के पैसाकै आडमा हिमेश ‘कमेडी च्याम्पियन’ बनेका हुन् ?

काठमाडौं– नेपालमा पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी सो भनिएको कमेडी च्याम्पियनमा धादिङका हिमेश पन्तले पहिलो विजेता बन्दै २५ लाख नगद तथा गाडी उपहार पाए । 

१ चैतमा भएको कमेडी च्याम्पियनको फिनाले जब सकियो र विजेतामा हिमेशको नाम हास्यकलाकार हरिवंश आचार्यले लिए, यसबारे विवाद पनि सुरु भइहाल्यो । 

केही सामाजिक सन्जाल प्रयोगकर्ताले एउटा चिट आफ्ना ट्विटर एकाउन्टबाट सेयर गर्न थाले । त्यो बिलको शीर्षक थियो, हिमेश पन्तलाई जिताऔँ अभियान । ट्विटरमा मधुरमण आचार्य नामको एकाउन्टबाट पनि यस्तै एउटा टिकट सेयर गरिएको छ । (हेर्नुस्, तल तस्वीरमा)

यतिमात्र होइन, यो प्रतियोगितामा हिमेशलाई विजेता घोषणा गरिएलगत्तै केही व्यक्तिहरु फेसबुकमा लाइभ पनि आए । अधिकांश त्यस्ता लाइभमा हिमेशलाई पैसाको आडमा विजेता बनाइएको आरोप लगाइएको छ । प्रतिस्पर्धाका अरु दुई फाइनालिस्ट सुमन कोइराला र खड्गबहादुर पुन मगर विजेता हुनु पर्ने धेरैको राय देखिएको छ । 

यो कोइराला र मगरका प्रशंसक तथा समर्थकहरुको चाहना वा इच्छा केही होला । तर, यो कुरामा कुनै आशंका छैन, नेपालमा हुने यस्ता रियालिटी सोका नतिजाहरु आजसम्म निर्विवाद हुन सकेका छैनन् । 

यसरी विरोध गरिएपछि प्रश्न उठेको छ– के हिमेश पैसाकै आडमा च्याम्पियन बनेका हुन् त ? 



हामीले यही प्रश्न हिमेशलाई पनि सोध्यौँ । उनको उत्तरमा जानुभन्दा पहिले एक पटक हिमेश किन अरु प्रतिस्पर्धीभन्दा च्यम्पियन हुनु स्वाभाविक थियो भन्नेमा जाऔँ ।

खासमा हिमेशले सो जित्ने आँकलन शनिबार भएको फाइनल अगाडि नै धेरैले गर्नु पर्ने हो । जब सोबाट अन्तिम चारमा रहेका मेक्सम गौडेल आउट भए, सबैभन्दा बलियो दाबेदार नै हिमेश हुन थालिसकेका थिए । 



यसका दुई कारण छन् । एउटा त हिमेशका अरु दुई प्रतिस्पर्धी ‘वाइल्ड कार्ड इन्ट्री’बाट सोमा फेरि फर्किएका थिए । विश्वभर चल्ने र गराइने यस्ता रियालिटी सोहरुमा वाइल्ड कार्ड इन्ट्रीको प्रयोग त गरिएको हुन्छ । तर, त्यस्ता विरलै प्रतियोगिता छन्, जहाँ वाइल्ड कार्ड इन्ट्रीबाट फेरि ल्याइएका प्रतिस्पर्धीले सो जितेका छन् । यसमा आयोजकको एउटा इन्ट्रेस्ट हुनु स्वभाविक मान्न पनि सकिन्छ । अर्को कारण भनेको हिमेशले जुन ‘कन्सिस्टेन्सी’मा आफ्नो प्रदर्शन दिइरहेका थिए, त्यो कोइराला वा मगरमा देखिएको थिएन । देखिएको हुन्थ्यो भने उनीहरु सोबाट पहिले नै आउट भइसकेका हुने थिएनन् । 

अब हिमेशका सबल पक्षमा जाऔँ । 

हामीले केही अघि यो सोमा अन्तिम तीनमा परेपछि हिमेश, सुमन र खड्ग तीन जनालाई एउटा प्रश्न सोधेका थियौँ– तपाईंलाई चाहिँ च्यम्पियन को बन्ला जस्तो लाग्छ ? 

यसमा हिमेश र खड्गले स्वभाविक उत्तर दिएका थिए । सुमनले भनेका थिए– म पराजित हुन जानेको छैन । यसमा उनको घमन्ड कति थियो, वा कति आफूले कमेडी च्यम्पियन जित्छु भन्ने विश्वास थियो, उनकै कुरा भयो । तर, एउटा रियालिटी सोको च्याम्पियनका लागि छनोट भएको व्यक्तिले जसरी आफूमाथि आउने प्रश्नको सामाना गर्नु पथ्र्यो, त्यो उनमा देखिएको थिएन ।

यसलाई अहिले यहाँ नै थाँती राखौँ । 

हिमेशले चाहिँ यही प्रश्नमा पनि रमाइलो कमेन्ट गरेका थिए– जसले धेरै भोट ल्याउँछ, उही च्याम्पियन बन्छ भन्ने लागेको छ । 

उनको यो उत्तरको ‘नेचर’ले नै प्रष्ट सन्देश दिन्छ– त्यो ह्युमर सेन्स जति हिमेशमा छ, त्यति उनका अरु दुई प्रतिस्पर्धीमा थिएन । 

तर, यो कमेडी च्याम्पियनको यात्रामा हिमेशले यही एउटा कारणले मात्र उपाधि उचालेका पनि होइनन् । उनी यो प्रतिस्पर्धामा आउनुभन्दा पहिले नै चर्चित भइसकेका थिए । सामाजिक सन्जाल फेसबुक होस् या युट्युब विभिन्न स्ट्यान्ड अप कमेडी गरिरहेका कम्पनीले हिमेशलाई राम्रो प्लेटफर्म दिएका थिए, त्यसलाई उनले जोगाएर राखेका थिए । त्यहाँबाट नै उनले धेरै फलोअर्स आफ्नो पक्षमा तानिसकेका थिए । किनकि विभिन्न ठाउँमा राखिएका उनका भिडियोहरु १० लाखभन्दा बढीले पनि हेरेका छन् ।

यतिमात्र होइन, हिमेशले आफ्नो सम्बन्ध र सम्पर्क फराकिलो बनाएका थिए । सरसफाई अभियानमा जोडिएका केपी खनालसँग होस् या विद्यार्थी राजनीतिमा आफ्नो स्थान स्थापित बनाइसकेका ऐन महर नै किन नहुन्, उनीहरुले पनि केही दिनयता हिमेशलाई समर्थन गरिरहेका थिए । उनीहरुले हिमेशलाई भोट दिन पनि अपिल गरे जसले हिमेशलाई केमडी च्याम्पियनको यात्रा झन् सहज बनाउन सहयोग गर्यो । फाइनलमा उनले धेरै भोट पाउनुको कारणमा यो पनि पक्कै सहयोगी बन्यो ।

एकातिर अभियान चलाइरहेकाहरुलाई हिमेशले कार्यक्रममा प्रशंसा गरिरहेका हुन्थे भने अर्कोतिर नेताहरुलाई गाली गरिरहेका हुन्थे । यो उनको सबल पक्ष भयो । उनले जसै विभिन्न क्षेत्रका अभियन्तालाई समर्थन गर्थे, ती अभियन्ताहरुले उनको खुलेर प्रशंसा गर्न थाले, उनका लागि भोट माग्न थाले । अर्कोतिर अहिलेको राजनीतिबाट विरक्त भएको पुस्ताले पनि हिमेशको केमडीमा आफूलाई पाउन थालेको थियो ।

तर, फाइनलिस्ट अन्य दुई प्रतिस्पर्धीमा यो क्षमता देखिएको थिएन । दले दाइको क्यारेक्टरबाट बल्ल चिनिएका हुन्, सुमन कोइराला । उनले त्यसपछि त्यही एउटै स्टायललाई प्राथमिकतामा राखे । आफूमाथि व्यंग्य गरेर जमेका खड्गबहादुर पुन मगरले पनि आफूले जे कुरामा कमेडी च्याम्पियनका जजहरुको प्रशंसा पाए, त्यही कुरालाई निरन्तरता दिए । 

तर, हिमेशले चाहिँ बारम्बार आफूलाई भर्सटाइल देखाउँदै गए । कहिले नेता बनेर, कहिले वैज्ञानिक बनेर त कहिले ¥यापर बनेर उनले कार्यक्रममा प्रस्तुति दिए । यसले उनलाई वृहत सर्कलमा स्थापित गर्न सहयोग गर्यो, उनले फरक क्षेत्रका धेरैको मन जित्न थाले । त्यही भएर पनि हुनुपर्छ, हिमेशले अन्तिममा पनि राम्रो भोट पाए ।

हिमेशको अर्को सवल पक्षका रुपमा प्रमाणित भयो, उनले बनाएको रिलेसन । अहिले चर्चामा रहेको म्याकुरी भन्ने थेगो प्रयोग गर्ने कलाकार पवन खतिवडादेखि नेपाली ताराको दोस्रो श्रृङ्खला जितेका सन्तोष लामासम्मले उनलाई भोट अपिल गरेका थिए । राम्रो फ्यान फलोइङ भएका यी व्यक्तिहरुको अपिलले पनि हिमेशलाई कमेडी च्याम्पियन जित्न सहयोग गरेको हुनुपर्छ । 

तर, अन्य प्रतिस्पर्धीका समर्थक तथा केही व्यक्तिले आरोप लगाएका छन्– हिमेशले पैसाको आडमै सो जितेका हुन् । यो उनीहरुको तत्कालीन आवेग र आफूले सोचेजस्तो नतिजा नआउनुको कारण हुनसक्छ । 

अब लागौँ, यही प्रश्नमा हिमेशले दिएको जवाफ तर्फ ।

हामीले हिमेशलाई प्रश्न सोध्यौँ, ‘के पैसाकै कारण तपाईंले कमेडी च्याम्पियन जित्नुभएको हो ?’

सुरुमा हिमेश हाँसे । अनि भने, ‘जसले बुझ्नु भएको छ, उहाँहरुले यस्तो प्रश्न नै गर्नु हुन्न । हो, मैले जित्नुको कारण भोट नै हो तर त्यो सब भोट मलाई र मेरो प्रस्तुतिलाई मन पराएर दर्शकहरुले दिनु भएको हो । त्यसैले मैले जितेको हुँ ।’

अनि उनले केहीअघि फरकधारसँग कुरा गरेको प्रसंग पनि सम्झिए । ‘म एउटा सामान्य परिवारको मानिस हुँ, मैले पैसा खर्च गरेर यो टाइटल जित्नु पर्छ भन्ने सोच्न सकिनँ, त्यस्तो गर्न पनि सक्दिनथेँ ।’

हिमेशबारे हामीले केही अघि तयार पारेको यो सामाग्री पनि पढ्नुहोस्ः

क्वान्टम थियोरीबाट निस्किएर कमेडीमा

 

  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १३:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया