मनिसको जीवन बाहिर अरुले देख्दा जस्तो हुन्छ, उसको वास्तविक जीवन पनि त्यस्तै सहज र व्यवस्थित हुन्छ भन्ने हुँदैन । कसैको जीवन फूलजस्तो देखिएला, तर उसले त्यो फूलको रुप लिँदासम्म ऊ कति काँडारुपी पीडाबाट घोचिएर अहिलेको अवस्थामा आइपुगेको छ भन्ने कुरा स्वयं उही व्यक्तिलाई मात्र थाहा हुन्छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण विजेता कुसुम खड्काको जीवनमा कुनै वेला यस्तो क्षण पनि आएको थियो कि उनलाई कराते नै छोडिदिऊँ किजस्तो लाग्न थालेको थियो ।
खेलबाट सोचेझैँ उपलब्धि हासिल नभएको देखेर कुसुमका बुबा–आमाले पनि भन्न थालेका थिए– कराते खेलेर मात्र केही हुनेवाला छैन, अरु कुनै काम पनि गर । तर, करातेप्रतिको मोहले उनलाई यसरी बाँधेर राखेको थियो कि उनले कराते छाड्नै सकिनन् ।
उनले ती दिन सम्झिँदै भनिन्– कुनै बेला मलाई कराते नै छोडिदिऊँ किजस्तो पनि भएको थियो, म कतिपटक त अब खेल्दिनँ, भनेर घरमा नै बसेको पनि थिएँ, तर ममा करातेप्रतिको मोह यति थियो कि प्रतियोगिता सुरु हुनेबित्तिकै भाग लिन पुगिहाल्थेँ । मैले करातेबाहेक अरु जानेकै थिइनँ, कसरी चटक्कै छोड्न सक्थेँ र !
कुनै बेला उनका बाबा–ममीले उनलाई भन्नुभएको थियो– कराते छाडेर अरु नै काम गर, खेलेर मात्र केही हुँदैन । तर, पछि खेल्दै गर्दा आर्मी क्लबले लिएपछि भने उहाँहरुले पनि पूर्ण समर्थन गरेको कुसुमले खुसी हुँदै सुनाइन् ।
जीवन सधैँ सरल रेखामा हिँड्दैन । आरोह–अवरोह घुम्ती र मोडहरु आइरहन्छन् । त्यसलाई कसरी सहज रूपमा पार गर्ने भन्ने व्यक्तिको स्वभाव र लगावमा भर पर्छ । यस्तै जीवनको अर्को एउटा घुम्तीमा पुग्दा फेरि अर्को घटनाले पनि उनको कराते करिअरलाई लगभग समाप्त पारिसकेको थियो । त्यो घटना हो, उनी १३औँ साग सुरु हुनुभन्दा ६ महिनाअघि घाइते हुनु ।
केही दिनअघि बानेश्वरमा भेटिएकी कुसुमले फरकधारसँग सुनाइन्– यो सागभन्दा करिब ६ महिनाअघि इन्डोनेसियामा इन्टरनेसनल च्यापियन्ससिप खेल्न गएको थिएँ । त्यहाँ चाइनिज ताइपेइसँगको खेलमा मेरो लिगामेन्ट च्यातिएको थियो । त्यतिबेलाको चोटले मलाई करिब दुई महिनाजति करातेबाट टाढा गरायो । त्यतिबेलाचाहिँ मलाई अब खेल्नै पो सक्दिन कि, मेरो साग खेल्ने सपना सपनामा नै सीमित हुन्छ कि भन्ने लागेको थियो, म सोच्न थालिसकेकी थिएँ कि अब मेरो करिअर नै सकियो ।
तर, कुसुम यी सबै व्यवधानलाई छिचोल्दै अघि बढिन् । सौभाग्यवश १३औँ साग प्रतियोगितासम्म आइपुग्दा उनी कराते खेल्न सक्नृ भइन् । उनले साग खेलिनन् मात्र, नेपालका लागि स्वर्ण पनि दिलाइन् । उनले सागमा करातेबाट कुमुते ४५ केजी तौल समूहमा बंगलादेशकी खेलाडी मञ्जुरा बोर्नालाई ३–२ले हराउँदै नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।
कुसुम खड्काले कराते सुरु गरेको करिब ११ वर्ष भइसकेको छ । उनले सुरुमा कहिल्यै सोचेकी थिइनन् कि म देशका लागि खेल्छु र पदकहरु जित्छु भन्ने कुरा ।
उनले ती दिन सम्झिन्– सुरुमा त मैले सोचेकै थिइनँ, यहाँसम्म पुगिन्छ भनेर । सुरुमा त म साथीहरुको लहैलहैमा लागेर कराते सिक्न गएको थिएँ । मैले कहिल्यै सोचेकी थिइनँ, करातेमा नै भविष्य बनाउँछु भनेर ।
कराते खेल्दै गएपछि यसप्रति मोह पनि बढ्दै गएको कुसुमको बुझाइ छ ।
‘जति–जति खेल्दै गएँ, त्यति–त्यति यो खेलप्रति मोह बढ्दै गयो, विभिन्न प्रतियोगितामा भाग लिँदै गएपछि यसमा पनि भविष्य छ है भन्ने बुभ्mन थालियो,’ उनले मुस्कुराउँदै भनिन्, ‘अहिले त करातेबाहेक अरु सोच्नै सक्दिनँ ।’
बौद्ध डोजोमा सिक्दै गर्दा उनले बेला–बेलामा विभिन्न राष्ट्रिय स्तरका खेलाडीलाई भेट्ने गर्थिन् । त्यतिबेला उनलाई लाग्थ्यो, म पनि त्यो स्तरसम्म पुग्न पाए हुन्थ्यो ।
‘सिनियरहरुलाई देख्दा हामीमा थप ऊर्जा थपिन्थ्यो, उहाँहरुले राष्ट्रिय खेलाडी भनेर सम्मान पाउँदा म पनि कहिले त्यहाँसम्म पुग्छु होला भनेर सोच्ने गर्थें,’ कुसुमले उत्साहित हुँदै सुनाइन् ।
कुसुमले कराते सिक्न जाँदाका सुरुवातीका दिन सम्झिन्–त्यतिबेला म साथीहरुको लहैलहमा लागेर कराते सिक्न गएको थिएँ, मेरो परिवारलाई पनि थाहा थिएन । म कराते सिक्छु भनेर होइन कि रमाइलोका लागि मात्र गएको थिएँ, त्यो पनि डोजोमा सिक्दैैमा भर्ना हुन पाएर ।’
उनले कफीको चुस्की लिँदै आप्mनो कुरा अगाडि बढाइन्– सुरुमा गुरुहरुले अभ्यासका क्रममा उफारिदिनु हुन्थ्यो, सुरु सुरुमा अभ्यास गर्दा गाह्रो त हुन्थ्यो, तर रमाइलो पनि हुन्थ्यो ।’
कुसुम करातेमा यसरी डुबेकी थिइन् कि उनलाई पढाइभन्दा कराते नै प्यारो लागेको थियो । उनलाई कराते नै सबथोक होजस्तो लागेको थियो । उनी सपनामा पनि खेलेको नै देख्ने गर्थिन्, त्यसैले त उनलाई परीक्षामा फेल हुँदाभन्दा खेलमा हार्दा बढी पीडा हुने गरेको बताइन् ।
उनले त्यस्तै एउटा खेल सम्झिँदै भनिन्– इन्टरनेसनल खेलमा भारतसँग हारेको थिएँ, त्यतिबेला मलाई कराते नै छाडिदिऊँ किजस्तो पनि लागेको थियो । मलाई खाना खानै मन लागेको थिएन ।’
करातेमा उनले पाएको सफलताको पछाडि उनका गुरु विक्रम लामाको पनि ठूलो हात छ । कुसुमले कफी पिउँदै सुनाइन्– म यहाँसम्म आइपुग्नुमा मेरो सानैदेखिका गुरु विक्रम लामाको ठूलो योगदान छ ।
कराते छाड्छु भनेर घरमा बस्दा पनि उहाँले तिमीले कराते छाड्नुहुँदैन भनेर घरमा नै लिन आउनुहुन्थ्यो । उहाँको साथ र सहयोग नभएको भए सायद म यहाँसम्म आउने नै थिइन होला ।
कुसुमले भारत, इन्डोनेसीया, बंगलादेश, संयुक्त अरब इमिरेट्स (युएई) तथा थाइल्यान्ड पुगेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छिन् ।
सागमा जितेका स्वर्ण कति महत्वपूर्ण हुन्छ भन्ने कुसुमले राम्रोसँग बुझेकी छिन् । नबुझ्नु पनि कसरी ? अहिले कुसुमले जुन चर्चा पाइरहेकी छिन्, त्यो सबै सागको त्यही स्वर्णले दिलाएको हो । यद्यपि, सागमा जितेको स्वर्ण नै कुसुमका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण भने होइन, उनले सागभन्दा अघि पनि नेपाललाई तीनवटा अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाएकी थिइन् ।
उनले सागभन्दा अगाडि नै बंगलादेशमा भएको दक्षिण एसियाली च्याम्पियन्ससिप, भारत तथा संयुक्त अरब इमिरेट्समा भएको अन्तर्राष्ट्रिय खेलमा स्वर्ण जितेकी थिइन्, तर त्यतिबेला कुसुमको खासै चर्चा भएको थिएन ।
उनले सागमा स्वर्ण जितेको दिन सम्झिन्– हुन त मैले सागअगाडि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीतामा स्वर्ण जितिसकेकी थिएँ, तर सागको एक स्वर्णले मलाई सबैतिर चर्चित बनाइदियो ।
सागमा स्वर्ण जित्दाको क्षण शब्दमा बयानै गर्न नसकिने कुसुमले बताइन् । र, भनिन्– स्वर्ण जित्दा त एकैछिन खुसीले शब्दविहीन भएको थिएँ । आमाकै अगाडि देशका लागि स्वर्णपदक दिलाउा पाउँदा उहाँको मुहारमा जुन खुसी थियो, त्यो मेरो जीवनको सबैभन्दा अवस्मरणीय क्षण थियो । स्वर्ण जित्दा मैले सबैभन्दा पहिले भगवान्लाई सम्झिएँ, अनि आमा–बुबा र गुरुहरुलाई ।
उनले उत्साहित हुँदै भनिन्– सागमा स्वर्ण जित्दा मलाई मैले देशका लागि ठूलै सफलता हात पारेँजस्तो, करातेमा लागेर राम्रो गरेँ भन्ने लागेको थियो ।
सागमा स्वर्णका लागि बंगलादेशी खेलाडीसँग भिडन्त हुँदा कुसुमलाई केही डर भने लागेको थियो । किनभने ती खेलाडीसँग उनले यसअघि पनि खेलिसकेकी थिइन् । र, कुसुमलाई उनी बलियो खेलाडी हुन् भन्ने थाहा थियो ।
कुसुमले त्यो क्षण सम्झिँदै भनिन्– मलाई फाइनलमा बंगलादेशी खेलाडीसँग भिडन्त हुन्छ भन्दा केही डर भने लागेको थियो, किनभने मैले बंगलादेशमा भएको दक्षिण एसियाली च्याम्पियन्ससिपमा पनि उहाँलाई नै हराएको थिएँ, त्यहाँ पनि मलाई निकै गाह्रो भएको थियो ।’
कराते खेलमा मानसिक दबाब धेरै हुने कसुुमको बुझाइ छ । कफीको चुस्की लिँदै उनले सुनाइन्– कराते निकै दबाबमा खेलिने खेल हो, तीन मिनेटले आप्mनो भविष्य निर्धारण गर्छ । छिटोभन्दा छिटो निर्णय लिनुपर्ने हुन्छ, एउटा सानो गल्तीले पनि खेलको रुप नै बदलिदिन्छ, त्यसले करिअर नै समाप्त पारिदिन पनि सक्छ ।
साथीहरुसँग रमाइलोका लागि सुरु गरेको करातेले आज कुसुमलाई जुन सफलता दिएको छ, मान–सम्मान दिएको छ, त्यो देख्दा कुसुम आफैँ पनि दंग छिन् ।
‘सागमा स्वर्ण जितेर गाउँमा जाँदा जुन सम्मान पाएँ, त्यो देख्दा निकै खुसी लागेको थियो । मैले पनि देशका लागि केही योगदान दिएँजस्तो लागेको थियो । मेरो मिहिनेतले सार्थकता पाएको जस्तो लागेको थियो,’ उनले त्यो दिन सम्झिन् ।
कसुमले करातेमा यति लामो यात्रा तय गर्दा विभिन्न सुख–दुखहरू भोगिन् । सागभन्दा करिब ६ महिनाअघि घाइते हुँदा उनले शारीरिकभन्दा बढी मानसिक पीडा भोगिन् ।
कफीको चुस्की लिँदै कुसुमले आप्mनो कुरालाई अगाडि बढाइन्– म प्रशिक्षणमा पनि जान सकेको थिइनँ, घरमै रोएर बस्थँे, दिन कटाउन पनि निकै गाह्रो हुन्थ्यो । त्यतिबेला त मलाई राम्रोसँग खान पनि मन लागेको थिएन । चिन्ताले गर्दा तौल पनि बढेको थिएन । यसले गर्दा करातेमा असर गर्न सक्थ्यो, त्यो समय मेरो जीवनको सबैभन्दा कठिन समय थियो ।
करातेमा युवापुस्ताको आकर्षण कम भएको हो कि भन्ने कुसुमलाई लागेको छ । ‘आजभोलि युवापुस्तामा करातेको आकर्षण केही घटेको देखिन्छ । प्रायःजसो खेलाडी नेपालमा नै बस्नुहुन्न,’ उनी भन्छिन्, ‘सायद, नेपालमा नै खेलेर खाने वातावरण नभएर होला नि ! हामीले जति नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जिते पनि भविष्य सुरक्षित हुन सकेको छैन ।’
उनले थप पुष्टि गर्दै भनिन्, ‘अरू देशमा जस्तै कुनै विशेष योजना पनि छैन । अरु देशले यही सागका लागि मात्र एक–डेढ वर्ष अभ्यास गरेका थिए, तर हामीले मुस्किलले ३–४ महिनाजति मात्रै गर्यौँ होला, यसले पनि युवापुस्ता करातेमा आकर्षित नभएको हुन सक्छ ।
तर, अब बिस्तारै करातेमा पनि भविष्य बन्दै गएको उनको बुझाइ छ ।
‘अहिले त करातेमा भविष्य बनाउन चाहनेका लागि धेरै प्ल्याटफर्म छन् । राम्रो गर्नेबित्तिकै क्लबहरुले लिने गर्छन् । त्यसैले कराँतेमा लाग्न चाहनेले नडराई लाग्दा हुन्छ, यसमा पनि राम्रो भविष्य छ ।’ यसो भनिरहँदा कुसुमको अनुहारमा बेग्लै चमक थियो । देशका लागि पदक जित्ने सबै खेलाडीहरुलाई समान व्यवहार हुनुपर्ने उनको तर्क छ ।
उनले सागको उदाहरण दिँदै भनिन्– हामी खेलाडीहरु देशका लागि सबै थोक त्यागेर खेलिरहेका हुन्छौँ, दिन–रात नभनी मिहिनेत गरिरहेका हुन्छौँ, तर स्वर्ण जिते मात्र हाम्रो चर्चा हुन्छ, सबैले स्वर्ण जित्नेलाई मात्र प्राथमिकता दिन्छन् रजत वा कास्य जित्नेको त्यति चर्चा नै हँुदैन । सागमा पनि स्वर्ण जित्नेलाई मात्र बढी प्राथिमकता दिइएको थियो ।
देशका लागि जितेका हरेक पदकमा उत्तिकै त्याग र मिहिनेत हुने भएकाले हरेक पदकको आ–आप्mनै महत्व हुने उनले सुनाइन् ।
पछिल्ला केही वर्षमा राज्यले खेलाडीका लागि केही सेवा–सुविधा थप गरेको छ । ‘तर त्यतिले मात्र पर्याप्त छैन, राज्यले खेलाडी जीवनमा मात्र नभएर खेल छाडिसकेपछि पनि पूर्वखेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ,’ कुसुमले केही निरास हुँदै बताइन् ।
सरकारले खेल जीवनपछि पनि पूर्वखेलाडी राखेप र यस्तै विभिन्न खेलकुद संघहरुमा जागिरको व्यवस्था गरिदिनुपर्नो उनको राय छ ।
खेलाडीहरुलाई वर्षभरि खेलेर खाने वातावरण मिलाउनुपर्ने माग गर्दै उनी भन्छिन्, ‘राज्यले प्रतियोगिता आउनुभन्दा केही महिनाअघि मात्र नभएर वर्षैभरि प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । बढीभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर दिलाउनुपर्छ । यसले गर्दा हामीलाई पनि विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ र नजिता पनि अझै राम्रो आउँछ ।
कुसुमका सुझाबलाई राज्यले मनन गर्नुपर्ने देखिन्छ । खेलाडीहरुको जीवन निर्वाहको सुरक्षा नहुँदा उनीहरु बिदेसिनुपर्ने जुन बाध्यता छ, त्यसलाई पन्छाउन सके मात्रै उनीहरुले मन बचन र कर्मले देशका लागि काम गर्न सक्छन् र देशको नाम राख्न सक्छन् । होइन भने आकासे पानीका भरमा खेती गर्दाजस्तो फल प्राप्त हुने ग्यारेन्टी हुँदैन । यसमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।