काठमाडौं– आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन । ६९ औं जन्मदिन मनाउने क्रममा ओलीले आफू जसरी पनि अगाडि बढ्ने र देशलाई समृद्ध बनाउने अभियानलाई अगाडि बढाउने बताएका छन् ।
तर, परिस्थितिले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वको सरकारलाई सहज हुने वातावरण देखिन छाडेको छ । ओलीका विश्वासपात्र भनिएका निवर्तमान सन्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप प्रकरण बाहिरिए पछि केपी शर्मा ओली नैतिक रुपमा पनि पार्टीभित्र कमजोर बनेका छन् ।
अनि यही मौकालाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सहज हुने वातावरणका रुपमा लिएका छन् । र, यो मौकाको फाइदा उठाउन तातिसकेका छन् । त्यहीमध्येको उनको एक चाल हो– आइतबार बनेको संविधान संशोधन गर्न बनेको नेकपाको कार्यदल ।
माधव नेपालको नेतृत्वमा बनेको यो कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा पनि छन् । यो यस्तो समयमा बनाइएको कार्यदल हो जतिबेला केपी शर्मा ओलीका ‘दाहिने हात’ गोकुल बाँस्कोटाको अडियो टेप बाहिरिएको छ र त्यही कारण गोकुलले सन्चारमन्त्री तथा सरकारका प्रवक्ताका रुपमा सरकारबाट बाहिरिनु परेको छ ।
ठिक यही समयमा अर्को चर्चाको विषय छ मिलेनियम कर्पोरेसन च्यालेन्ज अर्थात् एमसिसी ।
एमसिसीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय यता बारम्बार एउटै कुरा दोहोर्याउँदै आएका थिए– यो जसरी पनि पास हुन्छ । संसदमा पछिल्लो समय गरेको सम्बोधनमा समेत उनले यसबारे अझ खुलेर चर्चा गर्ने बताएका थिए । पार्टीको केन्द्रीय कमिटी बैठकमा ओली यस विषयमा पेलेर जाने मनोविज्ञानमा थिए तर समय उनको अनुसार चलेन । एमसिसीबारे पार्टीको धारणा बनाउन र त्यसलाई पार्टी नेतृत्वमा राख्न नेकपाले एउटा कार्यदल बनायो ।
त्यो कार्यदलका संयोजक थिए– झलनाथ खनाल । खनाल नेतृत्वको कार्यदलमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली र नेकपाका अर्का नेता भीम रावल सदस्य थिए । कार्यदलमा रावललाई राखिनुको अर्थ त्यति बेला प्रष्ट थियो– उनी एमसिसीको विरोधमा बोलिरहेका छन् र कार्यदलमा राखिदिएको खण्डमा उनले यसबारे सकारात्मक धारणा बाहिर डेलिभर गर्न थाल्नेछन् । ओली सरकार र पार्टीमा ओली नेतृत्वको विषयमा बारम्बार आलोचनात्मक धारणा राखेका रावललाई चेक एन्ड ब्यालेन्स गर्न यो कार्यदलमा राखिएका थिए, प्रदीप ज्ञवाली ।
विडम्बना ! ओलीले चाहेजस्तो यो कार्यदलले प्रतिवेदन दिएन । बरु कार्यदलले एमसिसीमा संशोधन हुनु पर्ने धारणा राख्यो । पार्टीले बनाएको कार्यदलले जे रिपोर्ट दिए पनि एमसिसी पारित गरेरै छाड्ने अडान लिएका ओली कार्यदलले दिएको यो प्रतिवेदनका कारण झस्किनु पर्ने अवस्था आयो ।
अब अर्को कार्यदल जुन बनेको छ, त्यसले आफूलाई झन् असहज परिस्थितिमा पुर्याउने ओलीले अनुमान गरिसकेका छन् । त्यसैले पनि हुनुपर्छ, राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नेबारे अध्ययन गर्न बनेको यो कार्यदलबारे ओली मौन छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले यो निर्णय गरेको थियो । यो कुरा बाहिर आएलगत्तै ओलीनिकट मानिएका सुवास नेम्वाङले यसबारे असन्तुष्टि जनाइसकेका छन् । उनले आफूलाई यस विषयमा आधिकारिक जानकारी नआएको समेत प्रतिक्रिया विभिन्न मिडियामा दिएका छन् ।
पार्टीभित्र शक्तिशाली मानिएकै नेताले विरोध गरेको यो कार्यदल आखिर किन बन्यो त ? यसको सहज जवाफ नेकपाभित्र नै अहिले चर्चा हुन थालेको छ– पार्टीमा केपी ओलीलाई थप कमजोर बनाउन । र, उनलाई कमजोर बनाउन को चाहन्छन् ? पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
र, यसका लागि उनले अस्त्रका रुपमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खुलाउने प्रयत्न सुरु गरेका हुन् । त्यसको पहिलो प्रारुपका रुपमा लिन सकिन्छ, यो कार्यदल ।
वामदेव गौतमसँग पार्टी एकीकरणपछि प्रचण्ड निकै नजिकिन थालेको नेकपाकै नेताहरुले महसुस गरेका छन् । पछिल्लो समय प्रचण्ड र गौतमले बारम्बार वार्ता पनि गरिरहेका छन् । र, यही कारण केपी ओलीका सधैं विरोधी रहेका माधव नेपालको नेतृत्वमा यो कार्यदल बनेको छ । यो कार्यदलले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्ने निर्णय गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई विरोध गर्न सक्ने छैनन् । यस्तो भएको खण्डमा उपाध्यक्ष वामदेव गौतमले सहजै प्रचण्डलाई समर्थन गर्नेछन् ।
‘यो अब गर्ने भनिएको महाधिवेशनलाई पनि मध्यनजर गरेर गरिएको निर्णय हुनसक्छ,’ नेकपाका एक नेताले भने, ‘अबको महाधिवेशनपछि केपी ओलीलाई कमजोर बनाउने र प्रचण्डले माधव नेपाल र वामदेव गौतमलाई लिएर पार्टी चलाउने मनाशय बनाएको बुझिन्छ । यसलाई सबैभन्दा सहज यो निर्णयले बनाउने प्रष्ट्याउँछ ।’
पार्टीभित्रको समिकरणलाई बदल्ने मात्र होइन, आफ्नो पक्षमा ल्याएर आफू बलियो अध्यक्ष बन्न नेकपा अध्यक्ष प्रचण्ड चाहन्छन् । यही गृहकार्यका लागि उनले वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न चाहन्छन् । अनि त्यही भएर कम्तिमा पनि तीन वर्ष आफू निकट वामदेव गौतम होउन् भनेर उनले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने मात्र होइन, प्रधानमन्त्री बन्ने बाटो खोलिदिन संविधान संशोधन गर्ने प्रयास पनि गर्नेछन् ।
आफूले विश्वास गरेका व्यक्तिहरु आलोचित बन्दै जाँदा नैतिक रुपमा पनि कमजोर बनेका केपी ओली अहिले गणितीय रुपमा पनि पार्टीमा कमजोर बनेका छन् । उनको यही अवस्थालाई आफू अनुकूल बनाउन नेकपामा नेताहरु लागि परेको एक नेकपा नेताले फरकधारलाई बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।