अष्ट्रेलियाली रिसर्चरहरुको दाबी– यी औषधिले ठिक हुन्छ कोरोना

काठमाडौं– यसअघि मलेरिया र एचआइभी एड्सका लागि बनेको औषधिले नै कोरोना भाइरसको पनि उपचार गर्न सकिने अष्ट्रेलियाली वैज्ञानिकहरुले दाबी गरेका छन् । 

अष्ट्रेलियाको विश्वविद्यालय क्विन्सल्यान्डका सरुवा रोग विशेषज्ञको एउटा टोलीले यो दाबी गरेको हो । ब्रिसबेनमा रहेको यो विश्वविद्यालयका वैज्ञानिकहरुले दुई खाले औषधिले अहिले विश्वमा सन्त्रासको वातावरण बनाएको कोभिड १९ वा कोरोना भाइरसलाई निर्मूल नै पार्न सक्ने दाबी गरेका हुन् । 

उनीहरुले भनेका औषधि हुन्– क्लोरोक्वाइन । यो औषधि मलेरियाको उपचारका लागि प्रयोग गर्ने गरिन्छ । अनि अर्को औषधि हो– लोपिनाभिर र रिटोनाभिरको मिश्रण । यी दुवै औषधि उनीहरुले कोरोना भाइरस संक्रमितमा परीक्षण गरेको र त्यसले सकारात्मक रिजल्ट दिएको पनि दाबी गरेका छन् ।

यी औषधिहरु अहिले अष्ट्रेलियामा परीक्षण सुरु गरिएको पनि उनीहरुले बताएका छन् । विश्वभरका चिकित्सकहरुले यो खतरानक भाइरसको उपचारको पनि खोजी गरिरहेका छन् । 

अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख ७० हजारभन्दा धेरै संक्रमित भएका छन् भने ६ हजार ५ सय जनाले यसका कारण ज्यान गुमाइसकेका छन् ।

चीनले यो भाइरसलाई नियन्त्रणमा लिन सके पनि युरोप र अमेरिका तथा इरानमा अहिले यो भाइरसले रौद्र रुप देखाइरहेको छ । इरानमा १४ हजार, स्पेनमा ८ हजार तथा जर्मनीमा ५ हजारभन्दा धेरै व्यक्ति अहिले यो भाइरसबाट संक्रमित भएका छन् ।



क्विन्सल्यान्डका रिसर्चर प्रोफेसर डेभिड पाटर्सनले यो महिनाको अन्त्यसम्म यी औषधिहरुको परीक्षण अझ धेरै मानिसमा गरिसक्ने विश्वास आफूले लिएको बताएका छन् । 

‘यसको प्रयोग गलत हुने छैन,’ उनले भनेका छन्, ‘यो नै सायद अब सबैभन्दा प्रभावकारी उपचार विधि पनि हुनेछ ।’



‘यो औषधिको प्रयोग गरिसक्दा बिरामीमा उल्लेख्य सुधार देखिन्छ,’ उनले दाबी गरेका छन्, ‘कोरोना भाइरस ध्वस्त नै हुनेछ । हामीले चीनबाट आएका व्यक्तिमा यो औषधिको प्रयोग गरेका थियौँ र उनमा सकारात्मक परिवर्तन देखिएका थिए ।’

अष्ट्रेलियामा अहिलेसम्म ३ सयभन्दा धेरै कोरोना भाइरस संक्रमित भएका छन् । त्यहाँ ३ जनाको मृत्यु भइसकेको छ ।

 

के हुन् यी औषधि ? 

लोपिनाभिर तथा रिटोनाभिर भन्ने औषधि एचआइभी भएका बिरामीलाई दिने गरिएको छ । अहिले यो कालेट्रा नामबाट बढी बिक्री भइरहेको छ । एचआइभी भएका बिरामीलाई यो औषधि दिनको दुई पटक लिन सल्लाह दिइन्छ । यसका कारण बिरामीको शरीरमा भएका भाइरस एक अंगबाट अर्को अंगमा पुग्न पाउँदैनन् । यो औषधि सन् २००६ देखि प्रयोगमा आएको हो । 

अर्को औषधि क्लोरोक्वाइन मलेरियाविरुद्ध प्रयोग गरिँदै आएको औषधि हो । पछिल्लो समय मलेरियाभन्दा पनि अरु रोग बढेपछि यो औषधि खासै प्रयोगमा आउन सकेको छैन । चिनियाँ टिमले पनि यो औषधि प्रयोग गरेर कोरोना भाइरसको उपचार गर्न सकिने केही दिनअघि मात्र बताएको थियो । 

  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १७:२५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया