Sun, 05 Apr, 2020


उत्सव मनाउँदा, शुभकामना दिँदा महिलाका मुद्दा ओझेलमा परे
अर्चना थापा
फरकधार / फागुन २५, २०७६

आज मार्च ८ । अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । सन् १९९१ देखि यो दिवस मनाउन थालियो र आजसम्म आइपुग्दा यो ११० वर्ष पुगिसकेको छ ।



नेपालमा पनि विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाइने गरेको छ । अहिले त सामाजिक सन्जालमा विहानैदेखि शुभकामना दिएको देख्न सकिन्छ ।

तर, यसमा मेरो रिजर्भेसन छ, महिला दिवस कसरी मनाउने भन्नेमा मेरो धारणा फरक छ । त्यसो त केही वर्ष यता नेपालमा मात्र नभएर विश्वमा नै महिला दिवस कसरी मनाउने भन्ने तौरतरिका फेरिका छन् । आजभोलि महिला दिवसमा सामाजिक सन्जला रंगिएका हुन्छन्, शुभकामना आदनप्रदान हुन्छ । 

यसरी सामाजिक सन्जाल रंगिदा, एकाअर्कालाई शुभकामना दिँदा के साँच्चिकै श्रमिक महिलाको आन्दोलन, मुद्दा र संघर्षलाई न्याय भएको छ त ? कि यी सब कुराहरु ओझेलमा परेका छन् ? मलाई त यसले झन् महिला आन्दोलनलाई ओझेलमा पारेको प्रतित हुन्छ, शुभकामना दिँदैमा आफ्नो ड्युटी वा कर्तव्य पूरा भएको जस्तो गर्नु झन् गलत हो भन्ने लाग्छ । 

अहिले पनि विश्व परिवेशलाई हेर्ने हो भने धेरै महिलाहरु शोषणमा नै परिरहेका छन्, पीडित छन् । विश्वका जुनसुकै कुनामा भए पनि महिलाहरु अहिले पनि संघर्ष गरिरहेका छन्, उनीहरुका संघर्षका दर्दनाक कथाहरु छन् । महिलाका यस्ता कथा र मुद्दाहरुमाथि वर्षभरि खोज र अनुसन्धान गर्नु त्यसैले पनि जरुरी भएको छ । अनि यो कुरा एक दिनमा मात्र समेटिनु पनि हुँदैन । ८ मार्च एक दिन सरकारी तथा गैरसरकारी संस्थाहरुले बिदा दिएर, गोष्ठी गरेर, सम्मेलन गरेर, नाराबाजी गरेर, र्याली तथा अन्य कार्यक्रम गरेर मात्र यो कुराको सम्बोधन हुँदैन, पर्याप्त पनि हुँदैन । किनकि पछिल्ला सन्दर्भहरुलाई हेर्ने हो भने जब ९ मार्च हुन्छ, ८ मार्चका सबै कुराहरु बिर्सिइन्छ ।

तर, यो सबको अर्थ पछिल्लो समय केही परिवर्तन नभएको भन्ने पनि होइन । ११० औं अन्तर्राष्ट्रिय महिला दिवससम्म आइपुग्दा विश्वमा महिलाका धेरै मागहरुको सम्बोधन भएको छ । महिलाको हकहितको रक्षा गर्न धेरै कानुन निर्माण भएका छन्, धेरै कानुन संशोधन भएका छन् । नेपालको सन्दर्भमा भन्ने हो भने यी सबै कानुन आफ्नो पक्षमा भएका छन् भन्नेबारे अझै पनि कतिपय महिलालाई नै थाहा छैन । महिला दिवसलाई भड्किलो बनाउँदै गर्दा हामीले बिर्सन हुँदैन, श्रमिक महिला दिवसको सुरुवात के कारणले भएको थियो र हामी समानताको यात्रामा कहाँसम्म पुगेका छौँ । हाम्रो समानताको यात्रा कहाँसम्म पुगेको हो भन्ने कुरा हामीले विश्लेषण गर्न जरुरी छ, यसबारे सबैले बुझ्न जरुरी छ ।

केही अघिसम्म पनि महिलाको अधिकार, न्याय, ज्यालामा समानताजस्ता मुद्दा लिएर नारी दिवस मनाइन्थ्यो । अब अहिले कति महिलाको पहुँचमा न्याय छ त ? कति महिलाले समान ज्यालाको अधिकार पाएका छन् ? कति महिलाले आफ्नो अधिकार सुरक्षित गर्न पाएका छन् ? यी सबै प्रश्नको मूल्यांकन गर्ने समय अब आएको होइन र ?

नेपालमा पनि कतिपय कानुनहरु महिलाको पक्षमा बनेका छन् । कतिपय नियम तथा कानुन महिलामैत्री बनेका पनि छन् । केही बन्ने क्रममा छन् । तर, जो पीडित महिलाहरु छन्, उनीहरुलाई यी नियम र कानुनको विषयमा नै थाहा छैन, उनीहरुलाई यी कानुनमा के छ, हामीले कसरी न्याया पाउन सक्छौँ भन्नेबारे कुनै जानकारी छैन । 

जबसम्म आफ्नो अधिकार प्रयोग गर्ने क्षेत्रबारे र त्यसलाई प्रयोग गर्न सकिन्छ भन्नेबारे नै महिलालाई थाहा छैन, तबसम्म महिलाहरु खुसी हुनुपर्ने, फुरुक्क पर्नु पर्ने कुनै कारण नै छैन, अवस्था नै छैन ।

हो, १० वर्ष यताको समयमालाई हेर्ने हो भने नेपाली महिलाको अवस्थामा पनि राम्रो सुधार भएको छ । नेपाली महिलाहरुले पनि विशेष पहुँचहरु पाएका छन् । महिलामैत्री कानुन बन्नु र हाम्रा नेपाली महिलाले पनि विशेष पदमा आफूलाई पाउनु अत्यन्त सुन्दर कुरा हो । हामीले अब यही कानुनलाई आधार बनाएर हाम्रो गन्तव्यसम्म पनि पुग्ने बाटो वा आधार निर्माण गर्न सक्छौँ ।

अब हाम्रो आवश्यकता भनेको दूरदराजका महिलालाई पनि न्यायको प्रत्याभूति गराउन सक्नु हो । महिलालाई मात्र होइन, समाजका प्रत्येक नागरिकलाई समेत हामीले सचेत बनाउनु अबको आवश्यकता हो ।

अनि हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदा उत्सवका रुपमा मात्र मनाउने होइन, यसको खास औचित्यमाथि प्रश्न नउठोस् भन्ने तरिकाले मनाउन जरुरी भइसकेको छ । हामीले बिर्सनु हुँदैन, वर्षेनी मनाउने यो उत्सवले हाम्रो संघर्ष र आन्दोलन, उपलब्धि र थप जिम्मेवारीलाई यो महिला दिवसले सम्झाओस्, हौसला प्रदान गरोस् !

(थापासँग गरिएकाे कुराकानीमा आधारित)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्