काठमाडाैं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेका छन् ।
मन्त्री नेम्वाङले काठमाडौँ उपत्यकाका सडकहरु खाल्डा खुल्डीमुक्त र धुलोरहित बनाउने योजनामा आफुलाई विशेष सफलता मिलेको दाबी गरेका छन् । सडक विभागले काठमाडौँ उपत्यकाका मुख्य सडकहरुमा रहेका २४ हजार तीन सय वर्गमिटर सडक अर्थात् नौ हजार पाँच सय वटा खाल्डा खुल्डी पुरेको छ ।
मन्त्री नेम्वाङले सपथ् लिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका सडकलाई खाल्डा खुल्डी मुक्त बनाउन निर्देशन दिएका थिए । सडकका खाल्डा पुर्ने काम सडक विभागको नियमित काम नै हो । तर, मन्त्री नेम्वाङले आफ्नो विशेष पहलमा सडकका खाल्डाखुल्डी पुर्ने, आकर्षण बढाउन लेन मार्किङ गर्ने, ट्राफिक लाइट व्यवस्थापन, लेन थप्ने, आकाशे पुल बनाउने लगायत काममा सुधारको थालनी भएको दाबी गरेका छन् ।
शनिबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आफ्नोे एक सय दिने अवधिमा दुई सय किमि सडक कालोपत्रे, एक सय ३० किमिसडक ग्रावेल गर्ने र ६९ किमि नयाँ ट्रयाक निर्माण गर्ने काम भएको दाबी गरे । उपत्यकामा मात्रै करिब २७ किमि सडक कालोपत्रे भएको छ । काठमाडौका सडकमा रहेका १७ वटा ट्राफिक लाइट बल्न थालेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अहिलेसम्म २४.१३ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
मन्त्री नेम्वाङले मध्यपहाडी लोकमार्गको १८ किमि कालोपत्रे, ६ वटा पुलको निर्माण, हुलाकी राजमार्गको ४८ किमि सडक कालोपत्रे र पाँच वटा पुल निर्माण भएको प्रगति सार्वजनिक गरे । मध्यपहाडी लोकमार्गमा १६ वटा पुल बनाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ८ वटा पुल निर्माण सकिएको मन्त्रालयले जनाएको छ ।
‘थुप्रै सडक कालोपत्रेको तयारीमा छन्, यो अवधिमा चिसोका कारण उल्लेख्य कालोपत्रे हुन नसकेपनि अब कालोपत्रेको काम अघि बढ्छ, उपत्यकामा मात्रै अब ८५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य छ,’ मन्त्री नेम्वाङले भने ।
मन्त्री नेम्वाङले कोटेश्वरको जाम घटाउन सडकमा थप लेन विस्तार गर्ने प्रक्रिया अघि बढेको र जाम घटाउन मनोहरा करिडोरलाई समेत प्रयोगमा ल्याउन लागिएको बताए । यस्तै, ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा आकाशे पुल निर्माण गर्नकालागि डिपीआर बनाउन प्रक्रिया सुरु भएको बताए ।
मन्त्री नेम्वाङले उपत्यकाका प्रमुख सडकहरुसँग जोडिएको शाखा सडकहरुको स्तरोन्नति गर्न आवश्यक देखिएकाले सो कार्यकालागि बजेट तथा ठेक्का व्यवस्थापन गरी निर्माण कार्य समेत सुरु गरिएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।