याेगेश्वर अमात्यकाे भ्यालेन्टाइन्स अनुभव: ‘रुपमा ठगिएँ, तर प्रेम प्रस्ताव त आए’

आज १४ फ्रेबुअरी । विश्वभर प्रेमीप्रेमिकाहरुले यो दिनलाई विशेष दिनका रुपमा लिन्छन् । पछिल्ला वर्षहरुमा नेपालमा पनि यो दिनलाई विशेष उत्सव मनाउने चलन सुरु भइसकेको छ । बरु यही दिनको छेको पारेर केही वर्ष यता त नेपालमा पनि भ्यालेन्टाइन विक मनाउन थालिएको छ । किस डे, हग डे, रोज डेदेखि लिएर अनेक नाम दिएर एक साताभर प्रेमीप्रेमिकाले एकअर्कालाई विशेष महसुस गराउने यो दिनमा हामीले गायक योगेश्वर अमात्यसँग कुराकानी गर्ने निधो ग¥यौँ ।

विहान फोन गर्दा अमात्य घरमा नै थिए । केहीबेर कुराकानी गरेपछि योगेश्वरले भने– आज घरमा केही पाहुना आउँदै छन्, अघि गुलाबको फूल किनौँ भनेर गएको, रातो गुलाब मात्र भेटियो । 

अनि उनी हाँसे । र, थपे, ‘आज त मलाई गुलाबले नै पनि ठग्यो ।’

आखिर गुलाबले कसरी ठग्यो त योगेश्वरलाई ? यो कुरामा अलिक पछि जाऔँला । पहिले योगेश्वर अमात्य र गुलाबको प्रसंगमा जाऔँ । 

योगेश्वर अमात्यको प्रेमसँग जति लगाव र प्रेमबारे जति गहन बुझाई छ, त्यहाँभन्दा बढी उनको गुलाबसँग प्रेम छ । यसको प्रसंग अलिक पहिलेको हो । सरकारले नयाँ गुठी विधेयक संसदमा प्रस्तुत गर्यो । काठमाडौंमा यसको व्यापक विरोध भयो । विरोध प्रदर्शन माइतीघर मन्डलामा सुरु भयो । त्यही विरोध प्रदर्शनमा पनि अमात्य निकै सक्रियताका साथ लागे । त्यति बेला त उनले क्यापेन आफैं पनि बनाएका थिए, सामाजिक सन्जालमा आफैं लेखेका थिए– विरोध प्रदर्शनमा जाऔँ । 

विरोध प्रदर्शनमा पुगेका योगेश्वर मध्यदिनमा एकाएक समाचारका हेडलाइन आए । उनले विरोध प्रदर्शनमा प्रदर्शनकारीलाई तितरवितर पार्न उभिएका प्रहरीलाई गएर गुलाब दिएका थिए । उनको यही क्षण भिडियोमा कैद भयो । अनि सबैले लेख्न थाले– वाह ! क्या गरे योगेश्वर अमात्यले, प्रहरीलाई दिए गुलाब !



योगेश्वर अमात्यले प्रहरीलाई जुन दिन गुलाब दिएका थिए, त्यसको अघिल्लो दिनमात्र गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा प्रयोग गरेर तितरवितर बनाएको थियो । 

प्रहरी रुष्ट देखिएको त्यो आन्दोलनमा जसै योगेश्वरले गुलाब बाँडे, उनी सबैको नजरमा परिहाले । 



त्यति बेला रेड रोजले निकै ठूलो भूमिका खेलेको थियो, योगेश्वरलाई चर्चामा ल्याउन ।

अब फर्किऔँ, १४ फ्रेबुअरी अर्थात् आज उनी कसरी ठगिए त गुलाबबाट भन्ने प्रसंगमा । 

‘आज घरमा पाहुना आउने भएकाले फूल किन्न गएको थिएँ,’ योगेश्वरले भने, ‘आज त रातो गुलाबको मूल्यभन्दा अरु गुलाबको मूल्य त निकै महंगो रहेछ । अनि यो गुलाबले ममाथि ठगेको होइन त ?’ यसलाई उनले गुलाफले आफूलाई धोका दिएको प्रसंगका रुपमा बुझेका छन् । 

त्यसो त गुलाबको फूलसँग योगेश्वको सामिप्यता भएको आज होइन । उनले केही वर्षअघि रातो गुलाब आफ्नी श्रीमतीलाई दिने गरेका थिए, भ्यालेन्टाइन्स डेको अवसर पारेर । ‘अब अहिले त त्यस्तो गर्न छोडेँ,’ योगेश्वरले भने, ‘वातावरणको वा आफू वरपरका क्रियाकलापले त्यस्तो हुँदो रहेछ । त्यति बेला सबैले दिने गरेका थिए, मैले पनि श्रीमतीलाई गुलाब दिएँ, भ्यालेन्टाइन्स डेको दिन विस गरेँ ।’

तर, उनले बुझेका छन्, माया गर्नका लागि यही दिन कुर्न पर्छ भन्ने छैन । त्यसैले आजभोलि उनी जतिबेला आफ्नी श्रीमतीलाई माया गरिरहेका हुन्छन्, यही दिन गुलाब दिएर वा विस गरेर नै आफ्नो माया दर्शाउन पर्छ भन्नेमा उनी छैनन् । 

‘हामीलाई खासमा वरपरको वातावरणले पनि असर गर्दो रहेछ,’ योगेश्वरले भने, ‘अब एउटा राजाको छोरा जन्मने वित्तिकै लगेर माझीको घरमा राखिदिने हो भने ऊ पछि महसुर पौडीबाज हुनसक्छ, एउटा माझीको छोरालाई ल्याएर जन्मिनेवित्तिकै दरबारमा राखिदिने हो भने ऊ पछि राजा हुन पनि सक्षम हुन्छ । यो त आखिर वातावरणले नै असर गर्ने कुरा रहेछ । त्यही भएर केही पहिलेसम्म मैले पनि भ्यालेन्टाइन्स डेलाई निकै प्राथमिकता दिएको थिएँ । तर, आजभोलि मेरो बुद्धि फिरेको छ, माया गर्नका लागि यही दिन कुर्नुपर्छ भन्ने मान्यतामा हुन मैले छोडिसकेँ ।’

भ्यालेन्टाइन्सलाई प्राथमिकता नदिए पनि योगेश्वरले प्रेम भन्ने कुरालाई मन देखि बुझेका छन् । त्यसैले उनले प्रेमलाई एक शब्दमा परिभाषा दिन पनि सक्छन् । उनी भन्छन्, ‘प्रेम भनेको दिनु हो ।’

‘दिनु । सकियो,’ उनले भने, ‘प्रेमलाई परिभाषित गर्न यही एउटा शब्द काफी छ । त्यसपछि अरु कुराहरु यहाँबाट नै आउँछन् ।’ जे छ, त्यो दिनुलाई नै योगेश्वर प्रेम मान्छन् । 

‘समय दिनु प्रेम हो ।’

‘साथ दिनु प्रेम हो ।’

‘माया दिनु प्रेम हो ।’

‘बल दिनु प्रेम हो ।’

‘मन दिनु प्रेम हो ।’

‘तन दिनु प्रेम हो ।’

तर, यो सबै दिनुमा कुनै स्वार्थ जोडिएको हुनु हुँदैन भन्ने योगेश्वरलाई लाग्छ । ‘जब सर्तसहित केही दिइन्छ, त्यो प्रेम हुनै सक्दैन,’ योगेश्वरले भने, ‘प्रेममा त कुनै सर्त हुनु हुँदैन, कुनै वाचा र चाहना हुनुहुँदैन ।’

त्यही भएर योगेश्वरले आजभोलि जसलाई पनि भन्ने गरेका छन्, ‘त्यो जाबो कार्ड दिन कि १४ फ्रेबुअरी नै कुर्नु पर्‍यो, माया भन्ने कुरा त जहिले दिए पनि भयो नि !’

के यसको अर्थ योगेश्वरले त्यो बेला युवतीहरुलाई निकै कार्ड दिए त ? निकै गुलाबको फूल दिए त ? कि योगेश्वरलाई युवतीहरुले पछ्याएर हैरान बनाए ? 

‘हाहा,’ योगेश्वर हाँसे, ‘म त रुपमा ठगिएको मान्छे, तर यसको अर्थ प्रस्ताव नै आएनन् भन्ने होइन । पहिले तन्नेरी हुँदा गाउँ वरपरका युवतीहरुले प्रस्ताव त गरेका थिए, मैले पनि केहीलाई गरेको थिएँ ।’

योगेश्वर अमात्यले पनि केही युवतीहरुलाई प्रेम प्रस्ताव राखे । तर, उनले राख्ने प्रेम प्रस्ताव अरुले राख्ने भन्दा फरक हुने गरेका थिए । ‘म त कविता लेखेर दिन्थेँ,’ योगेश्वरले भने, ‘अहिले त ती कविताहरु मसँग छैनन् तर श्रीमतीले मागौँ न भन्छिन् ।’ 

प्रेम प्रस्तावस्वरुप अरुलाई दिएका कविता मागेर कलेक्सन गर्न चाहन्छिन् योगेश्वरकी श्रीमती । तर, उनलाई त्यो कुरा ठिक लाग्दैन । 

‘कसैलाई दिएको कुरा पनि माग्छन् र ?’ योगेश्वरले प्रश्न गरे, ‘दिएको कुरा फेरि फिर्ता माग्ने हो भने त त्यो प्रेम नै भएन नि !’ 

  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १२:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया