माेस्ट वान्टेड पटेल प्रहरी कारवाहीमा घाइते

रौतहट — सर्वाधिक खोजीको सूची(मोस्ट वान्टेड)मा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेल मंगलबार राति प्रहरी कारबाहीमा गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर पटेल घाइते भएका हुन् । प्रहरीमाथि गोली प्रहार गरेपछि  जवाफी कारबाहीमा उनी घाइते भएका हुन् । 

मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे रौतहट प्रहरीको कारबाहीमा परी घाइते भएका हुन् । बारा प्रहरीले पटेलको पिछा गर्दै आएको थियो । उनी जंगलको बाटो गाउँ छिर्न लागेको सुराकी पाएपछि डीएसपी नवीन कार्की र हेमबहादुर शाहीसहितको टोली गौंडा कुरेर बसेको थियो ।

प्रहरी टोलीमाथि पेस्तोलबाट गोली प्रहार गरे पछि जवाफी कारबाहीमा पटेलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । ‘प्रहरीलाई देख्न साथ पेस्तोल निकालेर दुई राउण्ड गोली प्रहार गरे,’ एसपी खड्काले भने,‘जवाफी कारबाहीमा खुट्टामा गोली लागे पछि ढले ।’

पटेलको बायाँ खुट्टामा दुई वटा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पटेलले बोकेको एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ । जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा पटेल संलग्न रहेको प्रहरीको भनाइ छ ।

भूमिगत संगठनको नाममा आतंक मच्चाउँदै आएका पटेलमाथि दर्जनौं मुद्दा रहेको एसपी खड्काले जानकारी दिए । प्रहरीका अनुसार उनले चन्दा माग्दा नदिने व्यापारी र अन्यलाई अपहरण गर्ने र गोलीसमेत हान्‍ने गर्थे । चन्द्रपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि पटेललाई वीरगन्ज लगिएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ८:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया