चौथो निर्वाचन दिवस भव्य बनाउन निर्वाचन आयोगको तयारी

काठमाडौं– ‘स्वच्छ, स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र मितव्ययी निर्वाचन: शान्ति, स्थिरता,समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ ।

उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६/०७७–२०८०/०८१), निर्वाचन स्मारिका– २०७६ र निर्वाचन न्याय,स्रोत पुस्तिका– २०७६को लोकार्पण हुनेछ । विसं २०१५को संसदीय आमनिर्वाचन प्रारम्भ भएको  फागुन ७ को दिनलाई २०७३ सालदेखि निर्वाचन दिवसका रुपमा मनाउन सुरु गरिएको हो । उक्त निर्वाचन पहिलो बालिगमताधिकारका आधारमा भएको आम निर्वाचन थियो ।

निर्वाचन दिवसका अवसरमा आयोग र अन्तर्गत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन’ विषयमा फागुन ७ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिनेछ ।

निर्वाचन दिवसका अवसरमा आयोगले मंगलबार वृक्षारोपण तथा सरसफाइ, खेलकुद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदानका साथै  निर्वाचन तथा मतदाता शिक्षा हातेपुस्तिका प्रकाशित गर्ने जनाएको छ ।

नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अंगका रुपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त र अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था छ । आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया रहेका छन् ।

जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरू, जिल्ला सदरमुकामस्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र पत्रकारलगायतको उपस्थितिमा आयोगले ‘निर्वाचनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्नेछ । आयोगका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय छन् । यस वर्ष आयोगले स्थानीय तहका रिक्त पद र राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरेको थियो ।





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १७:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया