हाम्राे पार्टी अहिले फुट्दैन: प्रचण्ड

सिन्धुपाल्चाेक— नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटको कुरा हल्ला मात्रै भएको बताएका छन् । ‘हाम्रो पार्टीमा बहस, छलफल र मतभेदहरू छन्,’ प्रचण्डले भने, ‘मतभेद र संघर्ष एकता र परिवर्तनमा रूपान्तरण हुन्छन् । तर, कुनै एक नेताले चाहेर पार्टी फुट्ने कुरा असम्भव छ । पार्टी फुटको कुरा हल्ला मात्रै हो ।’ 

शनिबार सुकुटेमा सञ्चारकर्मीसँगको भेटघाटमा प्रचण्डले जीवित पार्टीमा मतभेद हुनु स्वाभाविक भएको जिकिर गरे । ‘राष्ट्रिय सभाका लागि अघि सारिएका नेता वामदेव गौतम र अर्थमन्त्री युवराज खतिवडा पहिला एउटै पार्टीका हुन् । एमसिसी अध्ययन कार्यदल मैले नै प्रस्ताव गरेर तीन सदस्य बनाइएको हो । त्यहाँ पनि पूर्वपार्टी भन्ने छैन । 

अनि कसरी दुइटा पार्टीको कुरा आउँछ ?’ प्रचण्डले भने, ‘कुन नेता कहाँ उपयुक्त हुन्छ भनेर छलफल र मतभेद हुनु एउटा जीवित पार्टीभित्र स्वाभाविक प्रक्रिया हो ।’ अमेरिकी सहयोग एमसिसीसम्बन्धी सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले राष्ट्रहितविपरीत संसद्बाट पारित नहुने बताए । 

एमसिसी दुईपटक संशोधन भइसकेको उल्लेख गर्दै उनले भने, ‘यो कुनै बाइबल होइन । नेपालको हितमा भए पारित हुन्छ, होइन भने हुँदैन । ५५ करोड डलरमा राष्ट्रियता बेच्ने कल्पना पनि गर्न सकिँदैन ।’ यसका लागि अमेरिकासँग कूटनीतिक तवरबाट छलफल गरिने बताए । परिमार्जनसहित एमसिसी पारित गरेर अमेरिकासँग थप सम्बन्ध विस्तार गर्न चाहेको उनको भनाइ थियो । नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनतालाई सम्मान गर्न उनले अमेरिकालाई आग्रह गरे ।





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १२:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया