धरहरा पुनःनिर्माण : ३३ प्रतिशत सम्पन्न, असोज महिनाभित्रमा पूरै सकिने

काठमाडाैं– गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिनाभित्रमा सक्ने गरी तीव्र अघि बढेको छ ।

नौतलाको काम जारी रहेको, हालसम्मको ३३ प्रतिशत सम्पन्न र ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराए । दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले पुनःनिर्माणको जिम्मा पाएको थियो । जम्मा तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनः निर्माणको शिलान्यास गरेका थिए ।अहिले दैनिक १ सय ५० कामदार  निर्माणमा खटिएका छन् । पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला,उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैँचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १६:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया