रक्षामन्त्रीद्वारा संसदमा ‘सैनिक (पहिलो संशोधन) विधेयक पेस

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेस गरेका छन् ।

उनले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने जानकारी दिए । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ पेस गरे ।

बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिअन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ बैठकमा पेस गरे ।

शोक प्रस्ताव पारित

बैठकले २०४८को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली कांग्रेस गुल्मीका प्रथम जिल्ला सभापति समेत रहेका उनको ७५ वर्षको उमेरमा अल्सर रोगबाट निधन भएको थियो । आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।

प्रतिनिधिसभाको आगामी बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्नेछ । 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १६:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया