आफ्नो खेल छाडेर श्रीमतीको खेल हेर्न अस्ट्रेलिया फर्किंदै मिचेल स्टार्क

एजेन्सी– अस्ट्रेलियाली क्रिकेटको पुरुष टिम अहिले दक्षिण अफ्रिकासँगको सिरिजका लागि दक्षिण अफ्रिकामा रहेको छ । तर, अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क भने दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेल छाडेर आफ्नो देश फर्किन लागेका छन् ।  

उनी घाइते भएका कारण वा अन्य कुनै कारणले स्वदेश फर्किने तयारी गरेका होइनन्, मिचेल आफ्नी श्रीमतीको खेल हेर्नका लागि अस्ट्रेलिया फर्किने भएका हुन् । 

आगामी आइतबार मेलवर्न क्रिकेट मैदानमा भारत र आयोजक अस्ट्रेलीयाबीच महिला टी–२० विश्वकपको फाइनल खेल हुँदै छ । मिचेलपत्नी एलिसा हेली अस्ट्रेलियाली टिमकी मुख्य खेलाडी हुन् । अस्ट्रेलियालाई फाइनलसम्म पुर्याउनमा उनको महत्वपूर्ण भूमिका थियो ।  

सोही प्रतियोगितामा श्रीमती हेलीलाई उत्साह दिनका लागि मिचेल स्टार्क सोही दिन हुने दक्षिण अफ्रिकाविरुद्धको खेल छाडेर अस्ट्रेलिया फर्किन लागेका हुन् ।

सो प्रतियोगिताबाट अस्ट्रेलिया पाँचौँपटक उपाधि जित्ने लक्ष्यमा छ । यता, भारतको भने पहिलोपटक उपाधि जित्ने लक्ष्य छ । 

मिचेल आफ्ना प्रशिक्षकसँग अनुमति लिएरै स्वदेश फर्किन लागेका हुन् । उनका लागि आफ्नी श्रीमतीले फाइनल खेलेको हेर्नु जीवनकै महत्वपूर्ण क्षण हुने भएकाले अस्ट्रेलिया फर्किन अनुमति दिइएको टिमका मुख्य प्रशिक्षक जस्टिन लान्जरले बताएका छन् । 



‘घरेलु मैदानमा एलिसा हेलीको फाइनल खेल हेर्न पाउनु स्टार्चका लागि जीवनकै महत्वपूर्ण अवसर हुन सक्छ, यसैले उनलाई खेल हेर्न तथा उक्त माहोलमा सामेल हुन दिएका छौँ,’ लान्जरले बताए । 

प्रशिक्षक लान्जरले थपे, ‘उनको अभाव त पक्कै महसुुस हुनेछ, तर हामीसँग उत्कृष्ट विकल्प छन् ।’ अब उनको स्थानमा जोस हेजलउड, झे रिचर्डसन वा केन रिचर्डसनमध्ये एकले अवसर पाउने उनले बताए ।



अस्ट्रेलियाले सो खेल जिते पनि वा हारे पनि खासै फरक पर्ने छैन । किनकि उसले यो सिरिज गुमाइसकेको छ । अस्ट्रेलिया तीन खेलको सिरिजमा २–० ले पछि छ । 

  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १६:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया