Mon, 25 May, 2020


कोरोना भाइरसः इटालीका डेढ करोड मानिस ‘क्वारेन्टाइन’मा
फरकधार / फागुन २५, २०७६

एजेन्सी– इटालीका प्रधानमन्त्रीले अहिले देशका कम्तिमा पनि डेढ करोड मानिस अनिवार्य क्वारेन्टाइनमा रहेको बताएका छन् । उनले लोमबार्डी क्षेत्रका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको बताएका हुन् । इटालीका १४ प्रदेशका मानिसलाई आवतजावतमा रोक लगाइएको छ । 



अप्रिल पहिलो सातासम्मका लागि यी ठाउँहरु ‘लक्ड डाउन’ गरिएको उनले बताएका हुन् । 

अत्यन्त द्रुत रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणलाई रोक्न त्यहाँका जिम, पुल, संग्रहालय, स्काइ रिसोर्ट्सहरु पनि बन्द गरिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण युरोपमा सबैभन्दा प्रभावित देश नै इटाली हो । शनिबार त्यहाँ कोरोना भाइरस संक्रमितहरुको संख्या निकै धेरै बढेको मानिएको थिए । 

अहिलेसम्म इटालीमा २३० जनाभन्दा धेरैको मृत्यु कोरोना भाइरसका कारण भएको छ । चौबिस घन्टामा त्यहाँ ५० जनाको मृत्यु भइरहेको छ । शनिबार ५८८३ जनामा त्यहाँ कोरोना भाइरस संक्रमण देखियो । शनिबारअघिसम्म त्यहाँ १२ सय जनामा मात्र कोरोना भाइरस देखिएको बताइएको थियो ।

इटालीको उत्तरी क्षेत्र लोमबार्डी जहाँ १ करोड मानिस बस्छन् र इटालीको आर्थिक राजधानी मिलानसहित अन्य १४ प्रदेशहरुलाई लक्ड डाउन गरिएको हो ।

इटालीका प्रधानमन्त्री गुइसेप्पे कोन्टेले यसलाई नै भाइरस संक्रमणको प्रभावकारी उपाय भएको बताएका छन् ।

त्यहाँ अब खुल्ने रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरु एक मिटर पर मात्र बस्न सक्ने व्यवस्था गरिएको छ ।

नयाँ नियमहरु उल्लघंन गर्नेहरुलाई त्यहाँको सरकारले तीन महिनासम्म जेल सजाय दिने बताएको छ ।

त्यहाँका सबै खेलकुदका कार्यक्रमहरु पनि अहिलेका लागि स्थगित गरिएका छन् ।

अर्कोतिर, कोरोना भाइरसको संक्रमण इरानमा पनि निकै बढेको छ । त्यहाँ ६ हजारभन्दा धेरैमा यो भाइरस संक्रमण देखिएको छ भने १४५ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ । अधिकारीहरुले विश्वभर अब १ लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् । र, विश्वभर कोरोना भाइरस संक्रमणका कारण ३५ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । गत डिसेम्बरमा पहिलो पटक चीनको वुहान सहरमा यो भाइरस देखिएको थियो । 

अब विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई आफ्नो सबैभन्दा ठूलो प्राथमिकता बताएको छ ।

उता, चीनमा कोरोना भाइरस संक्रमितलाई राखिएको एउटा क्वारेन्टाइन केन्द्र भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । त्यहाँबाट ७० जनालाई उद्धार गरिएको चिनियाँ मिडियाले जनाएका छन् ।

विश्व महिला आइस हकी च्याम्पियन्ससिप क्यानडामा हुने भनिएको थियो, तर अहिलेका लागि यो प्रतियोगिता स्थगित गरिएको छ ।

एशियाली देश दक्षिण कोरियामा पनि कोरोना भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि आएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्