काठमाडौं– सरकारले कोरोना भाइरसको उपचारका लागि काठमाडौं उपत्यकामा चारवटा अस्पताल छुट्याइएको छ । सरकारले ती अस्पतालमा कोरोनाको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै २३५ आइसियु बेड पनि तयार पार्ने भएको छ ।
कोरोनाको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा व्यवस्था मिलाउने भएको हो । यी अस्पतालमा कोरोना संक्रमणको मात्रै उपचार हुनेछ । वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने सरकारको तयारी छ ।
आइतबार राष्ट्रिय सभामा बाल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।
उनले कोरोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको पनि बताए । संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिन सक्ने गरी काम भइरहेको भन्दै मन्त्री ढकालले भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपिल गरेका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठनले महाहारी घोषणा गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।