Mon, 06 Apr, 2020


दुर्घटनामा बालकको मृत्यु : ४४ घण्टापछि अन्त्येष्टी
फरकधार / फागुन २६, २०७६

टिपरको ठक्करबाट मृत्यु भएका १० वर्षीय बालक आकाश रानाको ४४ घण्टापछि सोमबार अन्त्येष्टि भएको छ । 



शनिबार दिउँसो बेलौरी नगरपालिका ४ बजारमा म १ ख ८४९ नम्बरको टिपरले ठक्कर दिँदा रानको घटनास्थलमै मृत्यु भएको थियो । टिपर चालकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै स्थानीले शनिबार र आइतबार प्रदर्शन गरेका थिए । प्रदर्शन रोक्न प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

बालकका आफन्त मनोहर प्रसाद रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाएपछि अन्त्येष्टी गरिएको बताए । ‘प्रहरीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्ने आश्वास दिएको छ,’ उनले भने, ‘त्यही भएर आन्दोलन रोकेर अन्त्येष्टि गरेका हौं ।’

दुर्घटना गर्ने टिपरमा स्थानीयले आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले घटना बारे थप अनुसन्धान भइरहेको बताए । 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्