कविताको कथाः मान्छेलाई प्रेम गर्न ‘सम्बोधन’

अर्काइभबाट

विसं २०५७ बाट काठमाडौं बस्न थालेपछि कवि राबतले धेरै कुरा नजिकबाट नियाल्ने मौका पाए । संसारमा मान्छे–मान्छेबीचमा भएको विभेदले उनको मुटुलाई चिथोरिरहेको थियो । ठाउँठाउँमा भएका हत्या–हिंसाका घटनाले उनलाई पिरोलिरहन्थ्यो । यस्ता कुराबाट उनी भित्रभित्रै दुखिरहन्थे ।

लामो समयदेखि उनको मनमा धेरै कुरा गडेका थिए । २०६२/६३ सालमा भएको जनआन्दोलनको सम्झना उनको मनमा उस्तै थियो । तेस्रो विश्वयुद्ध हुने हल्ला सबैतिर फैलिइरहेको थियो । त्यसले झन् मुटुमा पीडाको भेल ल्याएको थियो । बाल्यकालमा आफू बसेका विभिन्न ठाउँमा देखेका चित्र मनमा यथावत् नै थिए । धर्मको आडमा मान्छे-मान्छेबीच युद्ध भइरहेको थियो । त्यसले पनि उनलाई पिरोलिरहेको थियो ।

पुख्र्यौली घर नुवाकोट भए पनि उनी बर्दियामा जन्मिए । बाल्यकालको केही समय बर्दियामा बिताए । त्यसपछि केही वर्ष कपिलवस्तुमा बसे । मुलुकका विभिन्न ठाउँमा बस्ने क्रममा उनले त्यहाँको समाज पनि देखे÷बुझे । त्यहाँका मान्छेको आनीबानी बुझे । समग्रमा, उनले आफ्नो माटोको कथा बुझ्न पाए, देशको यथार्थ देख्न पाए ।

नेपाली युवा रोजगारीका लागि बाहिरिने लहर व्यापक रूपमा चलेको थियो । राजधानीमा रहेका बेला उनले त्यो कुरा महसुस गरिरहेका थिए । देशको अवस्थालाई आफ्नै सामुन्ने नियालिरहेका थिए । आफ्नो देशको दुःखलाई बिदेसिनेको यथार्थसँग तुलना गरिरहन्थे उनी । 

राबत शब्दमा रमाउने मान्छे । कवितामा रमाउने मान्छे । अरूलाई जस्तै पीडा उनलाई पनि हुन्थ्यो । तर, अरूभन्दा फरक तरिकाले उनी दुख्थे । फरक तरिकाले आफ्नो मुटुलाई सम्हाल्थे । पीडा प्रस्तुत गर्न शब्दको सहारामा लिनु उनको विशेषता थियो । 



‘मान्छेले मरेर के नै पो लान्छ र ?’ पृथ्वीलाई तहसनहस गर्ने गरी विभिन्न काम भइरहेको समयमा उनी त्यो कुरा अनुभूत गरेको सम्झिन्छन् । धेरे पहिलादेखि मनमा गढेका ती विषय सम्हाल्दै संगृहीत गरिरहेका थिए, समय आएपछि सबैलाई एकैपटक प्रस्तुत गर्ने ध्येयका साथ । 

ठीक त्यही समयमा अमेरिकामा जन्मिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले कविता प्रतियोगिता गर्ने सूचना आयो । २०६८ सालमा उनले आफ्नो मनमा गडेर रहेका भावनालाई मूर्त रूप दिँदै कवितामा उतारेर त्यहाँ पठाए । उनको कविता प्रथम पनि भयो ।



कविता प्रथम हुनुमा मात्र सीमित रहेन । राबतको नामको पर्याय बनेर कविता फैलियो । कविताले स्थापित गरायो राबतलाई । 

उनी भन्छन्, ‘पाठकले नेपालमा भएको प्रेमी÷प्रेमिकाले बिदेसिएको प्रेमी÷प्रेमिकालाई सम्झिएर लेखेको मात्र बुझेको जस्तो लाग्छ । तर, मैले त्यो पक्षबाट मात्र लेखेको थिइनँ ।’

२०६८ सालमा कविता सिर्जना गरे पनि मनको अचेतन च्याम्बरमा पहिल्यैदेखि हत्या-हिंसाजस्ता विषय बिझेर बसेको सम्झिन्छन् । उनी भन्छन्, ‘मान्छेलाई हत्या–हिसांबाट बाहिर निस्किएर प्रेममा बाँध्ने सम्बोधन गरी कविता लेखें ।’ 

राबतले सगरमाथाको चुचुरोमा बसेर सबैलाई एक हुन कविताबाट सम्बोधन गरेका छन् । कविता लेख्नुको पछाडिको कारण खोतल्दै संसारमा मान्छे–मान्छेबीच प्रेम हुनुपर्छ भन्ने भावमा कविता सिर्जना गरेको बताउँछन् उनी । ‘पृथ्वीप्रेम’को नाम दिन्छन् पृथ्वीमा भएका मान्छेबीचको प्रेमलाई । हरेक मानिसले अर्को मानिसलाई परस्परमा प्रेम गर्नुपर्छ भन्ने भावमा कविताको सिर्जना भएको उनी सगर्व सुनाउँछन् । 

नेपाली भूगोलको कुरालाई शब्दमा उतार्दै उनले ‘म समुद्र नदेखेको मान्छे’, ‘रकेट नदेखेको मान्छे’ जस्ता बिम्ब प्रयोग गरेका छन् । समग्रमा कवितामा देशप्रेम, बिदेसिनुको पीडा, विभिन्न आविष्कारले निम्त्याइरहेको डरजस्ता विषय समेट्न खोजेको उनी बताउँछन् ।

‘विश्वले विभिन्न आविष्कार गरेर संसारलाई नै भयभित बनाएको थियो त्यो समय । विकासले संसारलाई विनाशको मार्गमा डोर्याइरहेको थियो त्यो बेला,’ उनी भन्छन्, ‘मैले त्यो समयलाई कवितामा प्रस्तुत गर्ने प्रयास गरें ।’

‘मान्छेले दुःखलाई नै बुझ्दै जानुपर्ने रहेछ,’ उनी भन्छन्, ‘आफ्नो देशमा अथवा विश्वमा भएको दुःखलाई बुझ्दै गएपछि कविता सिर्जना भयो ।’ आफ्नै परिवेशले असर गरेपछि कविता सिर्जना गर्न सकेको उनी बताउँछन् ।

‘सामान्य मान्छेले देखेर पनि बेवास्ता गर्न सक्ने विषयलाई कवि हृदय भएकाले बेवास्ता गर्न सक्दैन रहेछ,’ आफूले देखेका पीडाका दृश्यबाट प्रभावित भएको कुरा सम्झिँदै उनी भन्छन्, ‘मैले देखेको दुःखलाई कल्पना गरेर अरूको दुःख बुझ्ने प्रयास गरेको छु कवितामा ।’

 

सम्बोधन

 

जसरी
छोडेर गएका थियौ
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो, त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
मेरो पत्र बोकी जाने विमान
हराइजाला धमिलो आकाशमा
मलाई छोएर जाने हावाहरू
थुनिएलान् नयाँ ग्यासच्याम्बरमा

म समुद्र नदेखेको मान्छे
त्यता कतै
बालकको हातमा
कागजको जहाज देख्यौ भने
सम्झनू
पत्र सकुशल तिम्रो हातमा पर्यो र
त्यता कोही
रोइहाल्यो भने मान्छेको मायाले
सम्झनू
त्यो आँसुको केही हिस्सा मेरो हो

त्यता कतै
आकाशमा चरा नाचेको देख्यौ भने
सम्झनू
म बिलकुल सन्चो छु ।

जसरी
छोडेर गएका थियौ
हाँस्दाहाँस्दैको आधा मुस्कान
देख्दादेख्दैको आधा सपना
गाउँगाउँदैको आधा गीत

हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
मेरो प्रार्थना
बोकी जाने ईश्वरहरू
आत्मघाती दंगामा पर्लान्
मैले पुज्दै गरेका ढुंगाहरू
कुनै निधारको भागीदार बन्लान्
म ईश्वर नदेखेको मान्छे
त्यता कतै
भोकाको हातमा
रोटी देखिहाल्यौ भने
सम्झनू
मेरा ईश्वर खुसी छन्

जसरी
छोडेर गएका थियौ
झोलुंगोमा निदाइरहेको बच्चा
आधा मात्र उघ्रिएको हिमाल
हिँड्दाहिँड्दैको आधा बाटो

हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।

सायद
यो आविष्कारको युगले
सात फन्को मारेर ब्रह्माण्ड
घोषणा गरिदेला रोबोटहरूको साम्राज्य
मेटाइदेला हरेक छातीबाट
पानको पातजस्तो मुटु हुनुको निशानी

म रकेट नदेखेको मान्छे
त्यता कतै धुलोमा
औंलाले
पृथ्वीको चित्र कोरिरहेको देख्यौ भने
सम्झनू
त्यही भूगोलको
सबभन्दा अग्लो चुचुरोमा बसेर
तिमीले छोडेको
बाँकी काम गरिरहेछु । 

 

  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार ९:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया