Thu, 27 Feb, 2020


दिलले होइन, दिमागले गर्छ प्रेम !
फरकधार / फागुन २, २०७६

प्रेम दिलले गर्छ कि दिमागले ? कसैले झ्वाट्ट सोध्यो भने हामी पक्कै भन्छौँ– दिलले । हामीले पढे/देखेका सबैजसो साहित्य, नाटक तथा सिनेमाका कथाले यही भन्छन्– माया मुटुमा हुन्छ, यो मनको अनुभूति हो । 



पहिलो नजरमा हुने प्रेमलाई त झन् पूरापूर मनकै करामत मान्छौँ हामी, जसमा दिमागको कुनै जोर चल्दैन । 

तर, हलैको एक अनुसन्धानले हाम्रो बुझाइलाई गलत देखाइदिएको छ । अनुसन्धानका अनुसार, कसैलाई देख्नेबित्तिकै हाम्रो दिमागमा केही त्यस्ता केमिकल उत्पन्न हुन्छन्, जसले गर्दा हामी प्रेममा पर्छाैं । 

यसलाई यसरी पनि भन्न सकिन्छ, यदि कसैलाई भेटेको पहिलो हेराइमै हामीलाई त्यो मान्छे मन पर्छ भने उसलाई हाम्रो हृदयले होइन, दिमागले मन पराएको हो । ऊसँग हाम्रो प्रेम दिमागले गरेको हो, हृदयले होइन । अझ भन्नुपर्दा, प्रेमको सुरुवात मनबाट होइन, दिमागबाट हुन्छ । 

न्युयोर्कस्थित सिराक्युज विश्वविद्यालयको मनोविज्ञान विभागले गरेको अनुसन्धानमा पाइएको छ कि, कसैसँग प्रेम हुँदा हाम्रो भावना र मुड मात्रै परिवर्तन हुँदैन, हाम्रो दिमागका केही विशेष स्थानसमेत सक्रिय हुन्छन् । 

मान्छे प्रेममा हुँदा उसको दिमागलाई उत्साहित बनाउन डोपामिन, एड्रिनलिन र भ्यासोप्रेसिनसहित १२ प्रकारका हर्माेन रिलिज हुन्छन्, र, यी सामान्य अवस्थामा भन्दा निकै ज्यादा मात्रामा रिलिज हुन्छन् । यसैकारण, प्रेममा हुने व्यक्तिलाई सबै कुरा राम्रो र नौलौ लाग्छ, मान्छेले आफूलाई ऊर्जावान् महसुस गर्छ र कसैका नराम्रा बानी छन् भने तिनलाई सुधारेर ऊ राम्रो मान्छे बन्ने प्रयत्न गर्छ । त्यसैले त प्रेममा परेका मान्छे सबैसँग राम्रो व्यवहार गर्न थाल्छन् !

अनुसन्धानले प्रेम जसलाई, जहिले, जहाँ, जोसँग पनि हुन सक्ने देखाएको छ । मान्छेलाई कसैसँग ०.२ सेकेन्ड भित्रै प्रेम हुन सक्ने तथ्य अनुसन्धानले प्रस्तुत गरेको छ । 

प्रेम दिमागबाट हुने भए पनि यसमा हृदयको भूमिकालाई नकार्न भने सकिँदैन । सबै प्रक्रिया दिमागको नियन्त्रणमा हुन्छ, किनकि मान्छेलाई उत्साहित बनाउन सहयोग गर्ने हर्मोन उत्पन्न गराउन दिमाग नै जिम्मेवार रहन्छ । 

मान्छेलाई प्रेम हुँदा उसको शरीरमा उत्पन्न हुने हर्मोनहरु नियमित व्यवहारमा भन्दा बेग्लै तरिकाले उत्पन्न हुन्छन्, र बेग्लै तरिकाले नै काम गर्छन् । 

उदाहरणका लागि, एड्रिनलिन सामान्यतया कुनै समस्याका कारण उत्पन्न हुने तनावको प्रतिक्रियास्वरुप उत्पन्न हुने हर्माेन हो । तर, जब कसैलाई प्रेम हुन्छ, तब यो हर्मोन सक्रिय हुन्छ । यसैका कारण हो, कुनै प्रेमीमा आफ्नो प्रेमीको अगाडि पर्दा एकाएक परिवर्तन आउने– कहिले मुटुको धड्कन छिटोछिटो चल्ने, कहिले शरीरबाट पसिना आउने, कहिले ओठ सुक्न सुरु हुने । यस्तो अवस्थामा मानिस एड्रिनलिनका कारण अनियन्त्रित भएको ढुकढुकीको दोष हृदयलाई दिन्छन् । 

प्रेममा परेको मान्छेमा ‘तिमीलाई भेट्न मन लाग्छ’ खालको राग वास्तवमा उसको हृदयले बजाएको होइन, डोपामाइन हर्माेनले बजाएको हो । बाँकी हर्मोनजस्तै यो पनि मस्तिष्कको नियन्त्रणमा हुन्छ, र मुटु भने त्यस समय पनि आफ्नो रगत पम्म गर्ने काममै व्यस्त हुन्छ । 

प्रेमसँग जोडिएका हरेक इच्छा र आकांक्षामा कुनै न कुनै हर्माेन जिम्मेवार हुन्छ । जस्तै, आफूले माया गरेको मान्छको हेरचाह गर्ने इच्छा अक्सिटोसिनले र जीवनभर सँगै हुने इच्छा भ्यासोप्रेसिनले उत्पन्न गर्छ । 

बायोकेमिस्ट्रीका अनुसार, प्रेममा परेपछि धेरै प्रकारका हर्मोन दिमागमा उत्पन्न हुन्छन्, जसले दिमागलाई धेरै सक्रिय बनाउँछ । यो पनि मानिन्छ कि, दुवै कुरा एक–आपसमा निर्भर हुन्छन्– प्रेममा परेपछि नै यी तत्वहरु सक्रिया हुन्छन्, र यी तत्वहरु सक्रिय हुँदै जाँदा प्रेम बढिरहन्छ । त्यसकारण, कसैसँग सधैँ राम्रो प्रेम सम्बन्धमा हुनका लागि मान्छेको दिमाग स्थिर भइरहन अत्यावश्वक छ । 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्