के मन्त्री भएपछि फेरिएका हुन् याेगेश भट्टराई ?

काठमाडौं– दुई वर्षअघि निर्वाचनको समयमा ताप्लेजुङमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङवासीलाई वाचा गरेका थिए– तपाईंहरुले योगेश भट्टराईलाई निर्वाचित गराउनुहोस्, मन्त्री बनाउने जिम्मा मेरो भयो । 

तर, त्यति बेला प्रधानमन्त्री ओलीले आफ्नो वाचा बिर्सिए । उनले पहिलो पटक उनको नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्दा योगेश भट्टराईलाई मन्त्री बनाएनन् । 

दुई वर्षअघि शितलनिवासमा ओली र मन्त्रीहरुले सपथ खाइरहँदा योगेश भट्टराईले ओलीले आफ्नो वाचा पूरा नगरेको विषयमा केही भन्नु छ भन्दा प्रतिक्रिया दिएका थिए– पार्टीले उहाँलाई जिम्मेवारी दिएको छ, त्यसमा मेरो भन्नु केही हुँदैन ।

ओली नेतृत्वमा दुई वर्षअघि गठन भएको त्यो मन्त्रिपरिषद् बैठकमा नपरेपछि केही समयसम्म योगेशले सरकारप्रति कडा आलोचना र टिप्पणी गर्ने गरेका थिए । तर, उनले सरकार आलोचनाको ‘टोन’लाई विस्तारै नरम बनाउँदै लगे । चिकित्सा शिक्षा सुधारको माग गर्दै जब डा. गोविन्द केसी अनशन बसेका थिए, तब योगेश भट्टराईको टोन ठ्याक्कै प्रधानमन्त्री केपी ओलीसँग मिल्दोजुल्दो भएको प्रतिक्रिया आउन थालेको थियो । 

पछिल्लो समय भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको जिम्मेवारीमा छन् । तत्कालीन पर्यटनमन्त्री रबीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली भएको मन्त्रालयको जिम्मेवारी भट्टराईले पाएका हुन् । 

नेकपाका कार्यकर्तामा मात्र होइन, भट्टराईले मन्त्री पदको सपथ लिएपछि आम नेपालीले पनि खुसी व्यक्त गरेका थिए, सयौँले उनलाई बधाई दिए । किनकि नेपाली राजनीतिमा योगेश त्यस्ता व्यक्ति हुन् जसमाथि धेरैको आशा र अपेक्षा छ ।



तर, पछिल्लो समय उनले जसरी अभिव्यक्ति दिइरहेका छन्, यसले त्यो आशालाई विस्तारै धुमिल बनाउँदै लगिरहेको छ । 

यसका लागि लिऔँ तीन प्रसंग । 



पहिलो, नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय सफा नभएको विषयमा एक पर्यटकले गरेको गुनासो । एक अमेरिकी पर्यटकले ट्विटरमा विमानस्थलको शौचालय फोहोर भएको गुनासो गर्दै ट्विट गरेका थिए । त्यसपछि निकै धेरैले त्यो ट्विट योगेशलाई मेन्सन गरे । 

योगेशले एक कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हाम्रो ट्वाइलेट फोहोर छ त के भयो ? त्यो अमेरिकीले आएर हामीलाई सिकाउनु पर्छ ?’ योगेशले अभिव्यक्ति दिएको यो छोटो भिडियो क्लिप पनि ट्विटरमा राम्रै सेयर भयो । 

दोस्रो, केही साताअघि भट्टराईले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा भट्टराईले निजगढ विमानस्थल बनेरै छाड्ने र बनेपछि नेपालमा वर्षेनी १ करोड पर्यटक आउने दाबी गरे । अहिले नेपालमा करिब १५ लाख पर्यटक पनि आउँदैनन् । सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सरकारले नै २० लाख पर्यटक ल्याउन प्रयास गरिरहेको छ । तर, एउटा निजगढ विमानस्थल बन्दैमा तत्काल नेपालमा १ करोड पर्यटक आउलान् त ? 

झट्ट सुन्दा यो असम्भव कुरा जस्तो लाग्दैन । हामीले यही विषयमा केही पर्यटन व्यवसायीसँग कुरा गरेका थियौँ । पर्यटन व्यवसायी जनार्दन नेपाललाई मन्त्री भट्टराईको यो दाबीलाई कसरी लिनुहुन्छ भनेर हामीले सोध्यौँ ।

उनले भने, ‘यो असम्भव त होइन, तर उहाँलाई लाग्यो होला कि पर्यटन व्यवसायीहरुलाई हौसला दिऔँ, त्यसैले त्यस्तो भन्नु भएको हो ।’ मन्त्री भट्टराईको अमिल्दो दाबी भए पनि यसलाई अहिले सकारात्मक रुपमा हेर्नु पर्ने उनले बताए ।

टानका अध्यक्ष खुम सुवेदीले पनि पर्यटनमन्त्री भट्टराईको यो कुरा अहिलेको अवस्थामा वा निजगढ विमानस्थल बन्दैमा सम्भव हुने कुरा नभएको बताए । ‘विमानस्थलमात्र होइन, अन्य भौतिक पूर्वाधारको पनि त्यस्तै विकास हुन पर्यो नि,’ उनले भने, ‘त्यस्तो अवस्था त आउला तर अहिले नै मन्त्रीज्युले यसरी दाबी गर्नु ठिक नमान्न पनि सकिन्छ ।’

नाटाका सिइओ अच्युत गुरागाईंले यो सम्भव देखेका छैनन् । उनले यस्तो लक्ष्य राख्नु सान्दर्भिक भनिए पनि यो कुरा चाहिँ हाइपोथेटिकल मात्र भएको बताए ।

अब मन्त्री भट्टराईको अर्को प्रसंगमा जाऔँ ।

चीनमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार पाँच सयभन्दा धेरैको मृत्यु भइसकेको छ । चीनमा रहेका नेपालीहरुलाई सरकारले उद्धार गरेर ल्याएको छ र क्वारेन्टाइनमा राखेको छ । केही अघि चीनको वुहानबाट नै आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनले स्वास्थ्यलाभ गरिसकेका छन् । 

विश्व स्वास्थ्य संगठनले २५ देशमा कोरोना भाइरसको संक्रमण भएको बताएको छ, जसमा नेपाल पनि परेको छ । विश्वका विभिन्न देशले अहिले चीनबाट आएका नागरिक तथा चिनियाँलाई नै पनि आफ्नो देशमा जान दिएका छैनन् । 

र, यही बेला भट्टराईले तीन दिनभित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले मंगलबार आन्तरिक छलफल हुँदा भट्टराईले यस्तो निर्देशन दिएका हुन् । 

जब सामाजिक सन्जाल ट्विटरमा यसको व्यापक आलोचना हुन थाल्यो, भट्टराईले ट्विट गरे– आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन । नेपाल आजसम्म सुरक्षित छ । हामीले उच्च सतर्कता अपनाएका छौ । मित्र राष्ट्र चीनलाई सिगो नेपालको ऐक्यबद्धता छ । यो सन्देश विश्वभरी फैलाऔ । भन्ने कुराको बिरोध किन हो ? हिनताबोधको मानसिकता १

भट्टराईको यो ट्विट आएपछि उनीमाथि आलोचना गर्नेहरु झन् थपिएका छन् । अधिकांशले आशा गरिएका नेता भट्टराई अब ‘फेरिएका’ प्रतिक्रिया दिएका छन् । 

के योगेश भट्टराई फेरिएका हुन् त ?

‘हुनसक्छ,’ उनीनिकट एक नेताले हामीसँग कुरा गरिसकेपछि आफ्नो नाम नलेखिदिन अनुरोध गरे, ‘जब कोही पनि सत्तामा पुग्छ वा सत्ताको अत्यन्त निकट हुन्छ, उसले अरुलाई गन्न छोड्छ, आफू नै सर्वेसर्वा भएको हुँ जस्तो महसुस गर्छ । अहिले भट्टराई कमरेडमा पनि त्यसको छनक देखिएको छ । हिजो जसरी जनताले उहाँप्रति आशा गरेका थिए, अहिले त्यो आशा विस्तारै निराशामा बदलिँदै गएको छ ।’

ती नेताले पछिल्लो समय मन्त्री भट्टराईलाई पनि सत्तामा रहँदाको ह्याङले छोपेको हुनसक्ने बताए । 

भट्टराईले लेखेका माथिको ट्विटमा नै उनलाई दर्जनौँले रिप्लाई गरेका छन् । तीमध्ये सरोज नामका एक प्रयोगकर्ताले लेखेका छन्– 

मन्त्री ज्यू म फुर्सदमा यसो सोच्छु के साँच्चै त्यो हजुर पुरानो योगेश भट्टराई हो र भन्या रुरु तपाईंका सल्लाहकारले उठ्नै नसक्ने गरी थला पार्दैछन् हजुरलाई १
 

  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १२:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया