काभ्रेपलाञ्चोकलाई ‘साक्षर’ जिल्ला घोषणाको तयारी

काभ्रे– काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घाेषणा हुने भएको छ । जिल्लाका ६ नगरपालिका र सात गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नपा विसं ०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा भएकाे थियाे । स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरेअनुसार चौँरीदेउराली गाउँपालिकाले बिहीबार साक्षर पालिका घोषणा गरेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला घोषणाको तयारी गरिरहेको छ ।

समितिका संयोजक उद्धव केसीले यही फागुन ७ गते ‘साक्षर जिल्ला’ घोषणाको तयारी तीव्र रुपमा भइरहेको बताए । समितिका अनुसार जिल्लाका १५ देखि ६० उमेर समूहका ९६ दशमलव ४८ प्रतिशत जनसंख्या साक्षर भएका हुन् । जसमध्ये एक लाख ९६ हजार १ सय ७४ पुरुष र एक लाख ७७ हजार ५ सय ५४ महिला साक्षर भएका हुन् । विसं ०६८ को जनगणनाअनुसार जिल्लामा तीन लाख ७३ हजार ७ सय २८ जनसंख्या रहेको छ ।

जनगणनाअनुसार तत्कालीन अवस्थामा दुई लाख ९२ हजार १ सय ७९ जनसंख्या साक्षर भएकामा तत्पश्चातका वर्षमा निरक्षर जनसंख्याका लागि सञ्चालन भएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष २०७६/७७ सम्म तीन लाख ६० हजार ५ सय ६० जनसंख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए । उनका अनुसार जिल्लाका १३ वटै स्थानीय तहले बाँकी रहेका तथा अभियानका क्रममा साक्षर हुन छुट निरक्षर जनसंख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर नगर/गाउँपालिका घोषणा गरेका हुन् ।

समितिको तथ्यांकअनुसार जिल्लाको मण्डन देउपुर नपाका ९५ दशमलव २७, धुलिखेलका ९८ दशमलव ०७, बनेपा नपाका ९७ दशमलव ०७, पनौती नपाका ९५ दशमलव ०५, नमोबुद्ध नपाका ९६ दशमलव ४०, पाँचखाल नपाका ९८ दशमलव ९८ तथा खानीखोला गाउँपालिकाका ९६ दशमलव ७१, तेमालका ९५ दशमलव ९७, भुम्लुका ९५ दशमलव ०५, बेथानचोकका ९५ दशमलव ८१, महाभारतका ९७ दशमलव ९८, रोशीका ९८ दशमलव ९८ र चौँरीदेउराली गाउँपालिकाका ९६ दशमलव ८३ जनसंख्या साक्षर भएका हुन् ।

१५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर जिल्ला घोषण गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानुनबमोजिम जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । 'जिल्लामा साक्षरता अभियानलाई निरन्तरता दिँदै जानेछौँ, यो अभियान पनि सरकारी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सफल भएको हो,' उनले भने । यसअघि मुलुकका ५१ जिल्ला साक्षर घोषणा गरिसकिएका छन् ।

विभिन्न दस्तावेजमा जनाइएअनुसार नेपालमा विसं २००४ मा आधार शिक्षाको थालनीसँगै लेख्य साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो । विसं २००८ पछि भने आमजनसंख्यालाई साक्षर बनाउने अभियानको थालनीसँगै ‘नेपालमा शिक्षा प्रतिवेदन–२०११’ले प्रौढ साक्षरता कार्यक्रमलाई जोड दिन सिफारिस गरेपछि विसं ०१३ देखि योजनाबद्ध रूपमा अघि बढाइएको हो ।



साक्षरता शिक्षालाई जीवनपद्धतिसँग आबद्ध गर्न विसं ०२२ देखि कार्यमूलक साक्षरतालाई समावेशपछि विसं ०२८को राष्ट्रिय शिक्षा पद्धति योजनाको मध्यावधि मूल्यांकनपछि साक्षरता कार्यक्रमलाई अझ व्यापक बनाइँदै ल्याइएको छ ।



  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १६:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया