काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् ।
कोरोना भाइरसले पर्यटन उद्योगमा पार्न सक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । उनले कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने बताए ।
उनले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारकोतर्फबाट चाल्नुपर्ने कदमबारे तीनदिनभित्र सुझाब दिन पनि आग्रह गरे। साथै विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकको धेरै आवतजावत हुने काठमाडौंबाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया पनि अघि बढाइएको बताए ।
अभिभावकका रुपमा राज्यभएकाले अहिले धेरै नआत्तिई आफ्ना व्यवसाय सञ्चालन गर्न पनि उनले पर्यटन व्यवसायीसँग आग्रह गरे । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोनाभाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी, वायुसेवा सञ्चालक संघ, ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान), नेपाल एसाेसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा), होटल एसाेसिएसन अफ नेपाल (हान)लगायत संस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराउँदै राज्यले यो उद्योगलाई बचाइराख्न बैंकको ब्याजदरलगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने माग राखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।