प्रधानमन्त्री ओलीले काटेको नेपाली नक्सा भएको बर्थ डे केक ४० पाउन्डको

काठमाडौं– आफ्नो जन्मघर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाए । 

विहानदेखि नै नेपाली प्रयोगकर्ताले सामाजिक सन्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिए । केही नेता बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिए । त्यहाँ पुगेका रक्षामन्त्री ईश्वर पोखरेलदेखि पूर्वसभामुख सुवास नेम्वाङले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिए । 

जन्मघरमा ६९ औं जन्मदिन मनाउन पुगेका ओली पनि खुसी थिए । 

तर, अचानक साँझ एउटा तस्वीर सामाजिक सन्जालमा निकै सेयर भयो, मानिसहरुले प्रम ओलीलाई उनको जन्मदिनमा नै आलोचना गर्न थाले । 

आलोचना गर्नुको कारण थियो, उनले जन्मदिनको अवसरमा काटेको केक । 

आठराईमा पुगेका प्रधानमन्त्रीलाई स्वागत गर्न त्यहाँ वरपरका मानिसहरु किनै धेरै झुम्मिएका थिए । त्यहाँ पुग्ने केहीले केक पनि लिएर गएका थिए । ठूला साइजका नै तीन चार वटा केक आएको थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै त्यहाँ पुगेका केही युवा नेताहरुले सल्लाह गरे, अब यहाँ नै यी केक काटौँ, यसलाई बाडौँ । प्रधानमन्त्री ओलीले नमान्ने कुरै भएन !



त्यही क्रममा एउटा प्याक खोल्दा भेटियो, सबैभन्दा ठूलो केक । यो केक काठमाडौंबाट नै लगिएको थियो । 

प्रधानमन्त्रीसँगै उनको जन्मदिन मनाउन तेह्रथुम पुगेका नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनका नेता क्षितिज थेबेले यो केक कसले ल्याएको हो भन्ने आफूलाई थाहा नभएको बताए । सामाजिक सन्जालमा भाइरल भइरहेका तस्वीरमा थेबे प्रधानमन्त्री ओलीको दाहिने छेउमा उभिइरहेका छन् । 



‘त्यो केक कहाँबाट आयो भन्ने थाहा नै भएन,’ उनले फरकधारसँग कुराकानी गर्दै भने, ‘तर, त्यहाँ आइपुगेको मध्ये सबैभन्दा ठूलो केक नै त्यही थियो, त्यसलाई काटियो ।’

यो केक प्रधानमन्त्रीका शुभचिन्तक कसैले ल्याएको हुनसक्ने उनले बताए । तर, उनले आफूलाई केक हेलिकोप्टरमा आएको हो भन्ने पनि थाहा नभएको दाबी गरे । 

हामीले यो केक बनाइएको ठाउँमा बुझ्न खोज्यौँ । त्यहाँबाट पनि केकबारे सबै कुरा भने पनि केक कसले अर्डर दिएको थियो भन्ने भन्न नमिल्ने बताइयो । यो केक बालुवाटारमा रहेको चिनियाँ दूतावास अगाडि रहेको बिग केक नामको केक कम्पनीले बनाएको केक लगिएको प्याकिङको लोगोबाट नै प्रष्ट हुन्छ ।

‘त्यो ४० पाउन्डको केक थियो,’ बिग केक कम्पनीकी म्यानेजर रश्मी भट्टराईले फरकधारसँग फोनमा भनिन्, ‘हामीलाई अर्डर आएको थियो र डेलिभरी गरिदिनु भनेको थियो, हामीले अर्डर अनुसार गरेका हौँ ।’

तर, रश्मीले केक कसले अर्डर गरेको थियो भन्ने बताउन चाहिनन् । ‘हामीले ग्राहकको नाम भन्नै मिल्दैन,’ उनले भनिन्, ‘हामीलाई जस्तो बनाउनु भनेको थियो, जस्तो डिजाइनको अर्डर दिइएको थियो, यो केक त्यस्तै बनाएका हौँ । अनि जहाँ डेलिभर गरिदिनु भनिएको थियो, त्यहाँ हामीले डेलिभर गरिदियौँ ।’ उनका अनुसार जसले अर्डर दिए पनि यो केकको भुक्तानी भइसकेको छ र यो केकलाई हिजो नै विमानस्थलमा डेलिभर गर्न भनिएको थियो । बिग केकले पनि यो केक अर्डरअनुसार नै विमानस्थलमा डेलिभर गरेको थियो ।

तर, केक कसले अर्डर गर्यो त ? 

यस विषयमा हिजो प्रधानमन्त्री ओलीको बर्थ डे सेलिब्रेसनमा सहभागी भएका कसैले पनि बताउन चाहँदैनन् । हामीले यसबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा तेह्रथुम पुगेका केही युवा नेता तथा नेकपा नेताहरुलाई प्रश्न गरेका थियौँ । सबैको एउटै आशयको जवाफ थियो– केक काटिएको त हो, तर कसले ल्यायो भन्ने थाहा नै भएन, अर्डर कसले गर्यो भन्ने पनि थाहा भएन, त्यहाँ सोध्ने माहोल पनि भएन, कुरा पनि भएन ।

कार्यक्रममा सहभागी केहीले ठाउँठाउँबाट मानिसहरु आएको र यो केक बसबाट नै त्यहाँ ल्याइएको हुनसक्ने बताए । तर, बिग केकले आफूले केक बनाएको र विमानस्थलमा डेलिभर गरेको स्वीकार गरिसकेको छ । फेरि सामाजिक सन्जालमा एउटा भिडियो पनि भाइरल भएको छ, जहाँ केक हेलिकोप्टरभित्र देखिन्छ । यसबाट प्रष्ट हुन्छ, यो केक काठमाडौंबाट त्यहाँ पुर्याउन हेलिकोप्टर नै प्रयोग गरिएको थियो ।

सामाजिक सन्जालमा केकबारे व्यापक आलोचना भएपछि केपी शर्मा ओलीनिकट केही व्यक्तिहरु यसको बचाउमा पनि लागेका छन् । सोमबार विहानमात्र केपी ओलीनिकट मानिएका नेकपाका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले यो खासै चर्चा गरिन लायक विषय नभएको बताएका थिए ।

उता, साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको केकको रुप विद्रुप लागेको भन्दै ट्विट पनि गरेका छन् । 

के नेपालको नक्सा भएको केक काटिनु अत्यन्त गलत हो त ? 

‘अहिले यो विषयलाई जसरी चर्चा गरेर उठाइएको छ,’ नेकपका एक नेताले फरकधारसँग भने, ‘यो त्यस्तो चर्चा गर्न लायक विषय नै होइन । प्रधानमन्त्री आफैंले अर्डर गरेर यो केक काट्नु भएको पनि होइन, यसरी केक काट्दैमा देशलाई काट्न खोजेको भन्ने पनि हुँदैन । विश्वभर नै केक काट्दा आफूलाई मन पर्ने प्रतीकलाई बढी महत्व दिने प्रचलन रहेको सबैलाई थाहा नै छ ।’

  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १४:१८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया