प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडानमा असर, अधिकांश विमानस्थलमा सेवा अवरुद्ध

काठमाडौं–  प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।
    
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलको भिजिविलिटी कम छ । बाक्लो तुवाँलोका कारण पोखरा विमानस्थलमा बिहानैदेखि अवरोध भएको छ । विराटनगर विमानस्थलको सेवा पनि प्रभावकारी भएको छैन ।
    
आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार मौसममा आएको खराबीले खासगरी हिमाली र पहाडी क्षेत्रका विमानस्थल तथा तराईका केही विमानस्थमा उडान सञ्चालनमा कठिनाइ भएको छ ।
    
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका कतिपय स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रियमा २९ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । 

अहिले काठमाडौैं उपत्यकामा पनि छिटफुट वर्षा भइरहेको छ । आज राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौंको न्यूनतम नौ दशमलव ६ र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार १७:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया