सरकारले गाेकुल बाँस्काेटामाथि छानबिन गराेस्: कमल थापा
फाइल तस्वीर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारकै संलग्नतामा मुलुकमा संस्थागत र नीतिगत भ्रष्टाचार बढेको बताएका छन् । 

धनगढीमा शनिबार पत्रकारसँग कुरा गर्दै थापाले पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटा अडियो प्रकरणले संस्थागत भ्रष्टाचार बढेको पुष्टी भएको बताए । आमुल परिवर्तनको नारा दिएर भएको जनआन्दोलनपछि मुलुकमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको उनले बताए । 

‘ठेक्कापट्टा र सार्वजनिक खरिदको विषलाई नीतिगत विषय बनाइ उन्मुक्ति दिन मन्त्रीपरिषद्बाट निर्णय गराउने प्रवृत्तिले व्यवस्थालाई नै भ्रष्ट बनाउँदै लगेको छ,’ उनले भने, ‘यसको ज्वलन्त उदाहरण गोकुल बास्कोटा अडियो प्रकरण हो भन्ने प्रष्ट भएको छ ।’

अहिलेको राजनीतिक अभ्यासले व्यक्ति र दलमात्र होइन, व्यवस्थाकै भ्रष्टीकरण भइरहेको उनको भनाइ थियो । अनियमितताका लागि कानुन बाधक भए सरकारले बहुमतका आडमा कानुनै परिवर्तन गरिदिने प्रवृति देखिएको अध्यक्ष थापाले बताए । सरकारले भ्रष्टाचारको अनुसन्धान, काराबाही गर्ने र न्याय दिने निकायमा पार्टीको प्रभावमा रहेका व्यक्तिलाई नियुक्ति दिएर भ्रष्टाचारलाई बढवा दिइरहेको उनले बताए ।

अध्यक्ष थापाले घुमाउरो शैलीमा भ्रष्टाचार अन्त्यका लागि शासन व्यवस्था परिवर्तनको आवश्यकता रहेको बताए । ‘पहिले राजा थिए र राजासँग डराउनु पथ्र्यो । राजसंस्थालाई पाखा लगाइएकाले राजासँग डराउनुपर्दैन । धर्मको पनि डर मान्नु पर्दैन, किनकी धर्म नमान्नेहरुले राज गरिरहेका छन्,’ थापाले भने, ‘जनतासँग पनि डराउनु पर्दैन, जनतालाई त उनीहरुले स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेका छन् ।’

भ्रष्टाचार रोक्नुको एउटै विकल्प जनताले स्वतन्त्र र स्वामीमानी नागरिकको रुपमा आफ्नो प्रजातान्त्रिक अभ्यासलाई कायम गर्नुपर्ने उनको भनाइ छ । थापाले गोकुल बास्कोटामाथि छानबिन गर्न पनि सरकारसँग माग गरे । पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षणका लागि अध्यक्ष थापा धनगढी पुगेका हुन् । 





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १७:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया