उपप्रधान तथा रक्षामन्त्री पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने

काठमाडाै‌ं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन् ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछन्  । 

उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् । काठमाडौंबाट आज बिहान उड्ने सेनाको हेलिकाेप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउनेछ ।
    
भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ ।

उपप्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मंसिर १७ गते दार्चुला पुगेका थिए ।

आज ब्यारेक निरीक्षण र दार्चुला महोत्सवको उद्घाटन गरेपछि बेलुकी दार्चुलामै बस्ने कार्यक्रम छ । आज अपराह्न ४ बजे कार्यालय प्रमुखसँग उपप्रधानमन्त्री पोखरेलको छलफल कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।  

यसैगरी उनले जिल्लास्थित कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । दार्चुला विकास संगठनस्थित हलमा कार्यकर्ता भेटघाटका लागि समय मिलाइएको छ ।



त्यसपछि हेलिकाेप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेल व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता  बढाइएको छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो । दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिंकर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ । 

अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ । महोत्सवको अवसर पारेर उनले नेपाली सेनाको व्यारेक र कालापानी क्षेत्रमा हेलिकाेप्टरमार्फत अवलोकन गर्ने भएका छन् । 



उनको जिल्लाको भ्रमणको क्रममा दार्चुला तिंकर सडकलाई नेपाली सेनामार्फत बनाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । उद्योग वाणिज्य संघले चोथौपटक जिल्लामा महोत्सव गर्न लागेको हो ।

  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १५:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया