वामदेवलाई ब्याक गियरमा धकेलेका छ घटना

काठमाडौं— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । योसँगै यसपटक पनि सांसद बन्ने गौतमको प्रयास सफल हुने भएको छ । 

तर, यो यात्रा गौतमलाई सहज भने भएन । सांसद बन्न खोजेकै कारण उनी बारम्बार विवादमा तानिए, आम आलोचनाको शिकार पनि बने । 

यसपटक पनि राष्ट्रिय सभामा जानु उनका लागि सहज यात्रा भने भएन । केही अघि एक तिहाई राष्ट्रिय सभा सदस्यहरुको म्याद सकिएपछि ९ फागुनमा राष्ट्रिय सभाका नयाँ सदस्यका लागि निर्वाचन भएको थियो । नेकपाले उक्त निर्वाचनमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनायो, उनी निर्वाचित भए । 

त्यति बेला वामदेव गौतमलाई पनि निर्वाचनमा जान नेकपाका नेताहरुले सल्लाह र सुझाव दिएका थिए । तर, उनले पार्टीमा एउटा सर्त राखे– संविधान संशोधन । गौतमको त्यति बेला तर्क थियो– एउटै हैसियतका संसद प्रतिनिधि सभाबाट प्रधानमन्त्री बन्न पाउने तर राष्ट्रिय सभाबाट किन नपाउने ? त्यसैले उनले माग राखे– संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था भएमात्र म सांसद बन्छु ।

वामदेव गौतमको यो प्रस्तावलाई नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकै ठूलो साथ र समर्थन थियो । सँगसँगै नेकपाका नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनालले पनि वामदेवको यो प्रस्तावलाई समर्थन गरे । पार्टीमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाउन र आगामि महाधिवेशनलाई विशेष प्रभावित पार्न नेकपाका नेताहरुले वामदेवलाई आफ्नो पक्षमा ल्याउने यस्ता प्रयास गरेका थिए । 

तर, वामदेव गौतम यो ठाउँसम्म वा स्थानसम्म पुग्नका लागि उनले आफूलाई विभिन्न प्रयासमा ब्याक गियरमा लैजानु प¥यो । 



आफूलाई ब्याक गियरमा लैजानु परेका वामदेवका ६ घटनाः

 



१. डोल्पाबाट उम्मेदवार

२०७४ साल मंसिरमा भएको निर्वाचनमा बर्दियाबाट वामदेव उम्मेदवार थिए । तर, उनले निर्वाचनमा जित हासिल गर्न सकेनन् । झन्डै दुई तिहाई सांसद लिएर नेकपा सबैभन्दा ठूलो पार्टी बन्यो । तर, नेकपाका चिनिएका अनुहार वामदेव गौतम, नारायणकाजी श्रेष्ठहरु पराजित भए । तत्कालीन एमाले र तत्कालीन माओवादीलाई एकीकरण गर्न विशेष भूमिका खेलेको मानिएका वामदेव गौतमले चाहिँ पार्टीले ‘प्रचण्ड’ जित हासिल गर्दा पनि हारमा चित्त बुझाउनु प¥यो ।

निर्वाचन सकिएको केही महिनामा नै उनी संसद छिर्ने बाटो खोज्नतिर लागे । उनले २०७५ साल साउनमा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन तयार पारे । धनबहादुर बुढालाई वामदेव गौतमले नै सिफारिस गरेका थिए र उनी पर्यटन राज्यमन्त्री बनेका थिए । बुढाले डोल्पा पुगेर यसबारे छलफल पनि गरे । तर, उनले जनताले नमानेको सन्देश ल्याएर वामदेवलाई सुनाए । 

पहिलो पटक संसद भवन छिर्न गरेको वामदेव गौतमको प्रयास यहाँ नै तुहियो । 

 

२. वामदेवको दोस्रो च्वाइस प्युठान

डोल्पाबाट सांसद धनबहादुर बुढाले रेड सिग्नल देखाएपछि वामदेव गौतमले अर्को प्रयास सुरु गरे । उनले पहिलो नम्बरमा प्युठानबाट उम्मेदवार बन्ने र निर्वाचनमा विजयी भएर संसद छिर्ने सपना बनाउन थाले । तर, यसमा पनि उनले गरेको जोडबलले काम गरेन । प्युठानकी दुर्गा पौडेलले राजीनामा दिन मानिनन् । त्यसपछि दैलेखबाट निर्वाचनमा जान सकिन्छ कि भन्नेमा पनि वामदेव लागे । तर, त्यहाँ पनि उनले सोचेजस्तो रवीन्द्रराज शर्माले राजीनामा दिने भएनन् । यो प्रयासबाट पनि गौतमले आफूलाई पछाडि फर्काउनु पर्यो ।

 

३. काठमाडौं ७ प्रभावकारी नजरमा 

डोल्पा, दैलेख र प्युठानमा अन्तिम प्रयास गरेका वामदेवले अझै पनि संसदमा छिर्न सक्छु भन्नेमा विश्वास बाँकी राखेका थिए । त्यसैले एकपटक फेरि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने र काठमाडौं ७ मा उपनिर्वाचन गरेर संसदमा छिर्ने सपना बनाए वामदेव गौतमले । रामवीर मानन्धरले यसमा सहमती समेत जनाए, उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पनि दिए । तर, आम मानिसले यो कुरालाई मन पराएनन्, काठमाडौं ७ का अधिकांश जनताले यसको विरोध गर्न थाले । पब्लिकमा यसको सन्देश नराम्रो गएको भन्दै वामदेव गौतमले यो कदमलाई पनि फिर्ता लिन पर्ने भयो । 

त्यति बेला रामवीर मानन्धरले वामदेव गौतमलाई देखाएको सदासयताको प्रतिफल अहिले उनले पाएका छन् । रामवीर मानन्धर अहिले सहरी विकास राज्यमन्त्री भएका छन् । 

 

४. कास्की २ को आकांक्षा

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ बाट सांसद पद खाली भयो । उपनिर्वाचन गर्ने सेरोफेरोमा नेकपाका अधिकांश नेताहरुले नै चर्चा गर्न थाले, त्यहाँबाट वामदेव गौतम उम्मेदवार हुँदैछन् । त्यसो त वामदेव गौतमले अधिकारीको निधन भएपछि अधिकारीकै परिवारबाट कोही राजनीतिमा आउने संकेत गरेका थिए । उनको यो संकेत अधिकारीपत्नी विद्या भट्टराईलाई गरेका थिए । 

तर, जब निर्वाचनको चर्चा सुरु भयो, त्यसपछि कास्कीमा नेकपाका नेताहरुले नै चर्चा गर्न थाले, सो क्षेत्रमा वामदेव गौतमले उम्मेदवारी दिँदैछन् । पार्टीभित्र मात्र होइन, बाहिर पनि यसको फेरि विरोध हुन थाल्यो । एक ठाउँबाट हारिसकेको व्यक्ति फेरि निर्वाचनमा जानु जनतामाथि धोका हुनु भन्ने सन्देश बाहिर दिन थालियो । 

अनि विद्या भट्टराईले पनि आफू राजनीतिमा आउने संकेत गर्न थालिन् । र, यही कारणले वामदेवले कास्कीमा निर्वाचन नलड्ने भए । त्यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट भएका वामदेव गौतमले ओलीविरुद्ध केही अभिव्यक्ति दिन थालेका थिए । ओलीलाई गौतम आफू निकट हुन् र पार्टीमा आफूलाई सहयोग गरुन् भन्ने चाहना थियो । त्यसैले ओली स्वयंले सचिवालय बैठकमा वामदेव गौतमलाई कास्की २ मा उम्मेदवार बन्न सल्लाह दिएका थिए । 

तर, यो प्रयासमा पनि वामदेव गौतम सफल हुन सकेनन् । उनले यो प्रयासमा पनि पछाडि फर्किनु प¥यो ।

 

५. विकास प्राधिकरण नेतृत्व गर्ने चाहना

बारम्बार प्रतिनिधि सभामा जान मन हुँदा पनि नपाएपछि वामदेव गौतमले आफूलाई शीर्ष स्थानमा राख्न र चलायामान बनाउन नयाँ अवधारणा ल्याए । उनले यही सम्बन्धि एउटा पुस्तक पनि लेखे । यो अवधारणा थियो– राष्ट्रिय विकास प्राधिकरणको । तर, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यसलाई सोझै अस्वीकार गरिदिए । ओलीले अस्वीकार गरेपछि गौतम उनीसँग बिच्किए । गौतमले सोचेअनुरुप भएको भए यो प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाको नेतृत्व गर्ने थियो । 

 

६. संविधान संशोधन अनि राष्ट्रिय सभामा इन्ट्री

बारम्बार प्रयास गर्दा पनि प्रतिनिधिसभामा जान नपाउने भएपछि वामदेव गौतमलाई नेकपाका अध्यक्ष प्रचण्डले प्रस्ताव राखे– अब राष्ट्रिय सभामा जाऔँ । यो प्रस्ताव गौतमले सहजै स्वीकार गरेनन् । उनले यसमा एउटा सर्त राखे– संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्नुपर्छ ।

यसबाट प्रष्ट थियो, गौतम प्रधानमन्त्री बन्न लालायित छन् । त्यसो त उनले एक अन्तर्वार्तामा पनि आफू प्रधानमन्त्री बन्न नहुने कुनै कारण नरहेको बताएका थिए । तर, जब यो कुरा बाहिर आयो, नेकपाका नेताहरुले नै अहिले संविधान संशोधन गरेर वामदेवको इच्छा पूरा गर्नुलाई बेमौसमी बाजाको संज्ञा दिए । यही कारण केही दिन अनौपचारिक रुपमा गठन भएको माधव नेपाल नेतृत्वको संविधान संशोधन अध्ययन कार्यदल पनि भंग हुन पुग्यो । यसमा पनि गौतमले आफूलाई ब्याक गियरमा हिँडाउनु पर्यो ।

  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार १५:५९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया