काठमाडौं– गुजरात कांग्रेसका नेता तथा पाटिदार आरक्षण आन्दोलनका अगुवा हार्दिक पटेल १८ जनवरीदेखि बेपत्ता छन् । त्यो दिनदेखि उनको कुनै सूचना नआएको उनकी पत्नी किन्जलले सोमबार दाबी गरेकी छिन् ।
उनलाई १८ जनवरीमा राजद्रोहको मुद्दामा प्रहरीले गिरफ्तार गरेको थियो ।
पटेललाई मुद्दाको सुनुवाईमा हाजिर नभएकाले अदालतले पक्राउ वारेन्ट जारी गरेको थियो । उनी सन् २०१५ मा पाटिदार आरक्षण आन्दोलनमा भएको एक घटनामा संलग्न भएको भन्दै राजद्रोहको मुद्दा लगाइएको थियो ।
उनलाई त्यतिबेला हिरासतमा लिइएपछि चार दिनपछि जमानत दिइएको थियो । तर, पटेल त्यहाँको एक अदालतमा उपस्थित हुनुपर्नेमा उपस्थित नभएपछि फेरि पक्राउ उजुरी दिइएको थियो । पछि २४ जनवरीमा पनि ती मुद्दामा उनले जमानत पाएका थिए । तर, फेरि सात फ्रेबुअरीमा उनी अदालतमा उपस्थित नभएपछि जमानती वारेन्ट जारी गरिएको थियो ।
उनका वकिलले उनी अर्को अदालतमा अर्को एउटा मुद्दामा रहेकाले आउन नसकेको जानकारी दिएका थिए । अहिले भारतमा हार्दिकविरुद्ध २० भन्दा बढी मुद्दाहरु लगाइएको छ । यी सबै मुद्दा सन् २०१५ मा उनले नेतृत्व गरेको पाटिदार संरक्षण आन्दोलनसँग सम्बन्धित छन् ।
तर, सोमबार भएको पाटिदार आरक्षणका नेताहरुको भेलामा उनकी पत्नी किन्जलले १८ जनवरीमा उनलाई गिरफ्तार गरिएपछि उनी बेखबर रहेको तर प्रहरीले बारम्बार घरमा आएर उनी कहाँ छन् भन्दै सोध्ने गरेको बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।