तालिवानसँग ‘नेगोसियसन’ गरेकी महिला

खासमा फाव्जिया कुफी बाल्यकालमा डाक्टर बन्न चाहन्थिन् ।

तर, उनले आफ्नो यो सपना पूरा गर्न पाइनन् । अफगानिस्तानमा सन् १९९० को दशकमा जब तालिबान समूहले देशमाथि कब्जा जमायो, कुफीका सबै सपना चकनाचुर भए । यो समूहले महिलाको सार्वजनिक जीवनमा प्रतिबन्ध लगायो । 

पछि कुफीका श्रीमानलाई जन्मकैद गरियो, कुफीलाई हत्या गर्ने योजना बनाइयो । तर, कुफीले आफ्नो पाइला अगाडि बढाउन रोकिनन्, उनले राजनीतिमा पाइला चालिन् ।

ती पाइला अहिले कहाँ पुगेका छन् त ? यसको जवाफ हो– एउटा सफलताको बिन्दूमा । किन ? किनकि त्यही तालिवान समूहसँग अहिले कुफी बारम्बार वार्ता गरिरहेकी छिन् । र, अब छिट्टै यो वार्ता निष्कर्षमा पुग्ने अनुमान गरिएको छ । तालिवान अहिले अमेरिकी सेनासँग पनि वार्ता गरिरहेको छ र यो वार्ता सकारात्मक हुने विश्वास धेरैले लिएका छन् ।

अनि अहिले अफगानिस्तानबाट वार्ता टोलीमा सहभागी कुफी भन्छिन्, ‘अब म अझ बलियो हुनु आवश्यक छ, मैले अफगानिस्तानका महिलाको प्रतिनिधित्व गरेकी छु ।’

अफगानिस्तानको सरकारी पक्ष र तालिवानको पक्षबाट भइरहेका वार्तामा अफगानिस्तानलाई प्रतिनिधित्व गरिरहेकी छिन्, कुफीले । यो वार्ता टोलीमा कम्तिमा पनि ७० जना छन् । र, कुफीजस्तै महिला चाहिँ जम्मा दुई जना । गत वर्ष यही समयमा कुफी र लैला जाफरी भएर मस्कोको एउटा होटलमा पुगेका थिए, अन्य ७० पुरुषहरुसँगै । 



त्यो होटलको एउटा कोठामा थिए, तालिवान । अर्को कोठामा यी महिलाहरुले अन्य पुरुषहरुसँगै तालिवानसँग वार्ता अगाडि बढाए ।



‘मैले उनीहरुलाई अब अफगानिस्तान बहुआयामिक भएको र अब एउटै विचारले मात्र देश अगाडि नबढेको बताएकी थिएँ,’ बिबिसीसँगको कुराकानीमा कुफीले भनेकी छिन्, ‘तालिवानका केही व्यक्तिहरुले मलाई हेरिरहेका थिए, अरु केही नोट लिइरहेका थिए, केहीले मलाई हेर्दै हेरेनन् ।’

यो वार्ता निकै लामो चलेको थियो । तर, तालिवानले यो वार्ता टोलीसँग खासै कुराकानी गरेन । उसको आरोप थियो– यो वार्ता टोली अमेरिकी पपेट मात्र हो, हामी सोझै अमेरिकासँग वार्ता गर्छौँ ।

तर, अमेरिकी र रुसी दबाबका कारण उनीहरुको वार्ता फेरि अगाडि बढ्यो । 

सानैमा बनाएको एउटा सपनामा यही तालिवान समूहका कारण ब्रेक लागेको थियो, कुफीको । 

त्यसैले उनले महिला सहभागिताको विषयमा अझ जोडदार माग उठाएकी थिइन् । ‘हाम्रो पक्षमा केही महिलाको प्रतिनिधित्व थियो,’ कुफीले भनेकी छिन्, ‘त्यसैले मैले पनि उनीहरुलाई पनि महिला ल्याउनु भनेको थिएँ । मेरो यो माग सुन्दा उनीहरु हाँसेका थिए ।’

कुफीले यो वार्तामा महिला सहभागिताबारे प्रश्न उठाएकी थिइन् । तर, यसबारे सुन्दा उनीहरु हाँसेका थिए । 

‘उनीहरुले प्रधानमन्त्री महिला भए पनि राष्ट्रपति महिला हुननसक्ने बताए,’ कुफीले भनिन्, ‘महिलाहरु न्यायाधीश पनि हुनसक्दैनन् भन्ने उनीहरुको कुरा थियो ।’

यो कुरामा कुफी सहमत भइनन्, तर त्यहाँ यही विषयमा विवादमा जान पनि उनी तयार भइनन् । किनकि यो वार्तामा दुवै पक्षले एकअर्कासँग विवाद गर्न पाउँदैनथे ।

अहिले पनि तालिवानले महिलाहरुले शिक्षा लिन पाउने तर इस्लामिक कानुनअनुसार उनीहरुका लागि पनि सीमा तोकिनु पर्ने बताइरहेका छन् ।

कुफीले पहिलो पटक एउटा तालिबानी लडाकूलाई सन् १९९६ मा भेटेकी थिइन् । ‘म काबुलमा मेडिकल साइन्सको विद्यार्थी थिएँ,’ कुफीले भनेकी छिन्, ‘उनीहरुले काबुललाई आफ्नो नियन्त्रणमा लिएका थिए । त्यति बेला अटोमेटिक राइफल लिएर तालिबानी लडाकूहरु बाटोमा हिँडिरहेका हुन्थे ।’

यो अत्यन्त निराशाजनक समय थियो र त्यसले आफूलाई निकै दुःख भएको कुफीले बताएकी छिन् । ‘त्यही बेला तालिबानले महिलाले बुर्का लगाउनु पर्ने बताए,’ उनले भनिन्, ‘मैले कहिल्यै पनि बुर्का किनिनँ, किनमि मैले हाम्रो संस्कृतिको कुनै भाग नै नभएको विषयमा पैसा खर्च गर्नु पर्छ भन्ने नै सोचिनँ ।’

  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १५:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया