छोटी भन्सार बन्यो गाई बाँध्ने गोठ

 झापाको गौरीगन्ज–१ स्थित महाभारामा रहेको छोटी भन्सार कार्यालय स्थानीयको गाई बाँध्ने गोठ बनेको छ । तत्कालीन माओवादीको द्वन्द्वमा विस्थापित भएको छोटी भन्सारमा दुईकोठे भवन छ । दुई कठ्ठा जग्गामा रहेको छोटी भन्सार कार्यालयमा वर्षौँदेखि कर्मचारी छैनन् । ‘हेर्न कोही पनि आउँदैन । संरक्षण नभएपछि त गोठ नै बन्ने भयो,’ स्थानीय दीपक श्रेष्ठ भन्छन्, ‘यो भवन त भत्कनै लाग्यो । अब संरक्षण आवश्यक छ ।’

छोटी भन्सार सञ्चालन नहुँदा सबैभन्दा धेरै समस्या सीमा क्षेत्रका व्यवसायीलाई भएको छ । सोहीकारण प्रहरीले स्थानीयसँग अवैध ढंगबाट पैसा असुल्ने गरेको स्थानीयको आरोप छ । सीमा क्षेत्रमा सरकारले भर्खरै बोर्डर आउट पोस्ट निर्माण गरेको छ । तर, भन्सार कार्यालय नहुँदा राजस्व चुहावट नरोकिने गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराज श्रेष्ठले बताए । ‘बिओपी मात्र राखेर के गर्ने ? भन्सार छैन । भन्सार नभएपछि प्रहरीले उताबाट आउने घरायसी सामान पनि रोक्छ । जसले गर्दा दुई देशबीचको पारिवारिक सम्बन्धमा पनि असर पर्छ,’ उनी भन्छन्, ‘यसतर्फ केन्द्र र प्रदेश सरकारको ध्यान जाओस् । गौरीगन्जमा कम्तीमा एउटा पूर्ण र दुई छोटी भन्सार चाहिन्छ ।’ याे समाचार आजकाे नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले छोटी भन्सार आवश्यक भए पनि केन्द्रको कार्यक्षेत्रमा पर्ने बताए । ‘यहाँ भन्सार आवश्यक छ । तर, यो हाम्रो कार्यक्षेत्रमा पर्दैन । केन्द्र सरकारको क्षेत्र हो भन्सार,’ उनले भने, ‘यसका लागि हामीले पहल गरेका छौँ ।’ मेची भन्सार कार्यालयअन्तर्गत झापामा ६ वटा छोटी भन्सार छन् । मेची भन्साअन्तर्गत गाढागल्ली, बाहुनडाँगी, नकलबन्दा सतिघट्टा, महाभारा र गौरीगन्ज  छोटी भन्सार छन् ।

तीमध्ये बाहुनडाँगी, नकलबन्दा र गौरीगन्ज सञ्चालनमा छन् । सञ्चालनमा नभएका छोटी भन्सारका भवनहरूको संरक्षण अभाव छ । धेरैजसो छोटी भन्सार स्थानीयको गाईगोठ बनेको छ । तर, अहिले छोटी भन्सार आवश्यक नभएकाले सञ्चालनमा नल्याइएको मेची भन्सार प्रमुख ध्रुव विश्वकर्माले बताए । ‘यता मात्रै छोटी भन्सार राखेर के गर्ने ? उता (भारत)तिर हुँदैन । भन्सार सीमाभन्दा अलिक माथि राख्नुपर्‍यो । त्यसले गर्दा छोटी भन्सार नचलाइएको हो,’ उनले भने, ‘फेरि जनताले भन्सार चाहिन्छ पनि भनेका छैनन् । भन्सार राख्दा त्यहाँ कर्मचारी राख्नुपर्छ । त्यसको लगानी पनि उठ्दैन ।’

छोटी भन्सार राखे पनि अन्य पूर्वाधार नहुँदा समस्या हुने उनले बताए । ‘भन्सार राखेपछि सागसब्जीको, माछामासुको पसल पनि राख्नुपर्छ । क्वारेन्टाइन छैन,’ प्रमुख विश्वकर्मा भन्छन्, ‘क्वारेन्टाइन नगरी पठाउँदा भोलि हामीलाई नै समस्या हुन्छ ।’ उनले छोटी भन्सारको संरचना संरक्षणमा आवश्यक कदम चाल्ने बताए । 





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार ११:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया