प्रदेश सभामा स्थापितले दर्ता गरे गाँजासम्बन्धी विधेयक

बागमती प्रदेशसभामा गाँजाखेतीलाई नियमन गर्न विधेयक दर्ता भएको छ । संघीय संसदमा सांसद शेरबहादुर तामाङले दर्ता गराएको विधेयक मंगलबार सत्तारुढ नेकपाका सांसद केशव स्थापितले बागमती प्रदेश सभामा दर्ता गरेका हुन् ।

सांसद स्थापितले गैरसरकारी विधेयकको रुपमा प्रदेशसभा सचिवालयमा ५३ औं नम्बरमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता गरेको जानकारी दिए । 

स्थापितले ५ महिनाको गृहकार्यमा संघीय र प्रदेश सांसदको छलफलका आधारमा विधेयक तयार पारिएको बताए । गाँजाखेतीलाई नियमन र व्यवस्थापन गरेर रोजगारमूलक बनाउनेतर्फ सरकारलाई उन्मुख गराउन आफूले विधेयक दर्ता गरेको दाबी गरे ।

‘सरकारको नियन्त्रणमा रहने गरी नियमन निकाय गठन गरेर गाँजालाई व्यावसायिक बनाउने विधेयकमा उल्लेख छ ।’ उनले नयाँपत्रिकासँग कुरा गर्दै भने, ‘अन्तर्राष्ट्रिय रूपमा बन्देज छैन, त्यसकारण पनि नेपालले आन्तरिक गृहकार्य गरेर गाँजालाई व्यावसायिक बनाउन सक्छ ।’

विभिन्न औषधि बनाउन प्रयोग गरिने गाँजा अवैध रूपमा बिदेसिएका कारण कानुनी रुपमै नियमन र व्यस्थापन गरेर सदुपयोग गर्न सकिने उनको धारणा छ । सांसद स्थापितले आफूले दर्ता गरेको विधेयकबारे संसदमा छलफल अघि बढाउन आगामी बैठकमा अनुरोध गर्ने जानकारी दिए ।

यसअघि संघीय संसदमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विरोध खतिवडाले गाँजालाई नियमन र व्यवस्थापन गनुपर्ने धारणा राख्दै आएका छन् । सांसद खतिवडाको निर्वाचन क्षेत्रमा पर्ने जिल्लाको पूर्वीक्षेत्र राक्सिराङ र कैलाश गाँजा खेतीका लागि उपयुक्त मानिन्छ । बर्सेनि गाँजाखेती हुने राक्सिराङ र कैलाशमा प्रहरीले बिघौंबिघामा लगाइएको गाँजाको ब्याड नष्ट गर्दै आएको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७६ बुधबार १२:४६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया