नीतिगत भ्रष्टाचार संस्थागत भएकोमा कांग्रेसको चिन्ता

मकवानपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नीतिगत भ्रष्टाचार संस्थागत भएको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नीतिगत भ्रष्टाचार बढेकोमा चिन्ता व्यक्त गरेका हुन् । 

प्रधानमन्त्रीले ७० करोड कमिसनको खेलमा लागेका सञ्चारमन्त्रीलाई कारबाही गर्नुपर्नेमा उल्टै उनको बचाउ गरेको भन्दै पौडेलले आपत्ति जनाए । प्रधानमन्त्रीले सो अडियोमा भएको आवाज बाँस्कोटाको नभएको बताउँदै आएका छन् । 

पौडेलले नितीगत र संस्थागत भ्रष्टाचारको विरुद्धमा नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने बताए । कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसले आफ्नो कर्तव्य, अधिकार र दायित्व निभाउन जरुरी रहेको पनि बताए । कांग्रेस सभापतिले १४औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पद बाँडेर विधानविपरीत काम गरेको पनि नेता पौडेलको आरोप छ । 

कांग्रेस महामन्त्री शंशाक कोइरालाले १४औँ महाधिवेशन प्रारम्भ भइसकेको अवस्थामा आचारसंहिताविपरीत सभापति देउवाले विभाग गठन गरेको आरोप लगाए । ४ वर्षसम्म विभाग गठन नगर्ने तर अहिले २८ वटा विभाग गठन गरिएको भन्दै उनले असहमति प्रकट गरे । 

पूर्वमहाम्नत्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीलाई सुदृढ गर्न र प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवाले समयसुहाउँदो किसिमले नेतृत्व प्रदान गर्न नसकेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले सबैको सहमतिमा हुनुपर्ने काम एकलौटी गर्ने प्रवृत्तिले पार्टीभित्र समस्या पारेको बताए । 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १६:२१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया