पूर्वसचिव कार्की पत्नी हत्या प्रकरणः के भयो, किन सोझियो कामदारमाथि आशंका ?
घटनापछि कार्की निवासमा जम्मा भएका स्थानीय ।

काठमाडौं– सधैंझैं सोमबार विहान पनि पूर्वसचिव अर्जुन कार्की मर्निङ वाकमा निस्कने तरखर गर्दै थिए । सोमबार भएकाले उनले सधैं सिनामंगलमा गएर गल्फ खेल्नुको साटो पशुपतिनाथमा दर्शन गर्ने निर्णय गरे । दुई घन्टा लामो दर्शनपछि उनी घर फर्किए । 

उनको दैनिकी नै यही थियो । घरमा श्रीमती मुना कार्कीले पकाएको खाना कार्की गएलगत्तै खाइन्थ्यो । 

तर, सोमबार उनले श्रीमती कार्कीले पकाएको खाना खान पाएनन् । 

बरु सोमबार उनले जीवनमा जे सोचेका थिएनन्, त्यही भोग्न पर्यो । जे सोचेका थिए, त्यो हुन पाएन । 

अरु दिन घरको गेटमा पुगेर हर्न बजाएपछि कामदार वा पत्नीमध्ये एक उनका लागि गेट खोल्न आइपुग्थे । तर, सोमबार विहान केहीबेर हर्न बजाउँदा पनि नआएपछि कार्कीले आफैं गेट खोले, बाहिरबाट । अनि गाडी पार्क गरेर भित्र पुगे । 

मर्निङ वाककै लागि विहान घरबाट निस्किएका कार्की सोमबार विहान पशुपतिनाथको दर्शन गरेर फर्किँदा ११ बजेर २० मिनेट गइसकेको थियो । कार्की सोझै भान्सामा जाने तयारीमा थिए, त्यहाँ नै श्रीमती भएको सायद उनले सोचेका थिए । 



तर, किचनमा पुग्नुअगावै उनले डाइनिङमा आफ्नो घरमा काम गर्ने विजय चौधरीलाई झुन्डिरहेको अवस्थामा देखे । त्यसपछि उनी आत्तिँदै भान्सामा छिरे । 

जब उनी भान्सामा पुगे, उनले सोच्नै नसक्ने दृश्य देखे– उनकी श्रीमती रक्तमुछेल अवस्थामा किचनको भुइामा छटपटाइरहेकी थिइन्, उनको घाँटीमा एउटा डोरी बाँधिएको थियो । 



‘आज नै मैले पशुपति दर्शन गरेर आएँ, आज नै मेरो घरमा यस्तो,’ कार्कीले श्रीमतीलाई अस्पताल पुर्याइसकेपछि घरबाहिर बस्दा बारम्बार भनिरहेका थिए । मानौँ, उनको भगवानमाथिको आस्थामा ठूलो चोट पुगेको थियो, उनी भगवानलाई किन निर्दयी बनेको भन्ने प्रश्न गरिरहेका थिए । 

यति बेला विहानको साढे ११ बजेको थियो । श्रीमतीलाई रक्तमुछेल अवस्थामा देखेपछि ठूलो स्वरमा चिच्याएका थिए, कार्की ।

उनको त्यो चिच्चाहट सुनेर एक छिमेकीले प्रहरीलाई फोन गरिदिएका थिए । त्यसपछि प्रहरी कार्कीको घरमा पुगेको थियो । प्रहरीले पुगेलगत्तै श्रीमती कार्कीलाई अस्पताल पुर्यायो । सानेपामा रहेको स्टार अस्पतालमा चिकित्सकहरुले श्रीमती कार्की पुगेलगत्तै मृत घोषणा गरे । 

 

के देखिएको छ सिसिटिभीमा ? 

कार्की निवासमा र वरपर राखिएका सिसिटिभी क्यामेराका भिडियो फुटेजहरुअनुसार भान्सा कोठामा कामदार विजय चौधरीले कार्कीपत्नी मुनालाई पिर्काले हानेको देखिएको छ । त्यसअघि उनी भान्सा कोठामा नै थिए । 

यो विहान १० बजेको घटना हो । मुना भान्सामा पसेपछि विजयले एक्कासी उनलाई आक्रमण गर्छन् । मुना विजयको आक्रमणमा परेर लड्छिन् । मुनालाई विजयले डोरीको सहयोगमा आक्रमण गरेका थिए । प्रहरी स्रोतका अनुसार विजय र मुनाबीच भान्सामा केही भनाभन भएको र विजय मुनाको वरपर घुमेको जस्तो पनि देखिन्छ । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार मुनालाई पछाडिबाट घाँटीमा डोरी बाँधेर विजयले लडाएका छन् । मुना भुइँमा लडेलगत्तै विजयले उनलाई पिर्काले हिर्काएका छन् । 

त्यति बेला मुनाले प्रतिकार गर्न खोजेकी थिइन् । तर, विजयका अगाडि उनको केही लागेन । मुनालाई रक्ताम्य हुनेगरि टाउकोमा पिर्काले प्रहार गरेपछि विजय त्यहाँबाट बाहिर निस्किन्छन् । 

त्यसको केही समयमा विजय फेरि भान्सा कोठामा पस्छन् । फेरि निस्किन्छन् । ओहोरदोहोरको यो क्रम केहीबेर चलिरहन्छ । 

विहान ११ बजेसम्म विजय भान्सा कोठामा बारम्बार जाने आउने गरेको सिसिटिभी फुटेजमा देखिएको छ । त्यसपछि उनलाई सिसिटिभी फुटेजमा देखिएको छैन । 

यसको अर्थ पूर्वसचिव कार्की घर फर्कनु केही मिनेटअगाडिसम्म विजयले आफ्ना गतिविधि देखाइरहेका थिए । तर, जब कार्की घर पुगेका थिए, त्यति बेला विजय झुन्डिइसकेका थिए ।

 

कार्की दम्पत्तीले छोराजस्तै माया गर्थे चौधरीलाई

पूर्वसचिव कार्की पहिले बानेश्वरमा बस्थे । अलिक फराकिलो ठाउँमा घर बनाउन भनेर नै दश वर्षअघि उनी त्यहाँ पुगेका थिए । 

उनका दुई छोरी र एक छोरा छन् । दुई छोरी उच्च शिक्षा अध्ययनका लागि अमेरिका र अष्ट्रेलियामा छन् भने १० वर्षका छोरा उनीहरुसँगै बस्थे । सोमबार घटना हुँदा कार्कीका १० वर्षीया छोरा स्कुल गइसकेका थिए ।

कार्कीले घरमा श्रीमतीलाई सहज होस् भनेर केही वर्षअघि दाङबाट चौधरीलाई सहयोगीका रुपमा घरमा ल्याएका थिए । उनको कामबाट उनीहरु सन्तुष्ट थिए, कार्कीले चौधरीलाई गाडी पनि सिकाइरहेका थिए ।

उनका छिमेकीहरुका अनुसार यो घरमा यसअघि कहिल्यै कल वा झगडा सुनिएको थिएन । सबै शान्त थियो । 

तर, सोमबारको घटनामा कार्कीका घरमा काम गर्ने विजयले आकस्मिक रुपमा यस्तो घटना गरेको हुनसक्ने आशंका प्रहरीको छ । प्रहरी अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले फरकधारसँगको सम्पर्कमा भने, ‘प्रारम्भिक रुपमा बुझ्दा चौधरीमाथि नै आशंका बढी छ किनकि उनले पनि आत्महत्या गरेका छन् ।’ प्रहरीले यसलाई लामो र नियोजित नभइ आकस्मिक रुपमा केही विषयमा चित्त नबुझ्दा भएको घटना हुनसक्ने अनुमान गरेको छ । 

यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

 

काठमाडौंको अर्को हाइप्रोफाइल हत्या घटनाः अहिलेसम्म रहस्यमयी

गत वर्षको ८ भदौ सोमबार विहान बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका पूर्वराजदूत ८० वर्षका केशवराज झाको मृत शरिर भेटिएको थियो । झा सन् १९९३ देखि १९९७ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । उनले परराष्ट्रमा ३४ वर्ष जागिरे जीवन बिताएका थिए ।

विहान लामो समयसम्म झाको कोठाको ढोका नखुलेपछि श्रीमती र घरमा काम गर्ने व्यक्ति झाको कोठामा ढकढक गर्न पुगे । तर, झाले भित्रबाट ढोका खोलेनन् । नखुलेपछि उनीहरुले छेउको झ्यालमा पुगेर हेरे । आइतबार राती अबेरसम्म झा टिभी हेरेर बसेका थिए । उनी सुतेको कोठाका दुवै कोठा बाहिरबाट चुकुल लगाइएको थियो ।

झ्यालबाट हेर्दा झा ओछ्यानमा नै चलमल नगरी बसेको देखेपछि उनीहरुले प्रहरीलाई फोन गरे । प्रहरी आठ बजे झाको घरमा पुग्यो । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि भन्यो– झाको हत्या भएको बलियो प्रमाण भेटियो । त्यो प्रमाण हो– झाको घाँटीमा र टाउकोमा चोट लागेको थियो । उनको ओछ्यानमा झाको छातीमा घरको भान्सामा प्रयोग भएको चक्कु पनि भेटियो । दिउँसो ३ बजेसम्म प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्यो । अनुसन्धानका लागि प्रहरीले घरमा काम गर्ने दुई माली र भान्सेलाई पक्राउ गर्‍याे  ।

तर, यसबारे अहिलेसम्म अनुसन्धान सकिएको छैन । 
 

  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार २३:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया