै लक्ड डाउन गरिसकेको छ । सहर लक्ड डाउन भएलगत्तै र कोरोना भाइरसको संक्रमण बढेलगत्तै वुहानमा रहेका १९० नेपाली विद्यार्थीले सरकारलाई आफूहरुलाई फिर्ता ल्याउन अनुरोध गरेका थिए । 

तर, अहिलेसम्म सरकारले विद्यार्थीहरुलाई कहिले ल्याउने भन्ने मिति निक्र्योल गरिसकेको छैन । 

वुहानमा रहेका नेपाली विद्यार्थीका अभिभावकले केही दिनअघि परराष्ट्रमन्त्री, गृहमन्त्रीलगायत केही नेताहरुलाई पनि भेटे । तर, उनीहरुले सन्तोषजनक उत्तर पाउन सकेनन् । 

उता, वुहानमा रहेका नेपाली विद्यार्थीले सरकारले आफूहरुलाई फिर्ता ल्याउन पहल नगरेको भन्दै अन्तर्राष्ट्रिय समुदाय गुहार्ने बताइसकेका छन् । 

यता, नेपालमा न सरकारले आधिकारिक रुपमा केही भनेको छ न नेकपाका नेताहरुले नै यसबारे केही बोलेका छन् । 



परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पछिल्लो समय सामाजिक सन्जाल ट्विटरमा सक्रिय छन् । उनले नेपालको विषयमा र आफ्ना गतिविधिलाई प्रायः ट्विटरमा लेखिरहेका हुन्छन्, त्यसबाट प्रचारप्रसार गरिरहेका हुन्छन् । 

आइतबार नेपालले आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमसँग सम्बन्धित आधा दर्जनभन्दा ट्विट उनले गरेका छन् । शुक्रबार उनले नेपालमा निजगढ विमानस्थलको विकल्प नभएको त्रिरत्न मानन्धरको लेखलाई पनि ट्विट गरेका छन् । 



तर, अचम्म त के छ भने यो समाचार तयार पार्दासम्म ज्ञवालीले एउटै ट्विट पनि कोरोना भाइरसका कारण लक्ड डाउन भएको वुहानमा नेपाली विद्यार्थीबारे गरेका छैनन् । केहीअघि नेपालका लागि चीनकी राजदूत होउ यान्कीले नेपाली विद्यार्थीलाई यहाँ ल्याएर ठाउँ तयार पारेपछि मात्र ल्याउन सरकारलाई अनुरोध गरेकी थिइन् । भारत, माल्दिभ्स, इरानलगायतका देशले आफ्ना नागरिकलाई देश फिर्ता लगिसकेका छन् । यो प्रक्रियामा त्यहाँका परराष्ट्रमन्त्रीहरुको सक्रिय सहभागिता रहेको थियो । यो प्रक्रियाका लागि भारतीय विदेशमन्त्री एस जयशंकरले पनि निकै प्रभावकारी भूमिका खेलेका थिए । 

तर, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यस विषयमा चुपचाप छन् । कार्यक्रमहरुमा उनले सरकारले तयारी गरिरहेको छ भन्ने त बताएका छन् तर नेपाली विद्यार्थी त्यहाँ अलपत्र परेको विषयमा केही लेखेका छैनन् । 

सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि यसबारे चुपचाप छन् । उनले पनि नेपाली विद्यार्थी ल्याउने तयारी भएको बताए पनि एकिन रुपमा कहिले र कसरी नेपाली विद्यार्थी ल्याइँदैछ भन्नेबारे बताएका छैनन् । 

यसबारे सरकारका जिम्मेवार निकायमा प्रश्न गर्दा सबैको जवाफ हुन्छ– सरकारले तयारी गरिरहेको छ, छिट्टै वुहानबाट विद्यार्थी ल्याइन्छ । तर, सरकारका प्रवक्तादेखि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका नेताहरुसम्म यस विषयमा चुप छन् । 

बरु यस विषयमा चिनियाँ राजदूत होउले केही सक्रियता जनाएकी छिन् । उनले यसबीचमा सरकारका केही मन्त्री तथा परराष्ट्रसचिवलाई भेटेका तस्वीर सामाजिक सन्जाल ट्विटरमा राखेकी छिन् । त्यही उनको पोस्टलाई रिट्विट गर्नेबाहेक कोरोना भाइरस र वुहानमा अड्किएका नेपाली विद्यार्थीबारे योगेश भट्टराईले पनि केही लेखेका छैनन् । बरु उनी नेपाल भ्रमण वर्षका ससाना गतिविधि पनि ट्विटरमा लेखिरहेका हुन्छन् । 

सबैभन्दा अचम्म त चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलको देखिएको छ । वाग्मतीमा माछा भेटिएको पोस्टलाई ट्विटरमा रिट्विट गरेका पौडेलले कोरोना भाइरसका कारण वुहानमा संकटमा परेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउने तयारी के भइरहेको छ भन्नेबारे एउटा ट्विट गरेका छन्, जुन उनले केहीअघि निकालेको विज्ञप्ति हो । त्यसबाहेक उनी मोटिभेसनल भनाइहरुलाई कोट गरेर बसिरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलमा पनि यसबारे केही लेखिएको छैन । प्रधानमन्त्री ओलीले पनि ट्विटरबाट विभिन्न सन्देश दिने गरेका थिए, सूचना प्रवाह गर्ने गरेका थिए । तर, कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली विद्यार्थीमाथि उनले अहिलेसम्म एक शब्द बोलेका छैनन् । 

परराष्ट्रसचिव शंकर वैरागीले पनि यस विषयमा केही लेखेका छैनन् । 

आखिर किन ? 

‘खासमा नेपालीलाई नेपाल ल्याउन सरकारले कुनै पहल सुरु गरेको नै छैन,’ नेकपाका एक सांसदले आफ्नै सरकारको आलोचना गर्दा आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै भने, ‘त्यसैले जिम्मेवार व्यक्तिहरु कसैले पनि केही नबोलेका हुन् । यस विषयमा केही भइरहेको भए पो बोल्नु, लेख्नु वा प्रचार गर्नु । यो विषयमा केही पनि नभएकाले केही बोल्ने आँट पनि छैन ।’

तर, उनले भनेजस्तो सरकारले केही तयारी नगरेको होइन । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले फरकधारसँगको टेलिफोन सम्पर्कमा आफूहरु तयारी अवस्थामा रहेको बताए । ‘हामी सबै तयारी गरेर बसेका छौँ,’ उनले भने, ‘त्यहाँबाट फर्किएका नेपालीलाई राख्ने ठाउँ पनि तयार भइसकेको छ । तर, सरकारले उनीहरुलाई कहिले ल्याउने भन्ने चाहिँ टुंगो लगाएको छैन ।’

उनीहरुलाई नेपाल ल्याउने टुङ्गो लगाउनु पर्ने काम सरकारको भएको भन्दै दाहालले भने, ‘हामीले हाम्रो तर्फबाट गर्ने तयारी गरेका हौँ, अब सरकारले जहिले ल्याउँछ, त्यसपछि बल्ल हाम्रो काम सुरु हुन्छ ।’

तर, सरकारले विद्यार्थी नेपाल ल्याउन तयारी गरिरहेको बताउन थालेको एक साताभन्दा लामो समय भइसकेको छ । यसबारे ठोस निर्णय अहिलेसम्म आएको छैन ।

  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १६:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया