१२ जिल्लामा नेपाल ट्रस्टको जग्गा २१ हजार ५६२ रोपनी

काठमाडौं— देशभरका १२ जिल्लामा नेपाल ट्रष्टको जग्गा २१ हजार ५६२ रोपनी रहेको छ । आज आयोजित एक कार्यक्रममा सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले ‘गुमेको १७३ रोपनी जग्गा’ फिर्ता ल्याउने प्रयास पनि सुरु गरिसकेको जनाएका छन् । 

विभिन्न जिल्लामा मोहीका नाममा गुमेको जग्गाको विषयमा खोजी होस् भनेर ट्रष्टले औपचारिक रूपमा आग्रह पनि गरिसकेको उनले बताएका छन् । यसका लागि ट्रष्टको सम्पत्ति र यसको विवरण पारदर्शी रूपमा राखिएको जानकारी पनि पोखरेलले दिएका छन् ।

ट्रष्टको काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल र बालाजुमा गरी १७३ रोपनी जग्गा मोहीका नाममा नामसारी भएको छ । मन्त्रिपरिषद्को २६ भदौ २०६४ को निर्णयबाट मोहीका नाममा नामसारी भएको पाइएको हो ।

ट्रष्टको गत पुस मसान्तसम्ममा रु ७८ करोड नौ लाख ७७ हजार ७९३ चल सम्पत्ति पुगेको छ । ट्रष्टको नाममा अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र पाउन्ड स्टर्लिङ ५० हजार १२४ रहेको छ।

नबिल बैंकको पाँच लाख ३३ हजार २४४ कित्ता, होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता शेयर ट्रष्टको नाममा रहेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।



ट्रष्टले हालसम्म विभिन्न ६ वटा ठाउँको सम्पत्तिलाई भाडामा दिएको छ । यस्तो भाडामा दिएको सम्पत्तिमा गोकर्ण फोरेष्ट रिसोर्टले लिएको २७ सय ९२ रोपनी, कन्सेप्ट डेभलपर्स प्रालिले लिएको कमलादीस्थित ५ रोपनी, स्याण्डर्ड चार्टर ब्यांकले ६ रोपनी १२ आना, टाउन डेभलपर्सले १९ रोपनी १२ आना, थामसेर्कु ट्रेकिङले दरबारमार्गमा १ रोपनी १४ आना र थामसेर्कु ट्रेकिङले नै ताहाचलमा ४ रोपनी चार आना जग्गा भाडामा लिएको छ ।

यसका साथै छोटो अवधिका लागि सार्वजनिक खरीद तथा अनुगमन कार्यालय, गरीबी निवारण कोष, वैदेशिक रोजगार विभाग र निजामती आवासीय विद्यालयलाई ट्रष्टको सम्पत्ति भाडामा लगाइएको छ ।



ट्रष्टले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनमा पनि लगानी गर्ने गरी कार्यविधि बनाइरहेको मन्त्री पोखरेलले बताए । उनका अनुसार पर्यटनमा होमस्टेतर्फ शिक्षामा पुस्तकालय तथा आईटी ल्याब एवं छात्रवृत्तिमा पनि लगानी गर्ने गरी कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए ।

ट्रष्टको देशैभरि रहेका जग्गामध्ये ७० प्रतिशत धादिङमा मात्रै छ । ट्रष्टको धादिङमा १५ हजार १०१ रोपनी जग्गा छ भने बाँकी जग्गा चितवन, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, काभे, मकवानपुर, धनकुटा, नुवाकोट, ललिपुर, भक्तपुर र काठमाडौंमा रहेको उल्लेख छ ।

  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार १८:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया