के महराका लागि संसद् प्रवेशको बाटो खुलेको हो ?

काठमाडौं– यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा गरेका कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका छन् । उनी सांसद पदबाट निलम्बित हुने कि नहुने भन्ने विषयको भने अझै टुंगो लागेको छैन । 
 
प्रतिनिधिसभा नियमावली २०७४ को नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियमको उपनियम ३ मा ‘संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धित वाक्यांशबमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा, वा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुपर्पक्षका लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कामकारबाही गर्न वा अधिकार वा कुनै उन्मुक्ति प्राप्त हुने छैन । त्यस्तो अवधिभर निजको पारिश्रिमक सेवा र सुविधा स्थगित हुने’ उल्लेख छ ।

सभामुख पदबाट राजीनामा दिएका महराको उक्त उपनियमअनुसार सांसद पद निलम्बन नभए पनि उनले पारिश्रमिक र अधिकार भने कटौती हुनेछ । संसदको पूर्ण बैठकले जेठ २४ गते शुक्रबार निलम्बन भन्ने शब्दलाई राख्दै नराखी बहुमतले नियमावली पारित गरेको थियो । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमै फौजदारी अभियोग लागेको व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा सांसद पद निलम्बन नहुने व्यवस्थासहितको नियमावली पारित गरेको थियो । 

नियमावलीको नियम २४४ को उपनियम ४ मा ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्वन भएको मानिने’ उल्लेख छ । 

यसकारण महरा प्रकरणमा यदि उनलाई अदालतको अन्तिम फैसलाले दोषी ठहर गरेमा मात्रै उनको सांसद पद निलम्बन हुने कानुनी प्रावधान छ । 

जिल्ला अदालतले सफाइ दिएपछि सो मुद्दाको वादी अर्थात्  सरकारका लागि उच्च अदालत जाने बाटो खुला छ । सोका लागि सरकारलाई ७० दिनको म्याद रहन्छ । त्यसकारण जिल्ला अदालतले सफाइ दिए पनि महरा आगामी ७० दिनसम्म संसदमा देखिने छैनन् । 



७० दिनभित्र सरकारले सर्वोच्चमा मुद्दा दायर गरेको खण्डमा र अदालतले गर्ने निर्णय नै अन्तिम हुनेछ । र त्यसैअनुसार महराको संसदीय राजनीतिको भविष्य टुंगो लाग्नेछ ।




  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १५:२३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया