राेल्पामा महराकाे काग र बाजकाे कथा

गृहजिल्ला रोल्पा आइपुगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्लाबासीले भव्य स्वागत गरेका छन् । मंगलबार आफ्नो जन्मघर रोल्पा नगरपालिका–१, मेबाङ पुगेका महरालाई जिल्लाबासीले रोल्पा प्रवेश गरेसँगै खुंग्री, सुलिचौरलगायत दर्जनौँ स्थानमा अविर, फूलमालाले स्वागत गरेका थिए । मेबाङस्थित आफ्नो घर पुगेका महरालाई स्वागत गर्न सदरमुकाम लिबाङबाट कार्यकर्ता तथा शुभेच्छुक घरमै पुगेका थिए ।

दिउँसो लिबाङ पुगेका महरालाई र्‍याली र पञ्चेबाजासहित सात्तालेबाट बजारहुँदै टुँडिखेल पु¥याइएको थियो । टुँडिखेलमा खुसियाली मनाउन जम्मा भएका स्थानीयलाई सम्बोधन गर्दै महराले अहिलेको व्यवस्था ल्याउने मध्येका आफू पनि एक भएको बताए । ‘दुई–दुईपटक शान्तिवार्ताको संयोजक मै हुँ, तेस्रो वार्तामा पनि म सदस्यका रूपमा थिएँ र संविधान मस्यौदाकारमध्ये म एउटा हुँ, दुइटै संविधानसभाको सदस्य पनि हुँ’, महराले भने, ‘संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र भनियो त्यसको अभियन्ता पनि म हुँ । तर त्यो संविधान र व्यवस्थाभित्र केही मान्छेहरू छन् जसले यो चाहँदैनन्, फेरि फर्काउन चाहन्छन् । त्यस्ता षड्यन्त्रकारीहरूको सुनियोजित सञ्जालमा मलाई फसाइयो । त्यो ठूलो षड्यन्त्र थियो, त्यो षड्यन्त्रविरुद्ध म लडेँ र जितेँ ।’

पूर्वसभामुख महराले आफूलाई कसैले रोक्न चाहेर नरोकिने बताए । राष्ट्रिय स्वाधिनताको निमित्त हिजोदेखि लड्दै आएको र सधैँभरि लड्ने भन्दै महराले राष्ट्रियताको पक्षमा जति ठूलो लडाईं लड्नु परेपनि टाउको नझुकाउने बताए । ‘यो मेरो माटो हो, यसको रक्षा मेरो कर्तव्य हो’ महराले भने ‘मेरो देश नेपालको रक्षा मेरो कर्तव्य हो, राष्ट्रिय स्वाधिनताका रक्षाका लागि हिजो, आज र भोलि पनि लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

‘कसैले रिस गरेर महरा पछि हट्दैन’
सभालाई सम्बोधनको क्रममा महराले काग र बाजको कथासमेत सुनाए । उनले भने ‘एउटा कागले हड्डी समात्यो र बाजले देख्यो, हड्डी देखेपछि कागले बाजलाई ठुङ्न थाल्यो । यति ठुङ्यो कि ठुङ्दाठुङ्दा त्यो काग हैरान भयो । अनि कागले सोच्यो, यो हड्डी नफाल्दासम्म यसले ठुङ्याठुङ्यै गर्छ । अनि कागले हड्डी फालिदिएपछि बाज हड्डीतिर लाग्यो । काग आफ्नो ठाउँमा लाग्यो ।’

कथामा गहिरो कुरा लुकेको भन्दै महराले भने, ‘सायद कसैले मैले त्यो सत्ताको ठूलो हड्डी समाउन थालेको देखे । म सभामुख भइसकेको मान्छे । त्योभन्दा माथि जानेवाला थिएँ । र, तपाईंहरूको आशीर्वाद र माया हुने हो भने अहिले पनि जान्छु । फेरि पनि जान्छु । कसैले चाहेर, रिस गरेर महरा पछि हट्नेवाला छैन ।’

२४ वर्षपछि जन्मघरमा सुत्दै
पूर्वसभामुख कृष्णबहादुर महराले २४ वर्षपछि आफू आफ्नो जन्मघरमा सुत्न लागेको बताए । अरुबेला रोल्पा आए पनि आफ्नो घरमा नसुतेको भन्दै महराले भने, ‘आजदेखि म पाँच÷सात दिन आफ्नै घरमा बस्छु ।’ रोल्पामा आफूले अपार सहयोग र समर्थन पाएको भन्दै जिल्ला पुग्दा आफू भावुक र खुसी भएकोसमेत उनले बताए ।





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १९:४०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया