प्रदेश १ खेलकुदकाे राजधानी बनाउने मुख्यमन्त्रीकाे घाेषणा

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने बताएका छन् । 

मदन भण्डारी स्पोस्र्ट एकेडेमीको आयोजनामा सोलुखुम्बुमा जारी प्रदेश स्तरीय मदन भण्डारी स्मृति कप भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका हुन् । 

चालु आर्थिक वर्ष देखि नै खेल क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा रोखेको उनको भनाई थियो । ‘हाम्रो प्रदेशलाई खेल क्षेत्रको राजधानी बनाउने लक्ष्यका साथ काम थालेका छौं,’ उनले भने, ‘यो वर्ष पनि करोडौं बजेजमा खेलकुदका लागि कवर्ड हल, खेल मैदान सहितका संरचना प्रदेशभरी नै निर्माणको चरणमा छन् । खेलाडी सम्मान प्रोत्साहनसहितको कार्यक्रम पनि प्रदेश सरकारले गरिरहेको छ ।’ खेलकुदले स्वास्थ्य र अनुशासनसँगै सामुहिक भावनाको विकास, भाईचाराको सम्बन्ध स्थापित गर्ने मुख्यमन्त्री राईले बताए । 

खेलकुदका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सकिने उनको भनाई छ । ‘पुर्खाले विश्वमा चिनाएको देश बीचमा विभिन्नखालका आन्दोलनले पछि परेपनि अब शान्ति स्थापना भइसकेको छ, अब खेलाडीले विश्वमा पहिचान बनाउँछन्,’ उनले भने, ‘राज्य कमजोर हुँदा खेल क्षेत्र पनि बलियो बन्न सकेन, अब खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा परिसकेको छ ।’ खेलकुदको विकासका लागि सबै पक्षले खेलमैत्री वातावरण बनाउने पर्नेमा मुख्यमन्त्री राईले जोड दिएका छन् ।

उनका अनुसार प्रदेशका सबै १३७ वटै स्थानीय तहमा प्रदेश सरकारको लगानीमा ‘एक स्थानीय तह, एक खेल मैदान निर्माण’को काम भइरहेको छ ।

देश नयाँ युगमा प्रवेश 
मुख्यमन्त्री राईले देश नयाँ युगमा प्रवेश गरेको बताएका छन् । राजनितिक स्थायीत्व र बलियो सरकार नहुँदा लामो समय पछाडि धकेलिएको मुलुक अब विकासको गतिमा अघि बढेको बताएका हुन् । संघीयताले दुर्गम गाउँहरुमा विकास पुगेको उनको तर्क थियो । 



समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुसार संघीय प्रणालीको बाटोमा रहेर संघ प्रदेश र स्थानीय सरकारले विकास र समृद्धिमा योगदान गरिरहेको उनले बताए । जनताको माग र चाहाना अनुसार प्रदेश सरकारले सिचाँई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पर्यटन, सहितका सवालमा काम गरिरहेको भन्दै अबको सबै ध्यान विकासमा केन्द्रित हुनेमा जोड दिएका छन् । मदन भण्डारीलाई सम्झन र उनले देखाएको बाटोमा हिँड्न पनि मुख्यमन्त्री राईले आग्रह गरे ।

कार्यक्रममा १ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङसहित सोलुखुम्बुका सांसदहरु र प्रदेशभरीका भलिबल खेलाडी र दर्शक सहभागी छन् । 



  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १७:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया