काठमाडौं– चीन र दक्षिण कोरियाबाट आएका दुई नेपाली युवालाई कोरोना भाइरसको संक्रमण भएको आशंका टेकु अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
उनीहरुमाथि चिकित्सकको निगरानी गरिएको छ र परीक्षणहरु सुरु भएको छ ।
यी दुईजना मध्ये एक जना चीनबाट फर्किएका हुन् भने अर्का एक व्यक्ति दक्षिण कोरियाबाट । उनीहरु ज्वरो आएको भन्दै अस्पतालमा पुगेका थिए । कोरोना प्रभावित देशबाट फर्किएका र ज्वरो आएको कम्प्लेन भएकाले उनीहरुलाई आइसोलेसनमा राखिएको हो ।
उनीहरुलाई फर्किएको केही दिनमा नै ज्वरो आएको भन्दै अस्पताल पुगेका थिए । अहिले उनीहरुको विभिन्न नमूना संकलन गरेर ल्याबमा पठाइएको छ । भोलिसम्म दुवैको रिपोर्ट आउने अस्पतालले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै सतकर्ता अपनाउन अनुरोध गरेको छ । अहिलेसम्म विश्वका ६७ भन्दा धेरै देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरिया, इरान, इटालीजस्ता देशमा यसको संक्रमण बढ्दो छ । त्यहाँ केही व्यक्तिहरुको पनि मृत्यु भएको छ ।
शनिबार र आइतबारमात्रै अष्ट्रेलिया, भारत, अमेरिकामा एक एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।