जेठ तेस्रो साता भृकुटीमण्डपमा 'आन्तरिक पर्यटन मेला'

काठमाडौं– ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले काठमाडौंको भृकुटीमण्डपमा दोस्रो ‘आन्तरिक पर्यटन मेला’ सञ्चालन गर्दै छ । डोमेस्टिक टुरिजम मार्ट (डिटिएम) २०२० नाम दिइएको मेला आगामी जेठ १६ र १७ गते (मे २९ र ३०) दुई दिन चल्नेछ । 

यसअघि फागुन ९ र १० गतेका लागि आयोजना गरिएको मेला मध्य जेठका लागि सारिएको हो । ‘कोरोना भाइरसले पर्यटन क्षेत्रमा निम्त्याएको विषम परिस्थितिका कारण’ मेला सारिएको आयोजकले बताएको छ । आज नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी आयोजक गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले छिमेकी मुलुक चीनमा देखिएको कोरोना भाइरसको प्रकोप र त्यसले नेपाली पर्यटन क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै पर्यटन व्यवसायीहरुको आग्रहमा मेला सार्ने निर्णय लिएको बताए । 

यसबीचमा डिटिएमको तयारी अन्तिम चरणमा पुगिसकेको र हालसम्म ७३ वटा स्टल बुकिङ भइसकेको उनले जानकारी दिए । मेला सञ्चालनका सन्दर्भमा नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, नाथम, पर्यटकीय संघसंस्था, व्यावसायी र शुभेच्छुकहरुबाट प्राप्त सहयोगको निरन्तरतामा आयोजकले जोड दिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘एकै छानोबाट सिंगो देश चिनाउने अभियान’ भन्दै पहिलोपटक गत वैशाखमा मेला चलाएको गन्तव्य नेपालले मेलाको दोस्रो संस्करणलाई भिजिट नेपाल २०२० सँग जोडेको छ । 
आयोजकका अनुसार, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिनेछ । भृकुटीमण्डप प्रदर्शनी हल सहितको चौरमा मेला सञ्चानल हुनेछ ।

मेला मार्फत् नेपाल भ्रमण वर्ष सफल पार्न एकै थलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्दै पर्यटन व्यावसायीहरुमा सकारात्मक ऊर्जा प्रदान गर्ने आयोजकको उद्देश्य छ । 

सम्मेलनमा डिटिएम कार्यक्रम संयोजक माधवप्रकाश सुवेदीले यसअघि मेला सफल पार्न गठन गरिएका कमिटीहरु यथावत् रहने जानकारी दिए । उनका अनुसार, मेला सम्पन्न गर्न डिटिएम सल्लाहकार समिति, गुडविल एम्बेसडर, ब्रान्ड एम्बेसडर, डिटिएम प्रदेश संयोजन समिति, डिटिएम कानुनी सल्लाहकार समिति, प्रचारप्रसार समिति, डिटिएम मिडिया संयोजन समिति, डिटिएम अन्तर्राष्ट्रिय विभाग लगायतका समितिहरु गठन भएका छन् ।



पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा पर्यटन विज्ञ आङछिरिङ शेर्पाले कोरोना भाइरसले पर्यटन बजार तरंगीत भइरहेको अवस्थामा मेला सार्नु सान्दर्भिक रहेको भन्दै कोरोना भाइरस चिसो मौसममा लाग्ने भएकाले वैशाख–जेठसम्म त्यसको असर नरहने प्रक्षेपण गरे । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिन मेला सुरु गर्न लागिएको भन्दै उनले संशोधित मितिको सान्दर्भिकता प्रस्ट्याउन खोजे । 

टानका अध्यक्ष खुमबहादुर सुबेदीले डिटिएम पर्यटन क्षेत्रकै ठूलो मेला बन्ने भन्दै सुभेच्छा प्रकट गरे । 



आयोजकका अनुसार, मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामग्री, र्याफ्टिङ, बन्जी जम्प, जिप फ्लायर, केबल कार, टुरिजम शैक्षिक कलेज, पर्यटक यातायात, देश–विदेशको भ्रमण, आकाशबाट धर्ती हेर्ने प्याराग्लाइडिङ, काठमाडौं मोफसलका होटल तथा रेस्टुरेन्ट, ७ वटै प्रदेशको विभिन्न स्वादका परिकार, होमस्टे, सञ्चार लगायतको अवलोकन र प्याकेजको व्यवस्था छ । मेलामा राष्ट्रिय कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने तथा राष्ट्रिय पहिचान दिने झाँकीका साथ राष्ट्रिय ख्यातिप्राप्त कलाकारका प्रस्तुति रहनेछन् ।

  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १६:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया